बीपी दिवसमै कांग्रेस विभाजित, दुई मञ्चबाट शक्ति प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि सतहभित्र सीमित रहेको शक्ति संघर्ष अब खुला राजनीतिक प्रतिस्पर्धामा रूपान्तरित हुने संकेत देखिएको छ ।  आगामी १५औं महाधिवेशनको तयारीसँगै नेतृत्व पक्ष र संस्थापन इतर समूहबीच बढ्दै गएको अविश्वास साउन ६ गते आयोजना गरिएका दुई समानान्तर कार्यक्रममार्फत सार्वजनिक रूपमा प्रकट हुने भएको हो । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवश पारेर दुवै समूहले छुट्टाछुट्टै कार्यक्रम गर्न थालेका हुन् । पार्टीको आधिकारिक कार्यक्रम र इतर समूहको छुट्टै राजनीतिक कार्यक्रम एउटै दिन आयोजना हुनु कांग्रेसभित्रको सामान्य गुटगत गतिविधिभन्दा धेरै माथिको राजनीतिक सन्देश मानिएको छ । यसलाई आगामी नेतृत्वको शक्ति सन्तुलन, महाधिवेशनको तयारी तथा पार्टीको भावी दिशालाई प्रभावित गर्ने शक्ति परीक्षणका रूपमा समेत विश्लेषण गर्न थालिएको बताउँछन् विश्लेषक परसुराम घिमिरे । साउन ६ गते कांग्रेसको संस्थापन पक्षले देशव्यापी रूपमा सञ्चालन गर्दै आएको जरा अभियान ७७ वटै जिल्लामा समापन गर्ने कार्यक्रम तय गरेको छ । काठमाडौंमा हरित हिँडाइ र हरित बहस आयोजना गर्दै अभियानलाई औपचारिक रूपमा समापन गरिने नेता मनोजमणि आचार्यले जानकारी दिए । उनका अनुसार पार्टी नेतृत्वले यसलाई संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, नयाँ पुस्तासँग संवाद र वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा प्रस्तुत गर्दै आएको छ । तर यही दिन संस्थापन इतर समूहले भने काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा ४४औ‌ं बीपी स्मृति दिवसका अवसरमा वृहत राजनीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।  कार्यक्रमलाई बीपी कोइरालाको विचारमाथिको विमर्शका रूपमा प्रस्तुत गरिए पनि यसको राजनीतिक अर्थ भने महाधिवेशनअघि इतर समूहको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।   नेता डा. प्रकाशशरण महतका अनुसार उक्त कार्यक्रमपछि देशव्यापी राजनीतिक अभियान र राष्ट्रियस्तरको भेलासम्बन्धी घोषणा गर्ने तयारीसमेत भइरहेको छ । बीपी कोइराला नेपाली कांग्रेसका साझा आदर्श र सबै धाराले स्वीकार गरेका नेता हुन् । तर उनकै स्मृति दिवसका अवसरमा एउटै पार्टीले दुई अलग–अलग मञ्चबाट राजनीतिक गतिविधि आयोजना गर्नु कांग्रेसको वर्तमान अवस्थाको सबैभन्दा दारुण उदाहरण बनेको घिमिरेको ठहर छ । राजनीतिक विश्लेषक घिमिरेका अनुसार कार्यक्रमको उद्देश्य फरक देखिए पनि यसको वास्तविक सन्देश संगठनभित्रको शक्ति सन्तुलनसँग सम्बन्धित छ । नेतृत्व पक्षले आफ्नो संगठनात्मक पकड देखाउन खोजिरहेको छ भने इतर समूहले पार्टीभित्र आफू कमजोर नरहेको सन्देश दिन खोजेको उनको बुझाइ छ । यसअघि पनि कांग्रेसभित्र गुटगत भेला, छलफल र समानान्तर गतिविधि हुँदै आएका थिए । तर पार्टीकै आधिकारिक राष्ट्रिय कार्यक्रमसँगै अर्को राष्ट्रियस्तरको कार्यक्रम आयोजना हुनु भने असामान्य राजनीतिक अभ्यास मानिएको छ । कांग्रेसभित्र देखिएको पछिल्लो ध्रुवीकरणको मूल कारण आगामी १५औँ महाधिवेशन हो । क्रियाशील सदस्यता वितरण, सदस्यता प्रमाणीकरण, महाधिवेशन प्रतिनिधिको आधार, कार्यतालिका, केन्द्रीय संरचनाको पुनर्संरचना र नेतृत्व चयनका विषयमा नेतृत्व र संस्थापन इतर पक्षबीच लामो समयदेखि मतभेद छ । इतर समूहले पार्टी सञ्चालन क्रमशः एकपक्षीय बन्दै गएको, महत्त्वपूर्ण निर्णयहरू सीमित घेरामा हुने गरेको तथा महाधिवेशनको तयारी निष्पक्ष ढंगले अघि नबढाइएको आरोप लगाउँदै आएको छ । उनीहरूले पार्टीभित्र संस्थागत छलफल कमजोर हुँदै गएको र नेतृत्वले असन्तुष्ट आवाजलाई बेवास्ता गरेको दाबी गर्दै आएका छन् । नेतृत्व पक्ष भने विधान र संस्थागत प्रक्रियाअनुसार नै सबै निर्णय अघि बढिरहेको बताउँदै आएको छ । असन्तुष्टिहरू संवादमार्फत समाधान गर्न सकिने भए पनि समानान्तर गतिविधिले पार्टीलाई कमजोर बनाउने तर्क संस्थापन नेतृत्वको छ । राजनीतिक वृत्तमा अहिले सबैभन्दा बढी चासो साउन ६ का कार्यक्रममा कुन पक्षले कति उपस्थिति जुटाउँछ भन्ने विषयमा छ । कुन पक्षसँग बढी केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, जिल्ला नेतृत्व तथा कार्यकर्ता उपस्थित हुन्छन् भन्ने विषयले महाधिवेशनअघिको मनोवैज्ञानिक सन्तुलन निर्धारण गर्न सक्ने आँकलन गरिएको छ । त्यसैले साउन ६ लाई केवल दुई कार्यक्रम भएको दिनका रूपमा होइन, कांग्रेसभित्रको वास्तविक शक्ति सन्तुलन सार्वजनिक हुने दिनका रूपमा पनि हेरिएको हुन सक्ने विश्लेषक घिमिरेले बताए । कांग्रेसभित्र अहिले सार्वजनिक रूपमा कसैले पनि पार्टी विभाजनको पक्षमा बोलेको छैन । दुवै पक्षले पार्टीलाई एकताबद्ध राख्नुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन् । तर समानान्तर संगठनात्मक गतिविधि, छुट्टै सम्पर्क संयन्त्र, अलग राजनीतिक कार्यक्रम र नेतृत्वमाथिको सार्वजनिक आलोचना बढ्दै जाँदा पार्टीभित्र व्यवहारतः दुई शक्ति केन्द्र स्पष्ट बन्दै गएको देखिन्छ । तर नेता आचार्य भने प्रजातान्त्रिक दलको लागि यस्ता गतिविधि नियमित प्रक्रिया भएको बताउँछन् । राजनीतिक विश्लेषक घिमिरेका अनुसार तत्काल औपचारिक विभाजनको सम्भावना कमजोर भए पनि संवाद असफल हुँदै गए र महाधिवेशनको प्रक्रिया विवादित बन्यो भने संगठनात्मक संकट गहिरिन सक्ने जोखिम भने नकार्न सकिँदैन । साउन ६ पछिका घटनाक्रमले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्ने सम्भावना बलियो देखिएको छ । यदि शक्ति प्रदर्शनपछि दुवै पक्ष संवादमा फर्किए भने महाधिवेशन सहमतिका आधारमा सम्पन्न हुने वातावरण बन्न सक्छ । तर प्रतिस्पर्धा अझ चर्किदै गए संगठनभित्र समानान्तर शक्ति केन्द्र संस्थागत बन्ने सम्भावना रहेको घिमिरेको बुझाइ रहेको छ । इतर पक्षको नेतृत्व भने बल सभापति गगन थापाको कोर्टमा रहेको बताउँछ ।  इतर पक्षका नेता डा. महत भन्छन्, ‘नेतृत्वले सम्वाद, सहकार्यको ढोका खोले सबै सामान्य हुन्छ । ढोका बन्द गरेर बिराले चुट्ने हो भने परिणाम अन्यथा पनि हुनसक्छ । त्यसले निर्णय प्रक्रिया, संगठन सञ्चालन र निर्वाचन तयारीमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।’ अधिवक्तासमेत रहेका घिमिरेका अनुसार नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, नेपालको लोकतान्त्रिक राजनीतिको प्रमुख स्तम्भमध्ये एक हो । उनका अनुसार त्यसैले कांग्रेसभित्रको स्थिरता वा अस्थिरताले राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । यही कारण साउन ६ को घटनाक्रमलाई सामान्य पार्टीगत कार्यक्रमका रूपमा भन्दा पनि कांग्रेसको नेतृत्वको भविष्य र महाधिवेशनको दिशाको संकेत दिने राजनीतिक घटनाका रूपमा हेरिएको घिमिरे बताउँछन् । बीपी कोइरालाले जीवनभर जोड दिएको सहमति, संस्थागत लोकतन्त्र र संगठनात्मक एकताको सन्देश स्मरण गर्ने दिनमै कांग्रेसभित्र दुई फरक राजनीतिक मञ्च देखिनु आफैमा प्रतीकात्मक घटना हो ।  अब साउन ६ पछि कांग्रेस संवाद, सहमति र संस्थागत एकताको बाटो रोज्छ कि प्रतिस्पर्धा र ध्रुवीकरण अझ गहिरिन्छ भन्ने प्रश्नले केवल कांग्रेसका नेता–कार्यकर्तालाई मात्र होइन, समग्र राष्ट्रिय राजनीतिलाई समेत प्रभावित गर्नेछ ।

कांग्रेसमा शक्ति संघर्ष चुलिँदै, पार्टी दुई धारमा विभाजित

काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो समय शक्ति संघर्ष तीव्र बन्दै गएको छ । नेतृत्व, विधान, समय र प्राथमिकताका विषयमा देखिएको मतभेद अब खुला राजनीतिक टकरावको चरणमा प्रवेश गरेको छ । यही सन्दर्भमा पार्टीभित्र ‘पद्धति’ र ‘प्राथमिकता’को आ–आफ्नै बुझाइले कांग्रेसलाई दुई स्पष्ट धारमा विभाजित गराएको छ । एकातिर संस्थापन पक्ष छ, जसले पार्टीको सम्पूर्ण ध्यान आगामी आम निर्वाचनमा केन्द्रित हुनुपर्ने र नियमित महाधिवेशन वैशाख २८ गते नै गर्नुपर्ने अडान लिएको छ । अर्कोतर्फ महामन्त्री गगनकुमार थापाको नेतृत्वमा रहेको समूहले पुस २७ गते विशेष महाधिवेशन आह्वान गर्दै पार्टीभित्रको संकट समाधानका लागि यही नै एक मात्र विकल्प भएको दाबी गरिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष अहिले कुनै पनि हालतमा विशेष महाधिवेशनको पक्षमा छैन । संस्थापन पक्षका नेताहरूका अनुसार देश निर्वाचनतर्फ अघि बढिरहेको अवस्थामा पार्टीभित्र थप अस्थिरता सिर्जना गर्नु आत्मघाती हुनेछ । उनीहरू भन्छन्, ‘पार्टीलाई एकताबद्ध बनाएर चुनावमा होमिनुपर्ने बेला आन्तरिक विवाद चर्काउनु गैरजिम्मेवार कदम हो ।’ पार्टी प्रवक्ता डाक्टर प्रकाशशरण महतका अनुसार आम निर्वाचनको मिति आगनमै आइसकेको समयमा पार्टीलाई पूर्ण रूपमा निर्वाचनमै लगाउनु अहिलेको आवश्यकता हो । संस्थापन पक्षले कांग्रेसको विधानअनुसार नियमित महाधिवेशनको समय तोकिसकिएको र त्यसलाई नै कार्यान्वयन गर्नुपर्ने बताउँदै आएको छ । वैशाख २८ गते महाधिवेशन गर्ने तयारी भइरहेकाले त्यसअघि विशेष महाधिवेशनको आवश्यकता नरहेको उनीहरूको तर्क छ । महत विशेष महाधिवेशनलाई ‘दबाबको राजनीति’ र ‘नेतृत्व कमजोर पार्ने प्रयास’का रूपमा व्याख्या गर्छन् । महतका अनुसार अहिलेको मुख्य चुनौती भनेको संगठन सुदृढीकरण, गठबन्धन व्यवस्थापन र चुनावी रणनीति तय गर्नु हो । यस्तो अवस्थामा विशेष महाधिवेशनले पार्टीभित्र अनावश्यक ध्रुवीकरण बढाउने र चुनावी तयारी प्रभावित हुने महतको बुझाइ छ । महामन्त्री गगनकुमार थापाको नेतृत्वमा रहेको समूह भने पार्टीको वर्तमान संकटको जड नै संस्थापन नेतृत्वको कार्यशैली भएको ठान्छ । उनीहरूका अनुसार पार्टी सञ्चालन विधान, प्रक्रिया र सामूहिक निर्णयको पद्धतिबाट बाहिर गइसकेको छ । यही कारण पार्टीभित्र असन्तोष, अविश्वास र गुटबन्दी बढ्दै गएको उनीहरूको निष्कर्ष छ । गगन थापा समूहले पुस २७ गते विशेष महाधिवेशन आह्वान गर्दै पार्टीको वैधानिक र नैतिक पुनर्संरचना गर्नुपर्ने माग अघि सारेको छ । यस समूहका नेता मनोजमणि आचार्य भन्छन्, समस्या लुकाएर चुनाव जितिँदैन । पार्टीभित्रको असन्तुलन समाधान नगरी आम निर्वाचनमा जानु कांग्रेसका लागि दीर्घकालीन रूपमा घातक हुन्छ । यो समूह विशेष महाधिवेशनलाई नेतृत्व परिवर्तनको मात्र मुद्दा नभई पार्टीको पद्धति, निर्णय प्रक्रिया र आन्तरिक लोकतन्त्र पुनःस्थापना गर्ने माध्यमका रूपमा प्रस्तुत गरिरहेको छ । ‘पद्धति’को बहसः समस्या कहाँ छ ? कांग्रेसभित्र अहिले सबैभन्दा बढी प्रयोग भइरहेको शब्द हो ‘पद्धति’। तर यही पद्धतिलाई लिएर दुई धारबीच फरक–फरक बुझाइ देखिएको छ । संस्थापन पक्षका लागि पद्धति भनेको विधानअनुसार नियमित महाधिवेशन गर्नु, केन्द्रीय समितिको निर्णय मान्नु र सभापतिको नेतृत्वमा पार्टी अघि बढाउनु हो । तर गगन थापा समूहका लागि पद्धति भनेको निर्णय प्रक्रियामा पारदर्शिता, महामन्त्रीहरूको भूमिकाको सम्मान, केन्द्रीय समितिमा खुला बहस र संगठनलाई चलायमान बनाउने अभ्यास हो । गगनको आरोप छ, अहिले पार्टी सभापतिको वरिपरि सीमित व्यक्तिहरूले कब्जा गरेका छन् र निर्वाचित पदाधिकारीहरूलाई समेत औपचारिक भूमिकामा सीमित गरिएको छ । विशेष महाधिवेशनको आह्वानसँगै यसको वैधानिकतामाथि पनि प्रश्न उठ्न थालेका छन् । संस्थापन पक्षले विधानअनुसार केन्द्रीय समितिको औपचारिक निर्णयबिनै आह्वान गरिएको विशेष महाधिवेशन अवैध हुने दाबी गरेको छ । संस्थापन पक्षका नेता वीरबहादुर बलायर भन्छन्, पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय नमान्नु भनेको बहुमतलाई अस्वीकार गर्नु हो । तर गगन थापा समूहले भने प्रतिनिधिहरूको पर्याप्त समर्थन रहेको र पार्टीको संकट समाधानका लागि प्रतिनिधिहरू स्वयं सक्रिय हुनुपर्ने अवस्था आएको तर्क अघि सारेको छ । उनीहरू विशेष महाधिवेशनलाई ‘राजनीतिक दबाब’को उपकरण मात्र नभई प्रतिनिधिहरूको सार्वभौम अधिकारको प्रयोगका रूपमा व्याख्या गर्छन् । करिब दुई तिहाइ महाधिवेशन प्रतिनिधिको समर्थन आफूहरूलाई रहेकोले विशेष महाधिवेशन विधिसम्मत रहेको नेता आचार्यको टिप्पणी छ । कांग्रेस कार्यकर्तामा अन्योल नेतृत्व तहको यो टकरावले तल्लो तहका कार्यकर्ता र शुभेच्छुकहरूमा अन्योल बढाएको छ । कतिपय कार्यकर्ताहरू विशेष महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिने अपेक्षा राख्छन् भने केहीले यसले कांग्रेसलाई विभाजनतर्फ धकेल्ने चिन्ता व्यक्त गर्छन् । जिल्ला तहमा संगठन निर्माणभन्दा गुटगत ध्रुवीकरण बढ्न थालेको संकेत देखिन थालेको छ । नेताहरूको विवादले स्थानीय तहसम्म असर पु¥याएको भन्दै कतिपय पुराना नेता चिन्तित देखिन्छन् । पुराना नेता सुरेश भुसाल भन्छन्, ‘हामीलाई गुटमा फुटेको कांग्रेस होइन, सग्लो कांग्रेस चाहिएको छ ।’ पार्टीभित्रको शक्ति संघर्ष अब निर्णायक मोडतर्फ अघि बढिरहेको छ । पुस २७ मा आह्वान गरिएको विशेष महाधिवेशन वास्तवमै हुन्छ कि हुँदैन, त्यसले कस्तो स्वरूप लिन्छ र संस्थापन पक्षले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने प्रश्न अहिले टड्कारो बनेको छ । पार्टीका तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्‍तिले संस्थापन पक्षले विशेष महाधिवेशनलाई सहज रूपमा नलिएको देखिन्छ । एकातिर आम निर्वाचनको दबाब, अर्कोतिर आन्तरिक लोकतन्त्रको माग-यी दुईबीच सन्तुलन खोज्नु कांग्रेसका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ । विशेष महाधिवेशनले पार्टीलाई एकताबद्ध गर्छ कि झन् विभाजन गहिरो बनाउँछ भन्ने कुरा आगामी दिनले स्पष्ट गर्नेछ । तर एउटा तथ्य भने स्पष्ट देखिएको छ- नेपाली कांग्रेस अहिले केवल निर्वाचनको तयारीमा मात्र होइन, आफ्नै राजनीतिक पद्धति र भविष्यको दिशाबारे गम्भीर आत्म संघर्षको चरणमा छ ।

कांग्रेसमा शक्ति संघर्ष, विशेष महाधिवेशन आह्वान आज

काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच बुधबार (आज) विशेष महाधिवेशन औपचारिक रूपमा आह्वान गरिँदैछ । विशेष महाधिवेशनको माग गर्दै आएको पक्षले गठन गरेको दोस्रो विशेष महाधिवेशन सचिवालयले आज देशभरका प्रतिनिधिहरूलाई महाधिवेशनका लागि आह्वान गर्न लागेको हो । सचिवालयका तर्फबाट शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग औपचारिक पत्राचारसमेत गरिएको छ । सचिवालयका सदस्य तथा नेता मनोजमणि आचार्यले आजै विशेष महाधिवेशन आह्वान गरिने जानकारी दिँदै पार्टीलाई विद्यमान संकटबाट निकास दिन यो कदम चालिएको बताए । उनका अनुसार पार्टी विधानअनुसार नेतृत्वले समयमै नियमित महाधिवेशन गर्न नसकेपछि विशेष महाधिवेशन अपरिहार्य भएको निष्कर्षमा सचिवालय पुगेको हो । पार्टीलाई विधि र पद्धतिमा फर्काउन विशेष महाधिवेशनको आह्वान गरिएको हो ।  ‘पत्रकार सम्मलेनमार्फत नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्ने र आन्तरिक लोकतन्त्र पुनःस्थापना गर्ने उद्देश्यले विशेष महाधिवेशनको आह्वान गरिएको हो,’ आचार्यले बताए । पछिल्लो समय ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरू आफूहरूको सम्पर्कमा रहेको दाबी आचार्यको छ । संस्थापन समूहले व्यापक दवाव दिए पनि दुइ तिहाई प्रतिनिधि विशेष महाधिवेशनमा उपस्थित हुने जानकारी आएको आचार्यले बताए । विशेष महाधिवेशनको घोषणासँगै कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष थप सतहमा आएको छ । एकातर्फ संस्थापन पक्षले यस कदमलाई असंवैधानिक र पार्टी विभाजनतर्फ उन्मुख प्रयास भन्दै आलोचना गरिरहेको छ भने अर्कोतर्फ विशेष पक्षधरहरूले यसलाई पार्टी बचाउने अन्तिम विकल्पको रूपमा प्रस्तुत गरेका छन् । सहमहामन्त्री बद्री पाण्डेले अहिले विवाद गर्ने समय नभएको बताउँछन् । उनले भने, ‘विशेष महाधिवेशनको पक्षमा रहेका साथीहरूले पनि शान्त भएर सोंचेपछि वातावरण सहज बन्दै जान्छ ।’ राजनीतिक विश्लेषकहरूका अनुसार आजको आह्वानले नेपाली कांग्रेसको आन्तरिक राजनीति नयाँ मोडमा प्रवेश गर्ने संकेत गरेको छ । अब पार्टी नेतृत्वले यसलाई कसरी सम्बोधन गर्छ र विवाद संवादमार्फत समाधान हुन्छ कि टकरावतर्फ जान्छ भन्ने विषय चासोको केन्द्र बनेको छ ।  पछिल्लो समय वरिष्ठ नेता डा. शेखर कोइराला विभाजन रोक्न लागेका छन् । कोइराला पक्षले विशेष महाधिवेशनलाई संकल्प भेलाको रूपमा लैजाने, आगामी संसदीय चुनावका उमेदवारहरू कोइरालासहित सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले आपसी सहमतिमा बाँड्ने र नयाँ नेतालाई आगामी प्रधानमन्त्रीको रूपमा अगाडि लिएर जाने सहितका प्रस्तावहरू ल्याएको छ ।  बुधवार अपरान्ह राष्ट्रियसभाका उमेदवारहरूको मनोनयनपछि वार्तालाई घनिभूत बनाउने तयारी कोइराला पक्षधर नेताहरूले गरेका छन् ।