एउटा गुमनाम बैंकरको कथाः सधैँ क्लास टप, चेसमा गोल्डमेडलिष्ट (भिडियोसहित)

काठमाडौं । आजभन्दा दुई दशक अगाडि काठमाडौंको बौद्धका गल्लीहरुमा टोलका दाईहरुले चेस खेलेको पुरुषाेत्तम चौलागाईं अझैँ सम्झिन्छन् । चेसको बोर्डमा घोडा, हात्ती, बाघ लगायतका संज्ञा दिइएका गोटीहरु चालेका स्मरणहरु पुरुषाेत्तमको दिमागमा ताजै छन् । घरमा आफ्ना दाई अनि ठूलोबुबाहरुले खेलेको टुलुटुलु हेरेको र आफुले पनि कहिलेकाँही उनीहरुसँगै सिक्ने मौका पाएको दिनहरु उनलाई हिजोजस्तै लाग्छ । ओहो ! समय त कति घर्किसकेछ ? समयको गति पनि कति रफ्तारको ? गालामा दाह्री मात्रै होइन, काँधमा धेरै जिम्मेवारीहरु पनि थपिइसकेछन् । घर परिवार, साथीसङ्गी, बैंकको जागिर अनि प्यासनले जुराएको टाइटल ‘नेपाल च्याम्पियन’ । हो, काठमाडौं बौद्धका पुरुषाेत्तम चौलागाईं चेस खेलका ‘नेपाल च्याम्पियन’ हुन् । चेस पुरुषाेत्तमका लागि खेल मात्रै होइन, प्यासन पनि हो । त्यही प्यासन, लगाव, झुकाव र निरन्तरताले चेस खेलमा पुरुषाेत्तमलाई नेपाल च्याम्पियन बनाइदियो । विगत १० वर्षदेखि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा कार्यरत छन् । हाल उनी सो बैंकमा असिस्टेन्ट म्यानेजरको भूमिका निर्वाह गरिरहेका छन् । उनी भन्छन्, ‘बैंकको जागिर मेरो करियर हो भने चेस खेल चाहिँ प्यासन हो । जागिर बिना मेरो करियर भत्किन्छ अनि चेस बिना प्यासन । त्यसैले चेस र बैंकको जागिर मेरो लागि एकै सिक्काका दुई पाटा हुन् ।’ धार्मिक ग्रन्थ गितामा लेखिएको छ नि ‘कर्म गर फलको आश नगर,’ हो, बैंकर तथा चेस खेलका नेपाल च्याम्पियन पुरुषाेत्तम चौलागाईं पनि त्यही भनाईलाई आत्मसाथ गर्छन् । ‘म काम डटेर गर्छु, आफुले चाहेको कामको नतिजा ल्याउन सकेसम्मको प्रयास गर्छु, तर म त्यसले प्राप्त हुने फलको भने आश कहिल्यै गर्दैन, बस्, आफ्नो काम र प्यासनलाई सर्वोपरी ठान्छु, हदैसम्मको प्रयास गरेपछि फल नपाइने त कुरै हुँदैन नि,’ उनी आफ्ना भोगाई स्मरण गर्दै सुनाउँछन् । एसएलसीपछि चेस पुरुषाेत्तम चौलागाईंको जन्मघर प्रदेश दुईस्थित रौतहट जिल्लाको रौतहट नगरपालिका हो । वि.सं. २०४० सालमा जन्मेका पुरुषाेत्तमको बाल्यकाल भने काठमाडौंमै बित्यो र अहिले पनि उनी काठमाडौंको बौद्धमा परिवारसँगै बस्छन् । उनको घरमा आमाबुवा, दाजु–भाउजु, श्रीमति अनि सानो बच्चा छन् । २०४० सालमै रौतहटबाट काठमाडौं आएका उनले बौद्धकै प्रेरणा बोर्डिङ हाईस्कुलमा पढे । कक्षा १० सम्म उनी सोही स्कुलमा पढे । त्यो बेलासम्म न उनले चेस राम्रोसँग खेलेका थिए न त चेसको वारेमा खासै बुझेका नै । वि.सं. २०५७ सालमा एसएलसी दिएपछि भने उनले चेसलाई नजिकबाट नियाल्ने मात्रै होइन भरपुर खेल्ने मौका पनि पाए । एसएलसीसम्म घरमा दाई र ठूलोबुवाले खेलेको हेर्नु र बाटोमा टोलका दाईहरुले खेलेको हेर्नुमै उनी सीमित थिए । बुवाले खेतिपाती र सानोतिनो व्यापार व्यवसाय गर्ने । आमा घरको काम गर्ने । अनि दाई साथीभाईहरुसँग मिलेर व्यापार । सबै आ–आफ्नो काममा व्यस्त । तर, पनि आफुलाई चेस खेलमा लाग्नको लागि घरपरिवारबाट गज्जवको साथ मिलेको उनी बताउँछन् । कक्षा १० सकेपछि चेस खेललाई बढी समय दिएर खेल्न थालेको उनी बताउँछन । ‘म एसएलसीपछि मात्रै चेस खेलमा लागेँ, त्यो भन्दा अगाडि दाईहरुले खेलेको मात्रै हेर्थेँ, हेरेर पनि धेरै कूरा सिकेँ, १० कक्षापछि भने राम्रैसँग खेल्न थालेँ, एसएलसीमा चेसको टुर्नामेन्ट हुन्छ भन्ने थाहा पाएपछि चावहिलमा भएको एउटा प्रतियोगितामा आफु पनि सहभागी भएको उनी सुनाउँछन् । कक्षा १० पछि मात्रै चेसको वास्तविक विषेशता थाहा पाएको उनी बताउँछन् । ‘चेसको बारेमा अध्ययन पनि गर्नु पर्दो रहेछ भन्ने १० कक्षापछि थाहा पाएँ, चेसको किताब पनि पढ्नु पर्दो रहेछ, सानैदेखि चेस खेल्ने प्यासन भएपनि १० कक्षापछि भने राम्रैसँग खेल्ने मौका मिल्यो,’ उनी भन्छन् । क्लासमा सधैँ टप बैंकर चौलागाईंले कक्षा १० सम्म बौद्धकै प्रेरणा बोर्डिङ हाईस्कुलमा पढ्दा उनी कहिल्यै औसत विद्यार्थीमा गनिएनन् । कक्षामा उनी कहिले प्रथम त कुनै वर्ष दित्तीय हुन्थे । ‘प्रायः जसो म कक्षामा प्रथम नै हुन्थेँ, प्रथम नभएको वर्ष दोस्रो हुन्थेँ, सरहरुले पनि असाध्यै माया गर्नुहुन्थ्यो, चेस खेल खेलेपछि दिमाख पनि बढ्ने रहेछ भन्ने मैले त्यतिबेला देखि नै थाहा पाइसकेको थिएँ, पछि झन समय दिएर नै खेल्न थालेँ,’ उनी भन्छन् । कक्षा १० उत्तिर्ण भएपछि उनी प्लसटु पढ्न मदन भण्डारी कलेज गए । मदन भण्डारी कलेजमा उनले कमर्स पढे । प्लसटुमा पनि राम्रै अंकका साथ प्रथम श्रेणीमा पास भएकोे उनी बताउँछन । मदन भण्डारी कलेजबाट उनी स्नातक र स्नातकोत्तर पढ्न शंकरदेव कलजे गए । त्यो समयसम्म आफु चेसमा निकै अभ्यस्त भइसकेको उनी सुनाउँछन् । ‘१० कक्षापछि चेसलाई बढी समय दिन थालेँ, पढाईमा भने अलि कम समय हुन थाल्यो, तर परीक्षाको तयारी भने निकै गर्थ्र्यौं, स्नातक र स्नातकोत्तर पनि राम्रै अंक ल्याएर पास भइयो त्यसपछि विवाह गरियो,’ उनी आफ्नो विगत सुनाउँछन् । पार्ट टाईमबाट बैंकमा इण्ट्री बैंकर चौलागाईंलाई बैंकिङ क्षेत्रमा काम गर्न थालेको १० वर्ष भन्दा बढी समय भएको छ । सन् २०१० डिसेम्बरबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट पार्ट टाइमबाट जागिर सुरु गरेका उनी हालसम्म सोही बैंकमा काम गरिरहेका छन् । हाल उनी सो बैंकको असिस्टेन्ट म्यानेजर पदमा कार्यरत छन् । ‘सन् २०१० सम्म आइपुग्दा म धेरै परिपक्क भइसकेको थिएँ, चेस खेलसँग राम्रै प्रेम बसिसकेको थियो, म चाहँथेँ यो खेलसँगै ‘फुल टाइम’ बिताऔं, तर चेस खेलेरै करियर बनाउन भने असम्भव थियो, घरबाट पनि केही काम गर्नुपर्छ भन्ने कुरा आयो, म पनि चाहँन्थे पार्ट टाईम जागिर होस्, र चेसलाई पनि समय दिन पाउँ, हुन पनि त्यस्तै भयो, स्ट्याण्डर्ड बैंकमा पार्ट टाईममा काम गर्ने मौका पाएँ,’ उनी बताउँछन् । आफ्नो दाईको प्रेरणाबाट बैंकमा काम गर्ने अवसर मिलेको उनी बताउँछन् । ‘पढाईमा पनि राम्रै थिएँ, बैंकले कर्मचारीका लागि आवेदन मागेको रहेछ, मैले पनि परीक्षा दिएँ, लिखित राम्रो भयो, त्यसपछि मौखिक पनि राम्रै भयोे, तर मसँग बैंकमा काम गरेको अनुभव थिएन, बैंकले पनि पार्ट टाईममा राख्ने भन्यो, मलाई फुल टाइम जागिर पाएको भन्दा बढी खुसी त्यतिखेर मिल्यो,’ उनले थपे, ‘मैले चाहेको जस्तै भयो, त्यसपछि बैंकमा पार्ट टाइमबाट काम सुरु गरेँ र सँगै चेसलाई पनि समय दिएँ ।’ चेसले बैंकमा काम गर्न धेरै सहयोग पुग्ने चौलागाईंको अनुभव छ । चेसले ब्रेनको विकास गर्ने, क्याल्कुलेटिभ पावर बढाउने भएको हुँदा पनि आफुलाई बैंकमा काम गर्न धेरै सहयोग मिलेको उनी बताउँछन् । केही समय पार्ट टाइम काम गरेपछि उनलाई बैंकले फुल टाइमका लागि अफर गर्यो । त्यसपछि आफुले पनि अब करियरका लागि फुल टाइम काम गर्नु पर्छ भन्ने मानसिकता बनाएको उनी सुनाउँछन् । ‘चेस मेरो प्यासन हो, जसलाई मैले चाहेर पनि निकाल्न सक्दैन, यो मेरो दिमाखबाट हट्न सक्दैन, मसँग समय छैन भने केही समयका लागि म चेस नखेल्न पनि सक्छु, तर, बैंकिङ क्षेत्र मेरो करियरसँग सम्बन्धित, जसले मलाई मेरो परिवार चलाउनका लागि सहयोग गर्छ, मलाई लाग्छ बैंकको जागिर र चेस खेल मेरो लागि अपरिहार्य छन्,’ ‘उनी भन्छन्, ‘चेसले नै जिविकोपार्जन गर्न सक्ने अवस्था नेपालमा अहिलेसम्म बनिसकेको छैन, बैंकमा काम गर्दा गर्दै बढी तनाब भयो भने म रिफ्रेस हुन चेस खेल्छु, चेसले मलाई रिलिफ गर्छ ।’ बैंकर्सलाई चेस अपरिहार्य उनी बैंकर्सलाई चेस अपरिहार्य भएको बताउँछन् । चेसले ब्रेन विकासमा महत्वपूर्ण भूमीका खेल्ने भएकोले बैंकर्सले चेस खेल्नै पर्ने सुझाव उनी दिन्छन् । ‘चेस खेल बैंकमात्र होइन हरेक क्षेत्रमा आवश्यक छ, दिमाख जहाँ पनि प्रयोग हुन्छ, दिमाख प्रयोग हुुने सबै क्षेत्रमा चेस खेलको आवश्यकता छ, चेस खेल बैंकमा झन अपरिहार्य छ, बैंकमा आउने हरेक समस्याहरु समाधान गर्नको लागि पनि चेस खेलले महत्वपूर्ण भूमीका खेल्न सक्छ, धैर्यता बढाउनको लागि पनि यो खेल अपरिहार्य छ,’ उनले भने । आफु बैंकर पनि भएकोले धेरै फाइदा हुने गरेको उनको भनाई छ । उनका अनुसार अहिले उनलाई बैंकबाट पनि चेस खेलमा राम्रो साथ मिलेको छ । ‘समय मिलाउन सक्नु ठूलो विषय हो, बैंकले पनि निश्चित जिम्मेवारी दिएको हुन्छ, त्यो जिम्मेवारीलाई आफुले राम्रो सँग निर्वाह गर्ने हो, मैले बैंकले दिएको बिदा राम्रोसँग सदुपयोग गर्छु, कहिले काहिँ एउटा टुर्नामेन्ट हुँदा ४/५ दिन पनि समय लाग्छ, त्यतिखेर म बैंकसँग समन्वय गरेर मेरो बिदा कटाएर व्यवस्थापन गर्छु,’उनले भने,‘ मैले बैंकलाई मेरो यस्तो काम छ भनेर आग्रह गरेपछि बैंकले पनि स्वीकार गर्छ ।’ टुर्नामेन्ट चल्दै गर्दा आफ्नो खेल खेलेर फर्केर त्यही दिन बैंकमा काम गरेको अनुभव पनि चौलागाईंसँग छ । भुल्नै नसकिने त्यो क्षण चेसमा गोल्ड मेडलिष्ट बनेर नेपाल च्याम्पियन बन्नु उनको सपना थियो । सोही सपना साकार भएको दिन नै पुरुषाेत्तम आफ्नो भुल्नै नसकिने क्षणमा रुपमा लिन्छन् । ‘कुनै पनि टुर्नामेन्टमा प्रथम हुनु र गोल्ड मेडलिष्ट बन्नु मेरो लागि ठूलो उपलब्धि हो,मेरो निरन्तर रुपमा टुर्नामेन्छ जितेको छु, जुन मेरो जीवनमा महत्वपूर्ण क्षण हो, १४ देशहरुबीच एसिएन लेभलमा भएको चेस खेलमा म ब्राउन मेडलिष्ट पनि हुँ,उनी भन्छन्,‘तर नेपालमा चेस खेलाडीको खासै चर्चा हुँदैन, सरकारले पनि खासै प्राथमिकतामा राखेको छैन, त्यसबेला मात्रै दुःख लाग्छ ।’ दोस्रो नमुना बौद्ध मास्टर चेस प्रतियोगिताको विजेतापछि आमासँग तस्वीर खिचाउँदै चालागाईं उनी २०७६ मा भएको आठौं राष्ट्रिय चेस प्रतियोगिताका नेपाल च्याम्यिन हुन् । ओलम्पिआरमा सहभागी हुने अवसर पनि आफ्ना लागि ठूलो उपलब्धिका रुपमा उनी लिन्छन् । जुन कोरोनाको कारण २०२२ मा सरेको छ । सो खेलले आफुलाई अन्तर्राष्ट्रिय रुपमा अझ माथि बढ्ने महत्वपूर्ण खुुड्किला बन्ने आत्मविश्वास उनमा छ । ‘म टुर्नामेन्टमा पहिले दोस्रो मात्रै हुन्थेँ, केही वर्ष मात्रै भएको छ प्रथम हुन थालेको छु, अझै नेपाललाई चेस खेलमा अन्तर्राष्ट्रिय रुपमा चिनाउने लक्ष्य छ,’ उनले भने । हालसम्म दर्जनौं खेलहरुमा उनी विजेता बनिसकेका छन् । चार देशमा भ्रमण च्याम्पियन चौलागाईले चेस खेल खेल्नकै लागि विभिन्न चार देशमा भ्रमण गरिसकेका छन् । उनले भारतको मुम्बई, राजस्थान, जयपुर, चेन्नई, दिल्ली लगायतकाका शहरहरुमा गइसकेका छन् । सन् २०१३ मा रसियामा भएको एउटा प्रतियोगितामा भाग लिँदै चौलागाईं यस्तै उनले चीन, रसिया र दुवई गएर पनि चेस खेलिसकेका छन् । विदेशमा एक पटक गएपछि १५/२० दिन पनि बस्नु पर्ने अवस्था आउने उनले बताए । ‘घर परिवार मेरो काममा सकारात्मक हुनुहुनँ, उहाँहरुले साथ नदिएको भए त म यहाँसम्म हुँदैन थेँ, मेरो स्मोकिङ ड्रिङकिङमा ह्याविट नभएको कारणले पनि म जहाँ गए प नि घरको मान्छेले त्यति धेरै चिन्ता गर्नु हुन्नँ । उहाँहरुलाई मप्रति विश्वा भएको कारणले पनि जता गए पनि पूर्ण साथ दिनुु भयो, म १०/२० दिन बाहिर गए पनि उहाँहरुले कुनै अवरोध गर्नु भएन,’ उनी भन्छन्, ‘यसले मलाई झन यसमा रम्न हौसला मिलेको छ ।’ चेस खेलाडीलाई सुझाव बैंकर तथा च्याम्पियन चौलागाईं सुरुमा यो खेलको महत्व बुझ्न सुझाव दिन्छन् । ‘कुनै पनि खेलको आ–आफ्नै विशेषता र महत्व हुन्छन्, धेरै खेलहरुका विभिन्न फाइदा र वेफाइदा हुन्छन्, तर चेसका वेफाइदा छैनन् फाइदा मात्रै छन्, चेस खेल्ने मान्छे र नखेल्नेमान्छेमा धेरै फरक पाउन सक्छौं, एउटा चेस खेल्ने र नखेल्ने विद्यार्थीको तुलना गर्दा नखेल्नको भन्दा खेल्ने विद्यार्थीको राम्रो ग्रडे आएको अध्ययनले पनि देखाइसकेको छ, उनी भन्छन्,’ ‘चेस खे्ल्दा दुइटै बे्रन एक्टिभ हुने हुन्छ र यसले व्यक्तिको बे्रेन विकामा धेरै महत्वपूर्ण भूमिका खेल्छ, चेस खेल्ने सबैलाई यसलाई रिन्तरता दिन आग्रह गर्छु ।’ चेस खेल्ने मानिसमा बिर्सने रोग लाग्ने सम्भावना पनि एकदमै कम हुने उनको भनाई छ । ‘अहिले चेस खेलेर पनि जिविकापार्जन गर्न सकिने अवस्था छ,अनलाइनमा खेलेर पनि पैसा कमाउन सकिन्छ,यसले मान्छलाई धैयर्ता सिकाउँछ, राम्रो व्यक्ति बन्न यसले महत्वपूर्ण काम गर्छ,’ उनी बताउँछन् । राज्यले यसलाई महत्व नदिँदासम्म र यसमा लगानी नबढाउँदा सम्म माथि उठ्न नसक्ने बताउँदै यो खेलमा राज्यले लगानी बढाउनु पर्ने उनको धारणा छ । अहिले चेस खेल सिक्ने धेरै माध्यम भएको बताउँदै सानैदेखि चेस खेल्न सुरु गर्न पनि सुझाव दिन्छन् । भावी योजना उनी आगामी दिनमा नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने प्रयास गर्ने बताउँछन् । ‘मैले धेरैपछि चेस खेल्न सुरु गरेँ, जुन धेरै ढिलो भइसकेको थियो, चेसको विकास गर्नुछ भने स्कुल तहबाट सुरु गर्नुपर्छ, विदेशमा एलकेजी यूकजेटीबाटै चेस खेल्न सुरु गर्छन्, अब हामीले पनि स्कुल तहबाटै चेसलाई प्राथमिकता दिनु पर्छ,’ उनी भन्छन्,’ ‘एसएसएलसीसम्म पुग्दा व्यक्ति चेसमा टप भइसेको हुनु पर्छ ।’ अब विभिन्न स्कुलहरुमा चेस सुरु गर्नु पर्छ भनेर आफ्नो टिम लागि रहेको उनले बताए । यसका लागि अहिले अनलाइनबाट पनि काम भइरहेको उनको भनाई छ । यस्तै, आफु सहित साथीहरुले मिलेर अहिले एउटा चेस क्लब स्थापना गरेको उनले सुनाए । ‘अब चेसलाई बढी प्राथमिकता दिएर अगाडि बढ्ने योजना छ, क्लब पनि स्थापना गरिसकेका छौं, क्लब मार्फत चेसलाई अगाडि बढाउनको लागि पनि धेरै सहयोग पुग्छ,’ उनले भने । भिडियाे:

खाद्य बैंकले किसानलाई धनी बनाएर गाडीमा चढ्ने बनाउँछः अध्यक्ष उप्रेती

विगत डेढ दशकदेखि कृषिमै रमाएका शंकरनाथ उप्रेतीसँग कृषि कसरी गर्ने र कसरी आधुनिक खेति प्रणाली स्थापित गर्न सकिन्छ भन्ने विषयमा लामो अनुभव छ । दोलखामा जन्मेका उप्रेती हाल भक्तपुरको गठ्ठाघरमा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमए र एमएड गरेका उप्रेतीसँग सामाजिक, वित्तीय तथा स्वास्थ्य संघ संस्थामा काम गरेकाे अनुभव पनि छ । अहिले उनकै परिकल्पनामा राष्ट्रिय खाद्य बैंक स्थापना भएको छ । खाद्य बैंकको अध्यक्ष समेत रहेका उप्रेतीसँग विकासन्युजका सन्तोष रोकायाले खाद्य बैंकको अवधारणा, यसले गर्ने काम र उद्धेश्य  लगायतका विषयमा कुराकानी गरेका छन्  : देशमा कृषिमा काम तथा लगानी गर्ने धेरै संघ संस्था पनि छन्, तपाईंले पनि कृषिमै काम गर्ने भनेर राष्ट्रिय खाद्य बैंकको स्थापना गर्नु भएको छ, यसको आवश्यकता किन ? नेपाल धेरै परनिर्भर भयो । अहिले धेरै उत्पादनहरु हुनै छाड्यो । जसले गर्दा आयातित वस्तुहरुले नेपाली बजार ओगेट्यो । नेपाल सरकारको तथ्यांकले अष्ट्रेलियाबाट दाल आएको, अमेरिकाबाट भटमास आएको लगायत तेस्रो मुलुकहरुबाट यति धेरै खाद्य सामग्रीहरु आएको देखाउँछ । जो हाम्रो देशमा प्रशस्त उत्पादन हुन्छ र अझै पनि धेरै उत्पादन गर्न सकिन्छ । हाम्रा देशमा उत्पादन भएका वस्तुहरु कुहिएर जान्छन् । तर, बाहिरबाट आयात गरिएका वस्तुहरु झनझन बजार लिँदै जान्छन् । हामीले आयातित वस्तुलाई मात्रै प्रयोग गर्न थाल्यौं । अहिले अधिकांश गाउँमा उत्पादन हुने जग्गा बाँझो छन् । अब देशलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि खेती प्रणालीबाट काम गर्नुपर्छ । अर्गानिक खानेकुराहरु उत्पादन गरेर आत्मनिर्भर हुनेतर्फ अगाडि बढ्नु पर्छ । रोजगारी सिर्जना गर्नुपर्छ भन्ने हाम्रो योजना हो । देशमा अखाद्य वस्तुको धेरै प्रचारप्रसार हुन थाल्यो । तर खाद्य वस्तुहरु जुन हाम्रो शरिरलाई पोषण चाहिन्छ ती खानेकूराहरु छायाँमा पर्न थाले । बच्चाहरुलाई जन्मिने बित्तिकै अखाद्य वस्तुहरु खुवाउन थालियो । जसले उनीहरु कमजोर पनि हुन थाले । त्यसले गर्दा उनीहरु बिरामी हुने समस्या बढी देखियो । लाखौं रुपैयाँ खर्च गरेर अस्पताल जाने तर सानैदेखि शरीरलाई चाहिने पोषणयुक्त खानेकूराहरु नखुवाउने खालको अवस्था सिर्जना भएपछि हामीले अब यो देशको लागि यस्तो अभियानको जरुरी छ भन्ने महसुस गर्यौं । हामीले हाम्रो माटो भुलेकै कारण हामी हाम्रो रहनसहन संस्कृति पनि भुलेका छौं । परम्परागत रुपमा उत्पादन हुँदै आएका खेती प्रणालीहरुलाई आधुनिकिकरण गर्नको सट्टा हामी त्यसलाई बिर्सँदै गयौं । अब राष्ट्रिय खाद्य बैंकले खानेकुराहरुको हकमा अहिले सि फुड उत्पादन गर्दै पछि प्राकृतिक खानेकुराहरु बनाउने गरी र देशलाई आत्मनिर्भर हुने गरी, पोषणको बारेमा सचेतना जगाउँदै, कृषि र पर्यटनलाई यसमा जोडेर अगाडि बढ्ने हाम्रो योजना छ । त्यही योजनाका साथ हामीले खाद्य बैंक स्थापना गरेका हौं । सम्वृद्ध नेपाल बनाउनको लागि निजी क्षेत्रबाट पनि केही काम गर्नुपर्छ । हाम्रो पनि उत्तिकै दायित्व र जिम्मेवारी छ भन्ने मान्यताका आधारमा कृषिमा केही गरौं भन्ने योजनाका साथ राष्ट्रिय खाद्य बैंकको स्थापना गरेका हौं । हामीसँग भएका ज्ञान सीप र अनुभवलाई कृषिमा प्रयोग गर्नको लागि ठूलो कृषि सम्बन्धि विज्ञ ठूलो टिम हामीसँग छ । सबैको सर–सल्लाह र योजनाले हामीले खाद्य बैंकको स्थापना गरेका हौं । हामी धान, गहुँ फाँपर, जौं, कोदो, मकै, तरकारी, माछा मासु, दही दुध, जडिबुटी फलफूल लगायतका खानेकूराहरु उत्पादन गछौं । ती उत्पादन गरिएका वस्तुलाई सुरक्षित भण्डारण, प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने काम पनि हामी आफैले गर्छौं । अहिलेसम्म भएको खेति तथा कृषि प्रणालीभन्दा यो नयाँ आयाम हो । यो भनेको कृषि क्रान्तीको सुरुवात हो । नेपालमा बैंकिङ प्रणालीमार्फत काम गर्ने यो पहिलो खाद्य बैंक हो । यसको पुँजी २ अर्ब रुपैयाँको छ । ७ प्रदेशमा प्रदेश अफिस र सबै स्थानीय तहमा शाखा कार्यालयहरु राख्ने हाम्रो योजना छ । प्रारम्भिक चरणमा प्रवेश गरौं, नेपालमा खाद्य बैंकको आवश्यकता छ । यसमार्फत कृषिलाई आधुनिकिकरण गर्न सकिन्छ भनेर कसरी आत्मबोध गर्नु भयो ? यसको परिकल्पना कसरी बनाउनु भयो ? हामी झण्डै दुई वर्षदेखि यो काममा नै लाग्यौं । मैले नै यसको खाका र परिकल्पना गरेको हुँ । त्यसमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनायौं । सबैभन्दा पहिले विज्ञ विशेषज्ञहरु कहाँ गयौं । हामी यसरी काम गर्दैछौं । यसरी अगाडि बढ्नु पर्यो ? यसमा तपाइँको सहभागी हुनु पर्यो भन्ने लगायतका विभिन्न सर–सल्लाह लिने काम भए । केहीले धेरै ठूलो महत्वाकांक्षी योजना भयो भने केहीले यसरी काम गर्न सकिन्छ र भन्नुभयो । केहीले एकदमै राम्रो योजना छ पनि भन्नुभयो । यो हाम्रो देशको अहिलेको आवश्यकता हो । यसमा लागिहालाैं भन्ने साथीहरु पनि भेटिए । अरु बैंकहरु पैसा लिनुहुन्छ र पैसाको कारोबार गर्नुहुन्छ । तर, हामीले वस्तु उत्पादन देशलाई आत्मनिर्भर बनाएर बढी भएको विदेशमा निर्यात गरेर पैसा कमाउने हो । यही अवधारणाका साथ हामी अगाडि बढेका छौं । अहिलेको हामीले खाइरहेको कुन देशमा बनेको हो ? कहिले बनेको हो ? त्यो केही थाहा छैन । तर, खान बाध्य छौं । हामी अब यतिबेला यो ठाउँमा बनेको हो भनेर राष्ट्रिय खाद्य बैंकले प्रमाणित गरेर उपभोक्ताको चुल्होमा पुर्याउँछौं । धेरैले यसको बारेमा बुझ्दै हुनुहुन्छ । आजका दिनसम्म ४ सय ९१ जना सेयर सदस्य जोडिइसक्नु भएको छ । यो प्रक्रिया निरन्तर चलिरहेको छ । अनलाइनबाट पनि धेरेले फर्म भरिरहेका छन् । कृषिमा काम गर्नको लागि धेरै ठूलो बजेटको आवश्यकता पनि पर्दैन । हामीले पाइलट प्रोजेक्ट भनेर सातै प्रदेशमा कार्यालय राखेर काम गर्छाैं । यसमा किसानलाई सहभागी गराउँछौं । उनीहरुलाई विउविजन उपलब्ध गराउँछौं । उनीहरुलाई विभिन्न समान किनिदिने ग्यारेन्टी पनि गर्छौं । यसरी नै काम गर्दै जान्छौं । यो विस्तारै काम गर्दै जाने प्रक्रिया हो । हामी काम गर्नको लागि आएका हौं । बैंक भनेपछि सर्वसाधारणले सामान्य रुपमा पैसाको कारोबार गर्ने भनेर बुझ्छन्, तर, खाद्य बैंकको उद्धेश्य र मोडेल फरक छ, सर्वसाधारणलाई खाद्य बैंक यस्तो हो भनेर कसरी बुझाउनु हुन्छ ? हाम्रा लक्ष्य र योजनाहरु फरक छन् । हामी अन्य बैंकहरुभन्दा धेरै फरक छौं । हामी उत्पादनलाई जोड दिन्छौं । यसलाई हामी एउटा अभियानका रुपमा अगाडि बढाउँछौं । यो कूनै ठाउँका लागि मात्र होइन देशव्यापी रुपमा सञ्चालन गर्छौं । अहिलेको कृषि प्रणाली, खेति प्रणाली नै हामीले परिवर्तन गर्दै जाने हो । हामी सिस्टम परिवर्तन गर्न चाहन्छौं । तर त्यो आफैमा गाह्रो कूरा हो । यो लामो समयसम्म जरा गाडेर बसेको छ । त्यसभित्र विभिन्न निकायले फाइदा लिइरहेका छन् । किसानका नामबाट किसानलाई दिने प्रोजेक्टका नामबाट धेरैले फाइदा लिइरहेका छन् । राजनीतिक दलले आफ्ना कार्यकर्ता पाल्नको लागि अनुदानको पैसा झोलामा हालेर पठाउने प्रवृति छ । त्यो गलत परम्पराको हामी अन्त्य गर्न चाहन्छौं । त्यस्तो खालको गलत प्रवृतिले काम पनि हुँदेन । सरकारको ढुकुटी मात्रै रित्तो हुन्छ । अब हामी स्थानीय निकायको रोहबरमा काम गर्छौं । हाम्रो क्लियर भिजन छ । जुन ठाउँमा जे जस्तो विउविजन उपर्युक्त हुन्छ तयही खालको विउविजन त्यहाँ रोपेर हामी काम गर्छौं । त्यो विउविजन फलेपछि हामी त्यसलाई किन्ने गरी ग्यारेन्टी गर्छौं । त्यस ठाउँमा विषादीमुक्त गर्ने अभियान पनि हामी चलाउँछौं । हामी त्यहाँ प्राङगारिक मललाई प्राथमिकता दिन्छौं । यो सबै कृषिमा आधारित काम हो । कृषिजन्य वस्तु उत्पादन, प्रशोधन, प्याकेजिङ र बजारीकरण खाद्य बैंकले नै गर्छ । उत्पादन भएको वस्तु पहिला म खान्छु, मेरो परिवारले खान्छ, बैंकका शेयरधनीले खान्छन्, त्यसपछि मात्रै बजारमा पठाउँछौं । यो सम्बन्धि जानकारी गराउने डाक्टरहरुको पनि टीम छ । हाम्रा प्रोजेक्ट लागु भएका ठाउँका किसानहरुलाई सचेतना तथा तालिम दिने काम पनि हामी गछौं । अहिले नेपालको कृषि क्षेत्रमा विभिन्न सहकारीहरुसँग–सँगै कृषि विकास बैंकले नै कृषि क्षेत्रको नेतृत्व गरिरहेको छ, तपाईंको योजना अब ती सबैलाई रिप्लेस गरेर आफुले नै नेतृत्व गर्ने रणनीति हो ? राष्ट्रिय खाद्य बैंक कसैको प्रतिस्पर्धी नै होइन । अहिले ज-जसले कृषिमा लगानी गरिरहेका छन् उनीहरुले कृषकहरुलाई सहुलियत ऋणका कार्यक्रम दिइरहेका । हामी उनीहरुका प्रतिष्पर्धी नै होइनौं । हामी नयाँ हाैं । हामी फरक ढंगले काम गर्ने हो । उहाँहरुलाई हामीले रिप्लेस पनि गर्नु पर्दैन र साथ दिनु पनि पर्दैन । नेपाल यस्तो देश हो किसान आफुले उत्पादन गरेको वस्तुको मूल्य तोक्न सक्दैन । त्यहाँ कोही बिचको मानिस गएर तोकि दिनु पर्छ त्यसको वस्तुको मूल्य तोक्न हामीले किसानलाई सक्षम बनाउनु पर्छ । हामीले किसानी पेशालाई मर्यादित बनाउनु पर्छ भन्ने हो । पढेलेखेका मानिसहरुलाई पनि किसानी काममा लगाउने हाम्रो रणनीति हो । त्यस्तो वातावरण हामी सिर्जना गर्छौं । किसाले गाडी चढ्ने गरी पैसा कमाउनु पर्छ भन्ने हाम्रो योजना हो । किसान हुँ भन्दा कसेले अफ्ठ्योरो मान्नु पर्ने अवस्थालाई हामी अन्त्य गर्छौं । सबैले जित्ने योजनाका साथ हामी काम गर्न लागेका छौं । यहाँ किसानले आफ्नो वस्तुको उचित मूल्य पाउनेदेखि उपभोक्ताले पनि सहुलियत मूल्यमा खान पाउने किसिमले हामी काम गर्छौं । यसमा लगानी गर्ने लगानीकर्ताको लगानी सुरक्षित गर्ने र लाभांश पाउने कूरा लगायत कूराहरु अध्ययन गरेर हामी अगाडि बढेका छौं । यो प्रोजेक्टमा सबैले जित्ने किसिमले बनाइएको छ । बाहिर जाने पैसा पनि हाम्रो रोक्छौं । हामीले अब रोजगारी सिर्जना गर्छौं जसले युवाहरुलाई विदेशिने बाध्यतालाई हामी अन्त्य गर्छौं । नेपाल सरकारले गर्ने काम नै राष्ट्रिय खाद्य बैंकले गरेको छ । मलाई लाग्छ भोलिका दिनमा यो परियोजनामा सबै साथीहरु सहभागी हुनु हुनेछ । तपाईँले खाद्य बैंकमा लगानी गर्न चाहनेहरुले फाराम भरिरहेको पनि भन्नुभयो । एउटा समान्य किसान वा कुनै व्यक्तिले खाद्य बैंकमा लगानी गर्न चाहन्छु भन्यो भने उसले गर्नु पर्ने काम र प्रक्रिया के हो ? बैंकको सेयर किन्ने आफ्नै नियम छ । एउटा पब्लिक कम्पनी लिमिटेडको नियम अनुसार सेयर खरिद बिक्री गर्नु पर्यो । त्यसको फाराम भर्नु पर्यो । नागरिकता दिनु पर्यो । हामीले न्यूनतम १ हजार कित्तासम्म सेयर लिनु पर्ने मापदण्ड बनाएका छौं । त्यो भनेको एक लाख रुपैयाँ हो । तपाइँले सामान्य किसानले एक लाख रुपैयाँको सेयर किन्न सक्छ त भन्ने प्रश्न गर्नु हुन्छ होला । तर, त्यो रकम तिर्न नसक्नेहरुका लागि पनि हामीले छुट्टै किसिमको व्यवस्था गरेका छौं । पैसा नहुने तर सहभगी हुन चाहनेहरु खेती प्रणालीमा पनि जोडिन सक्नुहुन्छ । खेती प्रणालीमा जोडिनको लागि अहिले १० हजार छ अर्को वर्ष फेरि १० हजारको सेयर पनि हाल्न सक्नुहुन्छ । जब १ लाख रुपैयाँ पुग्छ त्यसपछि हामी उहाँलाई सेयर प्रवर्धकको रुपमा इस्यु गर्छौं । हामी योजना भनेको सबै खालका मानिसलाई यसमा सहभागी गराउने हो । उहाँहरुले सेयर लिए वाफत उहाँहरुको जे वस्तु फल्छ त्यही विउ हामीले उहाँहरुलाई दिन्छौं । त्यसपछि प्राङ्गारिक मल बनाउन सिकाउँछौं र तालिम दिन्छौं । बेला बखत अनुगमन गरेर सिकाउने काम पनि गर्छौं । अन्तिममा उत्पादन भइसकेपछि त्यो वस्तु खरिद गर्ने ग्यारेन्टी पनि हामी लिन्छौं । पैसा नहुने किसानले श्रम गरेर पनि हामीसँग जोडिन सक्नुहुन्छ । खाद्य बैंकको कुल पुँजी २ अर्ब रुपैयाँ भन्नु भएको छ । सातै प्रदेश र सबै स्थानीय तहमा शाखा विस्तार गर्ने तपाइँहरुको योजना छ, रकम अभाव हुँदैन ? यो सुरुवाती अवस्थामा मात्र हो । आवश्यक पर्यो भने यसलाई बढाउँछौं पनि । हामीले डीपीआरमा त्यो कूरा उल्लेख पनि गरेका छौं । यसलाई बढाउन सकिन्छ । कतिसम्म बढाउने योजना छ ?  आवश्यकता अनुसार बढाउँछौं । अहिले हामीले भनेको २ अर्बले पुग्छ । पछि थप्दै जान्छौं । हामीले उत्पादन गरेका वस्तुहरु पनि बिक्री गर्छौं । बेचेपछि पनि पैसा आउँछ । अहिले नै यति बढाउँछौ भन्न सकिने अवस्था छैन । त्यतिखेरको आवश्यकता अनुसार हामी पुर्याउँछौं । नभए कृषिमा लगानी गर्ने केही सहकारी र बैंकहरु हुनुहुन्छ उनीहरुसँग पनि सहकार्य गरेर अगाडि बढ्न सकिन्छ । यो वर्ष एक लाख रुपैयाँ लगानी गर्ने व्यक्तिले अर्को वर्ष प्रतिफल अवश्य पनि चाहन्छ । त्यसबारे के सोच्नु भएको छ ? एकदमै सोच्नु स्वभाविकै हो । तर, हामीले साथीहरुलाई के भनेको छौं भने कृषिमा लगानी गरेर एकै वर्षमा प्रतिफल पाउन गाह्रो नै हुन्छ । किनभने यो सुरुको अवस्था हो । अहिले जग्गा जमिनदेखि लिएर सबै चिज तयारी गरेर जानु पर्ने अवस्था रहेको कारणले आउँदो वर्ष नै दिन सकिँदैन । बरु दोस्रो वर्षबाट नियमित रुपमा हामी हाम्रा साथीहरुलाई प्रतिफल दिन्छौं । दोस्रो वर्षबाट तेस्रो वर्षमा प्रवेश गर्दा हाम्रो लगानी ह्वात्तै वृद्धि हुन्छ । त्यतिखेर हामी उत्पादन गरिएको वस्तु बिक्री गरिरहेका हुन्छौं । त्यसैले हामी आईपीओसम्म पुग्ने बेलामा धेरै माथि पुगिसकेका हुन्छौं । दोस्रो वर्षदेखि कतिसम्म प्रतिफल दिन सकिन्छ होला केही योजना तथा अनुमान बनाउनु भएको छ ? हामीले लाभांशका रुपमा प्रतिफल त बिचमा दिइरहेका हुन्छौं । अहिले यति नै दिन्छौं भन्यो भने हतार हुन्छ होला । तर, आईपीओ निश्कासन गर्दासम्म सेयरभ्यालु बढाउने किसिमले हामी काम गर्छौं । आईपीओ कहिले निस्काशन गर्ने योजना छ ? यो नेपाल सरकारको नियम अनुसार हुन्छ । सरकारको नियमले निरन्तर ३ वर्ष नाफामा गएको कम्पनी हुनु पर्छ भनेको छ । त्यही ढंगले काम गरेर हामी आईपीओ निस्काशन गर्छौं । सरकारले पनि भूमी बैंकको परिकल्पना गरिरहेको छ, बाँझो जमिन उपयोग गर्ने नीति सरकारको छ । तपाईंहरुलाई पनि अथाह जमिनको आवश्यक छ । यसका लागिसरकारसँगै सहकार्य गर्ने होकि छुट्टाछ्ट्टै जोन हो ? के छ सोच ? हामीलाई आवश्यक वस्तु नै यही हो । उहाँहरुले बाँझो जमिन खोजेर उत्पादन गर भनेर दियो भने हामी काम गर्न तयार छौं । हामीले हाम्रो डीपीआरमै नेपाल सरकारका बाँझो जग्गा, विभिन्न मठ मन्दिरका जग्गाहरु उपयोग गर्नको लागि आतुर भएर बसेका छौं । भूमी बैंक आउनु भनेको त हामीलाई ल्याएको जस्तो हामीलाई महसुस हुन्छ । बरु यसलाई छिट्टै कार्यान्वयनमा ल्याओस् भन्ने हाम्रो आशासँगै अनुरोध पनि गर्छौं । सरकारले कृषिमा विदेशी लगानी ल्याउने भनेर काम गरिरहेको छ । विदेशी लगानी नेपालमा ल्याउने विषयमा खाद्य बैंकको धारणा के छ ? सबैले आफ्नो भाग गरेर खाने हो । मैले कति उत्पादन गर्छु भन्रे विषय महत्वपूर्ण हो । अहिले यो विषयले चर्चा पाउनु स्वभाविक हो । यसमा कसैका ल्याउनु पर्छ भन्ने र कसैका ल्याउनु हुन्न भन्ने मत छन् । तर, हाम्रो मत भने विदेशी लगानी ल्याउनु पर्छ भन्ने हो । विदेशी लगानी ल्याउनु भनेको उसले पेसा बाँड्न आउने होइन । उ नेपालमा व्यापार गर्न आउने हो । व्यापार गर्न आउँदा अवश्य पनि प्रतिफल लिएर जाने हो । नेपालमा फलेको वस्तु बाहिर बचेर नाफा खाने हो । तर, उसले काम गर्दा नेपाली किसानको हक हितको संरक्षण हुनु पर्यो । अहिले भइरहेको सिस्टमलाई व्यवस्थित गरेर लैजानु पर्यो । रोजगारी दिने अवस्था छ भने त्यहाँ अवसर हामीले नै पाउनु पर्यो । त्यहाँ आधुनिक मेसिनहरु छन् भने ती मेसिन चलाउन हामीलाई सिकाउनु पर्यो । यी विविध प्रक्रियाहरु हुनु पर्यो । हाम्रो सल्लाह सुझाव नेपाल सरकारलाई चाहियो भने हामी दिन तयार छौं । विदेशी लगानी आउनु हुन्न भनेर हामी भन्दैनौं । एउटा ज्वलन्त उदाहरण पहिले अरुण तेस्रोमा धेरै विरोध गरियो । तर, अहिले फेरि अरुण तेस्रोको काम अगाडि बढेको छ । विदेशी लगानी आफैमा खराब होइन । पैसा आउँदा कुन नियतले आएको छ भन्ने कूरा मात्र मुख्य हो । त्यो कुन नियतले आएको छ भन्ने कूरा हामीले बुझ्नु पर्छ । यो परियोजनामार्फत कतिले रोजगारी पाउँछन्, केही कल्पना गर्नु भएको छ ? यो परियोजनामा लाखौं मानिसले रोजगारी पाउँछन् । तर, आजैका दिन भने होइन । क्रमशः परियोजना अगाडि बढ्दै जाँदा रोजगारी पनि बढ्छ । यसको सबैभन्दा माथिल्लो तहमा सिकाउने विज्ञको समूह छ । जसले कृषिमै पीएचडी गर्नु भएको छ । उहाँहरुसँग लामो अनुभव छ । उहाँहरुदेखि लिएर धान रोप्ने मानिससम्मले रोजगारी पाउनु हुन्छ । चार्टर्ड एकाउन्टेन्टको टीमले पनि यसमा काम पाउँछन् । कानुन पढेको मानिस, सवारी चालकहरुले यसमा काम पाउँछन् । व्यवस्थापनमा धेरेले काम पाउँछन् । यी धेरै क्षेत्रमा धेरैले रोजगारी पाउँछन् । आजको ५/६ वर्षपछि लाखौं मानिसले यसमा रोजगारी पाउँछन् । सरकारले कृषिलाई नै प्राथमिकता दिइरहेको भन्छ । नेपालको ८० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छ भन्छौं । तर, विडम्बना आमाबुबाले आफ्नो छोरा वा छोरी कृषक भएको हेर्न चाहँदैनन् । उनीहरु आफ्ना छोराछोरी अरु नै पेशामा काम गरेको हेर्न चाहन्छन् । यो प्रवृति र अभ्यासलाई खाद्य बैंकले कसरी लिएको छ ? हो, यही अभ्यास र प्रवृतिको हामी अन्त्य गर्न चाहन्छौं । कृषिलाई मर्यादित र सम्मानित पेशा बनाउनु पर्छ भन्ने उद्धेश्यका साथ नै हामी आएका हौं । अब किसानले पनि गाडी चढेर हिँड्नु पर्छ । पढेलेखेको मानिस कृषिमा आउनु पर्छ भनेर नै हामीले यो अभियानका रुपमा सञ्चालन गरेका हौं । पहिले पहिले पढेलेखेका मानिसले कृषि काम गर्ने हो र ? भन्ने गलत अभ्यास गरियो । पाइलट, इञ्जिनियर शिक्षक पो हुनु पर्छ, नपढेको मानिसले पो हलो जोत्नु पर्छ भनेर खेतीलाई हतोत्साहित गरियो । त्यही भएर काम गर्ने मानिसहरु पनि पलायन भए । धेरै विदेश पनि गए । जसले गर्दा गाउँका जग्गाहरु बाँझो रहे । अब हाम्रो योजना भनेको ती बाँझा जग्गाहरु खन्ने हो । हामी विस्तारै यो कार्य्रक्रममा संघ, प्रदेश र स्थानीय सरकारलाई पनि सहभागी गराउँछौं । यसलाई एक अभियानका रुपमा काम गर्छौं । जसको नेतृत्व राष्ट्रिय खाद्य बैंकले गर्छ । आफ्नो जग्गा आफैले खनेर कसैले पैसा पाउँछ भने कोही पनि विदेश जाँदैनन् । अब हाँसि खुशीका साथ सबैले आफ्नो बाँझो जग्गा घरमै बसेर खनेर पैसा कमाउँछन् । कसैले पनि विदेश जानु पर्दैन । कसैले पनि वेरोजगार बस्नु पर्दैन । सरकारले सम्वृद्ध नेपाल सुखी नेपालीको नारा पनि यही खाद बैंक भित्र नै छ । तर यसमा सरकारको लगानी भने छैन । कुनै संघ संस्था र राजनीतिक दलको पनि संलग्नता छैन । हामीले स्वफुर्त रुपमा हाम्रो अनुभव र श्रम प्रयोग गनको लागि लागि बनाइएको एउटा परियोजना हो । यो परियोजनामा सरकारी लगानी आउने सम्भावना कति छ ? हाम्रो भनेको काम गरेर देखाउने हो । अहिलेसम्म त्यस्तो कुनै कूरा भएको छैन । हामीले काम गर्दै गएपछि भोलि सरकारले हामीलाई खोज्दै आउँछ । प्रमोटर सेयर कति हुन्छन् ?   एक हजारदेखि १५ सयसम्म हाम्रो प्रमोटर सेयर हुन्छन् । अहिले ४ सय ९१ जनाले सेयर भरिसकेका छन् । हामीले उत्पादन गर्ने वस्तुहरु पनि हाम्रा सेयरधनी र उनीहरुका परिवारलाई खुवाउर बजारमा पुर्याउँछाैं । अन्तिममा, किसानहरुको पसिनामाथि खेलवाड गर्ने विचौलियाहरुको नेपालमा कमि छैन । यी विचौलियाको अन्त्यको लागि खाद्य बैंकले केही योजना बनाएको छ ? बिचौलिया भन्ने शब्द खाद्य बैंकको परिकल्पनामै छैन । किनभने हामी आफैले उत्पादन भण्डारण र बजारीक्ण गर्छौं । यसमा कुनै पनि मध्यस्थकर्ता हुँदैनन् । त्यसमा सरिक किसान र कृषिमा काम गर्नेहरुलाई गर्छ । हाम्रो डिजाइन भनेको नेपालका लागि नयाँ र नेपाली कृषि क्रान्तिको सुरुवात हो । खाद्य बैंकले नेपाललाई परिवर्तन गरेर देखाउँछ । अरुलाई उत्पादन गरेको वस्तुमाथि खेलवाड गर्ने, बेच्ने लेयरहरुको हामी अन्तय गर्छौं । जब यसको दायरा बढ्दै जान्छ बिचौलिया आफै घट्दै जान्छन् । ती पछि आफै यता काम गर्न आउने हामी सिर्जना गर्छौं । भिडियाे:

गोदावरीमा जिपलाइन सञ्चालनमा, टिकट काटेमा बीमाको सुविधा पाइने (भिडियोसहित)

फाइल फोटो ललितपुर । ललितपुरको गोदावरी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावरी स्थित विशंखुनारायण सामुदायिक वनभित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् । ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वनभित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ । एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको जिपलाइन खेल्नका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट पर्यटकहरु जाने गरेका छन् । जिपलाइन खेल्नका लागि फोटो भिडियो सहित प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएपनि अहिले छुट दिएर प्रतिव्यक्ति १ हजार ३ सय रुपैयाँ लिइएको सञ्चालक श्रेष्ठले बताए । जिपलाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्माण भएकाले खेल खेल्न सुरक्षित रहेको पनि श्रेष्ठले बताए । तरपनि टिकट काटेर खेल खेलेमा बीमा लगायतका सुविधा दिइएको छ । जिपलाइन खेल्न आउने पर्यटकहरु पनि साहसिक खेल खेल्न पाउँदा निकै खुशी देखिएका छन् । उपत्यकाबाट नजिकै साहसिक खेल खेल्न पाउने ठाउँ नभएका बेला जिपलाइन सञ्चालनमा आउँदा यस क्षेत्रको पर्यटनमा समेत टेवा पुग्ने उनीहरुको भनाई छ । नेपाल सरकारले प्रकाशित गरेको सामुदायिक वनमा पर्यापर्यटन कार्यविधि २०७५ को आधारमा नियम कानून अन्तर्गत रहेर सामुदायिक वनले आसयपत्र आव्हान गरेपछि बोलकबोल मार्फत ठाउँ लिइएको सञ्चालक श्रेष्ठले बताए । सामुदायिक वनलाई संरक्षण गर्ने, प्रकृतिलाई जोगाउने र वातावरणलाई नविगारिकन साहसिक पर्यटनको विकास गर्ने किसिमले नै जिपलाइन सञ्चालनमा ल्याइएको पनि बताए । भिडियो हेर्न यसमा क्लिक गर्नुहोस्