अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश
काठमाडौं । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो । अष्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्याण्डलाई ३६ रनले हराएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले पाँच दशमलव चार ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका लागि ट्रविस हेडले सर्वाधिक ३४ रनको योगदान दिए । उनले १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहेका हुन् । त्यस्तै डेविड वार्नरले २० जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए । नामिबियाका डेविड विजाले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो । नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै माइकल भान लिंगेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंंकमा रन बनाउन सकेनन् । समूह ‘बी’मा अष्ट्रेलिया तीन खेलमा छ अंकका साथ शीर्षस्थानमा छ । त्यसैगरी सोही समूहमा रहेको स्कटल्याण्ड तीन खेलमा दुईमा जित र एक खेलमा अंंक बाँड्दै पाँच अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया तीन खेलमा एक जित र दुई खेलमा हारसहित दुई अंकका साथ तेस्रो स्थानमा छ । इंग्ल्याण्ड दुई खेलमा एक अंकका साथ चौथो स्थानमा छ । ओमान तीन खेलमा जितविहीन हुँदै विश्वकपबाट बाहिरिसकेको छ । विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।
टि २० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध
काठमाडौं । आइसिसी टि २० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा वर्षा नरोकिएपछि खेल रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंकाले समान १/१ अंक बाँडेका छन् । समूह डिमा रहेको नेपालको २ खेलबाट एक अंक भएको छ भने श्रीलंकाको तीन खेलबाट १ अंक छ । तीन खेलमा श्रीलंका बंगलादेश र दक्षिण अफ्रिकासँग पराजित भएको हो भने नेपालसँग वर्षाका कारण १ अंक बाँडेको हो । यता नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो भने श्रीलंकासँग अंक बाँड्न बाध्य बनेको हो । नेपालले अब १५ तारिकमा दक्षिण अफ्रिकासँग् वेस्टइण्डिजमा खेल्नेछ । साथै १७ तारिकमा बंगलादेशसँग खेल्नेछ । बाँकी दुवै खेल जितेको खण्डमा नेपालले सुपर ८ को यात्रा तय गर्नेछ । समूह डिबाट दक्षिण अफ्रिका एक अखेल अगावै सुपर ८ मा पुगिसकेको छ । दक्षिण अफ्रिकाले तीनमा तीन खेलमा नै जित हात पारेको छ ।
सन्दीपले टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने
काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा सोमबार जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ । सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुँदै उक्त प्रतियोगिता खेल्न लागेका हुन् । क्यानले यसअघि यही जेठ २ गतेदेखि सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्वनबाट फुकुवा गरेको थियो । उच्च अदालत पाटनको फैसलाबमोजिम बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले पनि सोही दिनदेखि क्रिकेट गतिविधिबाट निलम्वन फुकुवा गरेको थियो । युवा बलर प्रतिश जिसीलाई ‘ट्राभलिङ रिजर्र्भ’ राख्दै सन्दीपलाई नेपाली टोलीमा समावेश गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । सङ्घले पूर्वघोषित टिमबाट युवा बलर जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेस गरेको क्यानको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘यही जेठ ३ गतेदेखि नै सन्दीप नेपालको अफिसियल टिममा रहेका तर अमेरिकी राहदानी प्राप्त नभए तापनि आइसिसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बङ्गलादेशविरुद्ध नेपालका दुई खेलमा सन्दीपको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ ।’ विश्वकप क्रिकेट २०२४ का खेल अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । अमेरिकामा भएको नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा पराजित भएको नेपालले आफ्नो दोस्रो खेल यही जेठ ३० गते अमेरिकामै श्रीलङ्कासँग खेल्नेछ । उक्त खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा पुग्नेछ । त्यहाँ नेपालले दक्षिण अफ्रिका र बङ्गलादेशसँग खेल्नेछ ।
आईसीसी टी-२० विश्वकप : डिभाइन वाइनले १ डट बल बराबर १० वटा रुख रोप्ने
काठमाडौं । डिभाइन वाइनले प्रत्येक १ डट बल बराबर १० वटा रुखहरु रोप्ने निर्णय गरेको छ । श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले यही जेठ १९ देखि सुरु भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका गेमहरुमा खसेको प्रत्येक डट बलमा १० वटा रुखहरु रोप्ने निर्णय गरेको हाे । खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने उद्धेश्यले यो निणर्य गरिएको हो । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन् । जसमा पहिलो खेल नेडरल्यड, दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसंग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको डट बलमा हरके बल बराबर १० वटा बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ । सोही निर्णय अन्तर्गत रहेर जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेडरल्याड बिचको खेलमा खसेको डट बल हरुको आधारमा आएको संख्या बराबरको रुखहरु धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ्ग राईलाई प्रदान गरिने छ ।
टुँडिखेल, तीनकुने र हाँडीगाउँमा विश्वकपको प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडीगाउँबाट प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ । नेपाली समयअनुसार आज साँझ ९ः१५ बजेदेखि नेपाल र नेदरल्याण्ड्सको खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रिन राखिनेछन् । महानगरेल ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नवीन भण्डारीले जानकारी दिए । यी स्थानमा खेल हेर्न कुनै शुल्क तिर्नु नपर्ने पनि महानगरले जनाएको छ । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति हुनेछ ।
विश्वकप लिग २ का खेल एक्सन स्पोर्टस एचडीआई वानले प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु फेब्रुअरी १५ बाट सुरु भएको छ । पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डीस होम एक्सन स्पोर्टस एचडीआई वानले बिहीबारदेखि सुरु हुन लागेको आइसीसी लिग टू अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । तीनै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडी १ ले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ । कीर्तिपुरस्थित टियु मैदानमा हुने लिगको पहिलो खेल फेुब्रअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ । फुब्रअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फुब्रअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फुब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फुब्रअरी २५ मा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन् । लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् । उक्त सिरिज डिस होमको एक्सन स्पोर्टस एचडी र डिस होम गो एप्समा हेर्न पाइने छ । लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग बिहीबार १५ फेब्रुअरीमा खेल्ने छ । सबै खेल बिहान सवा ९ बजेदेखि सुरुहुने छ । तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्ने पाउनेछ । पुछारका ४ टोलीले भने प्ले अफ खेल्नु पर्ने हुन्छ ।
डिशहोमले आईसीसी टी–२० आई विश्वकप छनोट अन्तर्गत गरेको पुरस्कार घोषणाको रकम खेलाडीलाई प्रदान
काठमाडौं । डिशहोमले आईतबार १० डिसेम्बर, २०२३ मा भैसेँपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परीसद भित्र कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव-पारस खड्का, मुख्य प्रशिक्षक-मोन्टी देसाई, कप्तान-रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरु पनि उपस्थित भएका थिए । २९ अक्टोवर, २०२३ देखी सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो । पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ । त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो । एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो । नेपाल दश वर्षपछि टी-२० विश्वकपमा छनोट भईसकेको त हामी सबैलाई अवगत नै छ । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा ०३ नोवेम्बर,२०२३ मा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो । युएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । यसै सँगै डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले उत्साह व्यक्त गर्दै भने, ‘हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।’ साथै अबका दिनमा क्यानसँग जोडीएर अघी बढ्ने प्रतिबद्धता पनि जनाएका छन् ।
विश्वकप छनोट : नेपाल र यमन भिड्दै
काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो टोलीका खेलाडीहरु यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको बताए । नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।
भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेट
काठमाडौं । भारतलाई पराजित गर्दै अष्ट्रेलियाले आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि हात पारेको छ । आइतबार भारतमा भएको खेलमा अष्ट्रलेलियाले भारतलाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो । भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको क्षतिमा २४१ रन बनाएर जित हात पारेको हो । आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्न घरेलु टिम भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान त्रविस हेडले शतक पूरा गरे । यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।
विश्वकप जित्न अष्ट्रेलियालाई भारतको २४१ रनको लक्ष्य
काठमाडौं । विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा २४० रन बनाउँदै अल आउट भएको हो । १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पु¥याएका थिए । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो । कोहली ५४ र राहुल ६६ रनमा आउट भए । यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए । यो फाइनल जित्ने टिमले ट्रफी उचाल्नेछ ।
विश्वकपमा नेपाल, यूएईसँग नेपालको सानदार जित
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपालले यूएईलाई पराजित गरेको छ । युएईले दिएको १३५ रनको लक्ष्यलाई नेपालले १८ ओभरमा पुरा गरेको हो । नेपाले ८ विकेटले खेल जितेको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे । पहिले ब्याटिङ गरेको यूएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए । यो जितसँगै नेपाल विश्वकपमा छनोट भएको छ । वर्षौंदेखिको विश्वकप खेल्ने नेपालको सपना साकार भएको छ । नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको हाे । अब नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्नेछ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो ।
विश्वकप क्रिकेट सेमिफाइनलको टिकट आइएमई पेमार्फत काट्न क्यानको अनुरोध
काठमाडौं । आइसीसी मेन टी २० विश्वकप फाइनल छनौट एसियाअन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीच सेमिफाइनल खेलका लागि ३ हजार ५ सय टिकटमात्र अनलाइमार्फत आइएमई पेबाट काट्न नेपाल क्रिकेट संघ (क्यान) ले अनुरोध गरेको छ । मैदानमा टिकट बुथ नहुने भएकाले निश्चित संख्यामा उपलब्ध हुने टिकट आइएमई पेमार्फत काट्न क्यानले दर्शकलाई अनुरोध गरेको हो । नेपाल र यूएईबीच हुने सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्न पनि क्यानले अनुरोध गरेको छ । क्यान, क्रिकेटसँग सम्बन्धित अतिथिलाई समेत सेमिफाइनल खेलको पास वितरण नगरेकाले घरमै बसेर खेल हेरी सहयोग गर्न क्यानको अनुरोध छ ।
विश्वकपक छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने
काठमाडौं । सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको यात्रा तय गर्न सफल भएका छन् । विभिन्न सात राष्ट्र सम्मेलित विश्वकप क्रिकेट लिग दुईबाट स्कटल्यान्ड पहिलो, ओमन दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने विश्वकप छनोटमा प्रवेश पाएका हुन् । यससँगै अब नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग खेल्न पाउने पक्का भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई) लाई पराजित गर्दै विश्वकपको छनोटमा प्रवेश पाएको हो । खराब प्रकाशका कारण खेल रोकिँदा नेपाल डकवर्थ लुइस नियमअनुसार ९ रनले विजयी भएको थियो । त्यस्तै, लिग दुईको अङ्कतालिकामा चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गरेका क्रमश: नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनीले विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ । प्लेअफमा यी चार टोलीसहित च्यालेन्ज लिगको शीर्ष दुई टोली क्यानडा र जर्सी गरी ६ राष्ट्रको प्लेअफ छनोट हुनेछ । उक्त खेल नामिबियामा यसै महिनामा हुनेछ । जसबाट शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोटमा सहभागिता जनाउन पाउनेछन् । जिम्वावेमा विभिन्न १० टोली प्रतिस्पर्धामा उत्रनेछन् । विश्वकप लिग दुईबाट नेपाल ओमान र स्कटल्यान्डले स्थान बनाए भने सुपर लिगबाट जिम्बावे र नेदरल्यान्ड्सले खेल्ने पक्का भइसकेको छ । अन्य टोलीको छनोट हुन भने बाँकी छ । जिम्बावेमा हुने विश्वकप छनोटमा आइसीसी सुपर लिगका पुछारका पाँच टोली, लिग दुईको शीर्ष तीन टोली र प्लेअफ छनोटबाट आउने शीर्ष दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सम्हालिएर खेल्दा जितिन्छ भन्ने आत्मविश्वास हुनाका साथै खेलाडीले अनुशासित भई ब्याटिङ गर्दा नेपालले कीर्तिमानी जित हासिल गर्न सकेको बताए । उनले अहिलेको नेपाली टोलीमा अद्भुत क्षमता भएको खेलाडी रहेको र उनीहरुले भविष्यमा नेपाली क्रिकेटका लागि राम्रो गर्नसक्ने बताए । यसैगरी, नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले युएईले दिएको लक्ष्य धेरै भए पनि जित निकाल्ने विश्वास नगुमेकाले विजयी हासिल गर्न सकेको भन्दै यस जितको श्रेय प्रशिक्षक मन्टी देसाईलाई दिन चाहेको बताए । प्रशिक्षक मन्टी आएदेखि नेपालली टोलीको माहोल परिवर्तन भएको र प्रत्येक खेलमा केन्द्रित हुन सिकाएको उनको भनाइ छ । देसाई नियुक्त भएपछि नेपालले लिग २ का पछिल्ला १२ खेलमध्ये ११ खेलमा जित हात पार्न सफल भएको थियो । रासस
नेपाल विश्वकप छनोटमा पुग्यो, यूएईलाई ९ रनले हरायो
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो । १७ ओभरको समाप्तीसँगै नेपालले ४ विकेटको क्षतिमा ९९ रन जोडेको थियो । यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो । सन् २०१९ देखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपाल तेस्रो भएको छ । पछिल्लो १२ मध्ये ११ खेल जितेर नेपालले ३६ खेलबाट ४० अंकसहित तेस्रो स्थान हासिल गरेको हो । ३६ खेलबाट ५० अंकसहित स्कटल्याण्ड लिग टू च्याम्पियन भइसकेको छ भने ४४ अंकसहित ओमान दोस्रो भएको छ ।
नेपाललाई विश्वकप पुर्याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले जनही १ लाख दिने
बैतडी । यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेटरहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ । हालै युएईमा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका पाँच खेलाडी जनही एक लाख र चार टोली अफिसियललाई जनही ५० हजार दिने घोषणा गरेको हो । नेपाली यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमका दीपक बोहरा, दीपक बोहरा बी, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द रहेका थिए । यस्तै, टोली अफिसियलमा मुख्य प्रशिक्षक जगत टमटा, सहायक प्रशिक्षक धिरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए । नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको विशेष पहलमा सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहनस्वरुप पुरस्कार दिने घोषणा गरेको हो । चन्दको सुदूरपश्चिम गृह प्रदेश पनि हो । प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेकामा खुसी व्यक्त गर्दै यो प्रोत्साहनले अगामी दिनमा पनि क्रिकेट लागिरहन हौसला मिलेको खेलाडी दीपक बोहराले बताए । सुदूरपश्चिम प्रदेश सरकारले खेलाडी र टोली अफिसियललाई पुरस्कार दिने घोषणा गर्ने कार्य निकै सराहनीय रहेको क्रिकेट सङ्घका अध्यक्ष चन्दको भनाइ छ । अन्य प्रदेशले पनि सुदूरपश्चिम सरकारको सिको गरेर खेल र खेलाडीप्रति सम्मान गर्न आग्रह गरिएको छ । पुरस्कारले खेलाडीलाई खेलप्रति लागिरहन हौसला मिल्ने चन्दले बताए । विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ क्यानले जनही एक लाखको पुरस्कार दिने घोषणासमेत गरेको छ । रासस
आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल ५२ रनले विजयी, अब एक खेल जिते पुग्ने
काठमाडाैं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४५ रनमा सीमित बन्यो । जितसँगै नेपालले ३३ खेलमा ३४ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको पाँचौ स्थानमा छ । समान ३३ खेल खेलको पपुवा न्यूगिनी ९ अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ । नेपालका लागि ओपन आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरे । खेलमा आशिफ शेखले सर्वाधिक ११० रन बनाए । कुल ११० बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे । आशिफको यो पहिलो एक दिवसीय शतक हो । उनी एक दिवसीयमा खेलमा शतक प्रहार गर्ने नेपालका लागि पाँचौ खेलाडी बने । यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् । शतकसँगै आशिफले एक दिवसीय खेलमा एक हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने उनी नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एक दिवसीयमा एक हजार रन पूरा गरेका थिए । साथै नेपालका लागि ब्याटर कुशल भुर्तेलले ४५ रन, भिम सार्कीले ४४ रन, रोहित पौडेलले ३० रन बनाए । साथै आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन र दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछोनले सात र सोमपाल कामीले चार र कुशल मल्लले दुई रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीको सुरुवात राम्रो रह्यो । पहिलो विकेट ११ दशमलव दुई ओभरमा ७७ रनमा झरेको थियो । पपुवा न्यूगिनीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाए भने ओपनर टोनी उराले ५० रन बनाए । साथै असाद भालाले ४२, रिले हेकुरेले २० रनको योगदान गरे । नेपालको जितमा सन्दीप लामिछानेले चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई र कुशल मल्लले एक विकेट लिए । विभिन्न सात राष्ट्र सहभागी यस सिरिजमा नेपालले अब तीन खेल खेल्न बाँकी छ । पपुवा न्यूगिनीसँगको एक र युएईसँगको दुई खेलमा विजयी भए नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछ । लिगका सबै खेल खेलिसकेको स्कटल्यान्ड ५० अङ्काका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ । बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् । यी तीन टोलीमध्ये एक टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अङ्कसहित चौथो स्थानमा छ । कुल ३२ खेल खेलेको युएइ ३१ अङ्कका साथ छैटौ स्थानमा छ । नेपालले जारी शृङखलाको आफनो दोस्रो खेल यही फागुन २८ गते युएईसँग खेल्नेछ । रासस
युएईलाई हराउँदै नेपाल यू–१९ को विश्वकप खेल्ने सपना साकार
काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकपमा पुगेको छ । बिहीबार नेपालले यूएईलाई पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकप खेल्ने सपना साकार पारेको हो । १९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट ग¥यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पु¥याएका हुन् । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।
आइसिसी यु-१९ विश्वकप : नेपालले टस जितेर ब्याटिङ रोज्यो
काठमाडौं । आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ । युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपाल आजको खेलमा विजयी भए आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने यु-१९ विश्वकप क्रिकेटको यात्रा तय गर्नेछ । नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ । प्रतियोगितामा नेपालले यसअघि खेलेका चार वटै खेलमा विजयी भएको थियो । नेपालले यसअघि सिङ्गापुर, कुवेत, हङकङ र मलेसियालाई पराजित गरेको थियो । यता युएईले पनि सिङ्गापुर, कुवेत, हङङकङ र मलेसियालाई पराजित गरेको छ । नेपाल र युएईबीचको विजेताले यू-१९ विश्वकपको यात्रा तय गर्नेछ । नेपालको प्लेईङ–११ मा कप्तान देव खनालसहित आकाश त्रिपाठी, दीपक बोहरा, आकाश चन्द, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपेश कँडेल, हेमन्त धामी, मिलन बोहरा, सुवास भण्डारी र उत्तम थापा मगर छन् ।
माइपे वालेटबाट आईसीसी विश्वकप लिग २ को टिकट सस्तोमा किन्न सकिने
काठमाडौं । आईसीसी विश्वकप लिग २ नेपाल नामिबिय र स्कटल्याण्ड बिचको त्रिदेशिय क्रिकेट प्रतियोगिताको टिकट माइपे मार्फत खरिद गर्न सकिने भएको छ । खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको व्यवस्था समेत गरेको छ । खेल आउँदो फागुन २ गतेदेखि टियु क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुँदै छ । क्यानले सामान्य टिकटको मूल्य १५० रुपैयाँ र भिआईपि टिकटको मूल्य ३५० रुपैयाँ निर्धारण गरेकोमा माइपेमार्फत डिजिटल खरिदमा साधारण टिकटको मूल्य १३० रुपैयाँ र भिआईपि टिकटको मूल्य ३२० रुपैयाँ रहेको छ । माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको व्यवस्था गरेको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए । पछिल्लो समय नेपाल टि२० लिगमा स्पट फिक्सिङका कारणले प्रतियोगिता नै विबादमा परेपछि नेपाली क्रिकेट फ्यानहरु निरुत्साहित भईरहेको बेला सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपे ले जनाएको छ । लिग २ मा नेपालले अहिलेसम्म २४ खेल खेलेकोमा ८ जित र १४ हार व्यहोरेको छ । नेपाल १८ अंकसहित तालिकाको छैंटौँ स्थानमा छ । नामिबिया ३७ अङ्कसहित तेस्रो र स्कटल्याण्ड ४६ अङ्कसहित शीर्ष स्थानमा छ । माइपे ले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टियू क्रिकेट मौदान पुगेर नेपाली खेलाडीलाई समर्थन र हौसला प्रदान गर्न समेत आग्रह गरेको छ ।
विश्वकपको अन्तिम रात करोडौंको खेल, दुई जना पक्राउ
भक्तपुर । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै विश्वकप जितिरहँदा नेपालमा भने करोडौँको बाजीमा हारजितको खेल भएको छ । दुई राष्ट्र अर्जेन्टिना र फ्रान्सको अन्तिम खेलमा फ्रान्सको पक्षमा बाजी थापेका लामाले एकै रात एक लाख रुपैयाँ हारेका हुन् । यो हार त लामाको फाइनल खेलमा भएको हो । यसअघि पनि उनले विश्वकप सुरु भएदेखि नै पटक पटक विभिन्न देशको पक्षमा राखेको बाजीमा तीन लाख रुपैयाँ हारेका हुन् । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे बस्ने कमल खत्रीले विश्वकपको अन्तिम खेलमा ५० हजार बाजीमा हारे । राधेराधेको एक होटलमा विश्वकप हेर्दा आफ्नै सहकर्मीहरूसँग बाजी राखेका उनले विश्वकपको अवधिभर तीन लाख रुपैयाँ बाजीमै सिध्याए । यी त उदाहरण मात्रै हुन्, आइतबार राति सम्पन्न फिफा विश्वकपमा खेल भइरहँदा भक्तपुरमा मात्रै बाजीमा करोडौँको हारजितको खेल भएको छ । त्यतिमात्रै होइन विश्वकपकै बहानामा अनलाइनमार्फत सट्टाबाजी लगाएर जुवा खेल्ने/खेलाउने दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका–८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेलेलाई आज पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले फिफा विश्वकप फुटबलका खेलहरूमा बेटिङ एप्लिकेसन वनएक्स बेट प्रयोग गरी अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको पाइएपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले पक्राउ परेका दुवै जनालाई मुलुकी अपराधसंहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाएको परिसरका सूचना अधिकृतसमेत रहेका प्रनाउ पाण्डेले जानकारी दिए । उनीहरूले वनएक्स बेटमा सट्टाबाजी गराउन विगत एक वर्षदेखि सट्टाबाजी गर्ने एजेन्टका रूपमा कार्य गर्न थालेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ परेका चौगुठीको विभिन्न २३ वटा बैंकमा रहेको २५ वटा खाताहरूको कारोबारको विवरण माग गरिएकामा हालसम्म सातवटा बैंक खाताबाट विगत एक वर्षमा दुई करोड ४५ लाख ७१ हजार ८९९ रुपैयाँको कारोबार भएको पाइएको छ । भेलेको विभिन्न १९ वटा बैंक खाताको कारोबार माग गरिएकामा हालसम्म पाँचवटा खाताको विवरण प्राप्त भएको र ती खातामा ६० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार भएको पाइएको छ । खेलमा बढी रकम हारेका व्यक्तिको पहिचान गरी प्रलोभन देखाएर सट्टेबाजीको एजेन्ट बनाउने र सट्टेबाजीमा प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत यसरी सट्टाबाजीको रकम सङ्कलन गर्ने कार्यमा चौगुठी र भेले सक्रिय रहेको पाइएको प्रहरीको भनाइ छ । रासस