माओवादीको ‘लालकिल्ला’ भत्काउँदै यातायातविज्ञ गजुरेल संसदीय यात्रामा

काठमाडौं । हिजोसम्म सडकका खाल्डाखुल्डी, सवारी दुर्घटना र अव्यवस्थित यातायात प्रणालीबारे सार्वजनिक रूपमा बारम्बार सरकारलाई प्रश्न गर्ने आवाज अब संसदमा गर्ने भएको छ । टेलिभिजन बहसदेखि नीतिमञ्चसम्म सडक सुरक्षा र पूर्वाधार सुधारका विषय उठाउने यातायात विज्ञ आशिष गजुरेल अब संसद्को रोस्ट्रमबाट नीति निर्माण गर्ने माननीय बन्न पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर-२ मा उम्मेदवार बनेका गजुरेलले दशकौंदेखि वामपन्थीहरूको बलियो पकड रहेको क्षेत्रमा सानदार जित दर्ता गर्दै संसदीय यात्रा सुरु गरेका हुन् ।  मतगणनाको अन्तिम परिणाम अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै नेकपा माओवादी केन्द्र का प्रभावशाली नेता तथा पूर्वसांसद लेखनाथ दाहाल लाई ३ हजार १६० मतान्तरले पराजित गरे । दाहालले १४ हजार ७८० मत पाए। एमाले र कांग्रेसका उम्मेदवारहरू भने निकै पछाडि परे ।  यो क्षेत्र २०६४ सालदेखि माओवादीको गढ मानिन्थ्यो । विगतका चारमध्ये तीनवटा निर्वाचनमा माओवादीले नै जितेको थियो । तर यसपटक देशभर देखिएको रास्वपाको लहरले सिन्धुलीका पुराना राजनीतिक किल्लाहरू भत्काइदियो ।  झन् रोचक कुरा यही क्षेत्रमा २०७४ सालमा माओवादीबाट उनका काका हरिबोल गजुरेल विजयी भएका थिए । यसपटक भने त्यही भूमिमा आशिषले बाजी मारे । उनी राजनीतिमा अचानक देखिएका पात्र मात्र होइनन्, पूर्वाधार र यातायात व्यवस्थापन क्षेत्रमा लामो अनुभव बोकेका प्राविधिक विज्ञसमेत हुन् ।  जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखबाट ट्रान्सपोर्टेसन सिस्टममा मास्टर्स गरेका गजुरेल पेसाले इन्जिनियर हुन् । उनले नेपाल सरकारको लगानी बोर्डमा ७ वर्षभन्दा बढी पूर्वाधार विज्ञका रूपमा काम गरेका छन् । गजुरेलले नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा दुई कार्यकाल नेतृत्व गरेका थिए । उनको कार्यकाललाई समितिको ‘स्वर्णिम समय’ भनेर समेत चर्चा गरिन्छ ।  उनकै नेतृत्वमा काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भई सञ्चालनमा आयो । साथै दोधारा–चाँदनी सुक्खा बन्दरगाह को वर्षौंदेखि रोकिएको निर्माण कार्य अघि बढाउने काम पनि उनले गरे । उनकै कार्यकालमा समितिको वार्षिक आम्दानी ८० करोड रुपैयाँबाट बढेर १८० करोड रुपैयाँ पुगेको थियो, जुन उनको व्यवस्थापकीय दक्षताको उदाहरण मानिन्छ । निर्वाचन अभियानका क्रममा गजुरेलले भावनात्मक नाराभन्दा पनि तथ्यमा आधारित योजना प्रस्तुत गरेका थिए ।  उनका अनुसार, ‘राजनीति शक्ति वा पदको साधन होइन, यो सार्वजनिक सेवा र समस्याको समाधान गर्ने थलो हो ।’ सिन्धुलीलाई पूर्व-पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गसँग जोड्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र डिजिटल पहुँच विस्तार गर्ने स्पष्ट योजनाले मतदाताको मन जितेको विश्लेषण गरिएको छ ।  अहिलेसम्म सडक र मिडियाबाट सरकारलाई सुझाव दिने गजुरेल अब आफै नीति निर्माणको केन्द्रमा पुगेका छन् । यातायात, आपूर्ति व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा उनको अनुभव संसद्मा उपयोगी हुने अपेक्षा गरिएको छ । एक सफल इन्जिनियर, लेखक र प्रशासकको छवि बनाएका गजुरेलको संसदीय यात्राले सिन्धुली-२ मात्र होइन, देशकै पूर्वाधार विकासमा नयाँ दृष्टि थप्ने विश्वास गरिएको छ । रास्वपाको घण्टीसँगै सिन्धुलीमा सुरु भएको परिवर्तन अब राष्ट्रिय नीति निर्माणमा कति गुञ्जिन्छ, त्यसतर्फ धेरैको नजर केन्द्रित भएको छ ।

भावी अर्थमन्त्रीका रुपमा हेरिएका स्वर्णिमको दोस्रो संसदीय यात्रा

दमौली । नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो डा. स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका डा. वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अहिले तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।      डा. वाग्ले ३८ हजार ४० मतसहित विजयी भएका छन् । गत उपनिर्वाचनमा उनी यही क्षेत्रबाट ३४ हजार ९११ मतसहित विजयी भएका थिए ।      गोरखा जिल्लामा जन्मिएका वाग्ले सामान्य परिवेशमा हुर्किएका हुन् । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उनी उच्च शिक्षाका लागि विदेश पुगे । अर्थशास्त्रमा गहिरो अध्ययन गर्दै उनले  ‘पिएचडी’ पूरा गरे ।      अध्ययनका क्रममा उनले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गरेका थिए । यही अध्ययनले उनलाई अन्तरराष्ट्रियस्तरका नीति बहसमा सहभागी गरायो ।      उच्च शिक्षापछि डा. वाग्लेले विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरे । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममा उनले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा काम गरे ।      स्वदेश फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाले । त्यहाँ रहँदा देशको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार र सुशासनका विषयमा महत्त्वपूर्ण योगदान दिएका थिए ।  लामो समय नीतिगत क्षेत्रमा काम गरेपछि डा. वाग्लेले नीति मात्र बनाउने होइन, त्यसलाई कार्यान्वयन गर्ने राजनीतिक नेतृत्व पनि आवश्यक रहेको महसुस गरे । यही सोचका साथ उनी रास्वपामार्फत राजनीतिमा प्रवेश गरेका थिए । उनको राजनीतिमा प्रवेशलाई धेरैले ‘प्राविधिक नेतृत्वबाट राजनीतिक नेतृत्वतर्फको यात्रा’ का रूपमा हेरेका छन् ।      तनहुँ क्षेत्र नं १ बाट निर्वाचन लड्दा उनले विकास, सुशासन, रोजगारी र आर्थिक सुधारका विषयलाई मुख्य ‘एजेन्डा’ बताए । मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले नयाँ सोच र परिणाममुखी राजनीतिका कुरा राखे ।  डा. वाग्ले आज नेपाली राजनीतिमा ‘नीतिगत क्षमता भएको नेतृत्व’ का रूपमा चिनिन्छन् । अर्थतन्त्र र विकास नीतिमा उनको अनुभवले संसद्मा फरक आवाज थप्ने अपेक्षा गरिएको छ । उनलाई धेरैले बालेन्द्र शाह नेतृत्व सरकारको अर्थमन्त्रीका रुपमा पनि हेरेका छन् । रासस

कबिन्द्र बुर्लाकोटीको युवा अभियानदेखि संसद्सम्मको यात्रा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । क्षेत्र नं २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो । कुल १ लाख ८ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ५४ हजार १४७ मतमात्र सदर र ३ हजार ९ मत बदर भएको थियो । विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गरे ।  बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार प्रकाशचन्द्र दवाडीले भन्दा १४ हजार ९६० बढी मत प्राप्त गरे । दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी नेकपा (एमाले) का मिलन गुरुङ (चक्रे मिलन) ले ३ हजार ८७ मत मात्र पाए । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्यमध्येका हुन् । विसं २०७९ असारमा पार्टी स्थापना हुँदा उनी केन्द्रीय सदस्य थिए भने दुई महिनामै सहमहामन्त्री र दुई वर्षमै महामन्त्री बन्न सफल भए । अहिले पनि उनी रास्वपाका महामन्त्री हुन् । उनको जन्म २०३६ साल मङ्सिरमा बुबा राजाराम र आमा डम्मरकुमारी बुर्लाकोटीको सन्तानका रुपमा धादिङको सल्यानटारमा भएको थियो । पाँच वर्षको उमेरमा गोरखाको पालुङ्टार-९ मा बसाइँ सरी आएका अभिभावकले उनलाई धर्मोदय माविमा कक्षा १ मा भर्ना गरिदिएका थिए । गोरखा नगरपालिका-१२ स्थित महेन्द्र मावि कुन्दुरटारबाट एसएलसी पूरा गरेपछि नयाँ जीवनको सुरुआत गर्न उनी राजधानी काठमाडौं प्रवेश गरे । कमजोर आर्थिक अवस्थाबाट गुज्रिएका उनी एसएलसी उत्तीर्ण गरेपछि सरस्वती क्याम्पसमा कमर्स पढ्न सुरु गरे । स्नातक तह अध्ययन गर्ने सिलसिलामा भने उनी युवा सशक्तिकरणका विभिन्न अभियानको संलग्न भए । फाइनान्समा स्नातकोत्तर गरेका उनले अस्ट्रेलियाको न्यू साउथवेल्स युनिभर्सिटीबाट ह्युमनराइट्स एन्ड बिजनेस कोर्स अध्ययन गरे ।  मलेसियाको आइकम इन्स्टिच्युटबाट उनले ‘युथ लिडरसिप’ कोर्स पूरा गरे । त्यसपछि २०५७ सालमा उनले भ्रष्टाचार विरोधी गतिविधि गर्ने संस्था युनाइटेड युथ नामक संस्था दर्ता गरी संस्थापक अध्यक्ष पदमा रहेर युवा सशक्तिकरण अभियान सुरु गरे । त्यसपछि २०६४ सालमा उनकै नेतृत्वमा देशभरका युवाको संस्थाहरूको सञ्जाल ‘नेपाल युवा संस्था सञ्जाल’ गठन भएको थियो । त्यस लगत्तै उनले २०६९ सालतिर फेरि अर्को युवाहरूको छाता संस्था ‘राष्ट्रिय युवा महासङ्घ’ दर्ता गरेका थिए । यसमा देशभरकै युवा संस्थाहरू आबद्ध थिए । ‘यो महासङ्घमा आबद्ध रहेका धेरै युवा अहिले मसँगै सांसद भएका छन् । यही बीचमा संयुक्त राष्ट्र सङ्घको नेपाल च्याप्टरको युथ एड्भाइजर भएर सन् २००८ देखि २०१२ सम्म काम गरेँ । एउटा बेसाएर खाने गरिब परिवेशमा गुज्रिएको म पछि युवा गतिविधिमा सरिक भएँ । तीस वटा देश घुम्ने मौका पाएँ,’ उनले भने ।  पार्टीका लागि जिउज्यान दिएको प्रतिफल अहिले देश घण्टीमय भएको उनको बुझाइ छ । अहिले देशभरका नागरिकको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्नाका पछाडि आफूहरूको इमान्दारिता, क्षमता, दक्षता भएको उनको भनाइ छ । ‘नयाँ पार्टी त जति पनि थिए तर हामीमै किन यति धेरै विश्वास र भरोसा भयो भने हामीमा काम गर्न सक्ने क्षमता छ भनेर सबैले बुझेका छन् । अब यो विश्वास र भरोसालाई सदासर्वदाका लागि टिकाइराख्नु हाम्रो चुनौती हो,’ उनले भने ।

‘म्यागासेसे’ को संसद् यात्रा

काठमाडौं । सामाजिक अभियन्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म वि.सं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका पुनले गत माघ ४ गते पदबाट राजीनामा दिएर जन्मथलोमा चुनाव लडेका थिए । अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट वि.सं २०४९ मा स्नातकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका-७ मा रहेको टिकोट माविका प्रअ प्रदीप पुनले बताए । वि.सं २०५८-६४ को समयमा पोखरा, काठमाडौं लगायत सहर बजारमा सहज रुपमा कम्प्युटर र इन्टरनेट सुविधा नभएको अवस्थामा पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयहरूमा कम्प्युटर शिक्षाको सुरुआत र तार रहित इन्टरनेट सुविधा विस्तार गरेका थिए । ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गरेकोमा सन् २००७ मा एसियाको नोबल पुरस्कारका रुपमा चिनिने ५० हजार डलरको म्यागासेसे पुरस्कार प्राप्त गरे । चौरी पालन, माछा पालन, तरकारी खेती गरेर ग्रामीण क्षेत्रका विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने अवधारणा विकास गरेका पुनको अगुवाइमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, नागी, मोहरेडाँडा, टिकोट, डाँडाखर्क र खोप्रा लेकमा सामुदायिक लज सञ्चालन भएको छ । चौरी र सामुदायिक लजको आम्दानी विद्यालय सञ्चालनमा परिचालन हुने गरेको छ । पुनको अगुवाइमा विसं २०६० को दशकमा टेलिमेडिसिन सेवा सञ्चालन गरेर गाउँका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई सहर बजारमा रहेका चिकित्सको परामर्शमा सेवा दिने अभ्यास गरेका छन् । नागीमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको थियो ।  उनले नेतृत्व गरेको हिमालयन संरक्षण संस्थाले नागी, बरङजा, झिँ लगायतका ठाउँमा नर्सरी स्थापना गरि बिरुवा उत्पादन र वृक्षारोपण हुँदै आएको छ । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी युवा वैज्ञानिकलाई प्रोत्साहन एवं सहयोग गर्न व्यक्तिगत रुपमा लेखनाथ र पोखरामा रहेको २८ रोपनी जग्गा बिक्री गरी स्रोत जुटाएका थिए । आफ्नै जीवन कथाको पुस्तक बेचेर भएको १२ करोड रुपैयाँ आम्दानी वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा परिचालन गरेको छ । पुनले सन् २००२ मा अशोका फेलोसिप, २००७ मा रोमन म्यागासेसे पुरस्कार, इन्टरनेट हलअफ फेम, नेपाल सरकारबाट भवन कृत्तिरत्नसहित १० लाख रुपैयाँ नगद र गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड प्राप्त गरेका छन् । पुनको राष्ट्रिय, अन्तर्राष्ट्रिय छवि र व्यक्तित्वले मत परिवर्तनको खोजीमा रहेका म्याग्देली मतदाताको मन जितेर राजनीतिक दलहरूको साङ्गठनिक शक्तिमाथि हाबी हुँदै फराकिलो मतान्तरका साथ ऐतिहासिक जित निकालेका म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक विष्णुप्रसाद आचार्यले बताए । एमालेका हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ मतान्तरले पछि पारेर जित हासिल गरेका पुनले २२ हजार ८५० मतका साथ जित निकालेका छन् । ‘राजनीतिक कार्यकर्ताको दबदबा, नेता-कार्यकर्तासँगको सम्बन्ध र पुराना राजनीतिक सम्बन्धका कारण मतदाता खुल्न नसक्ने अवस्थामा भने जस्तो काम गर्न नसकेको झोकमा मन्त्री पद छाडेर चुनाव लड्न आएका महावीरलाई चुनौती हुने आँकलन र पूर्व अनुमान मिलेन,’ सहायक प्रअ आचार्यले भने, ‘यसपालि लोभ, आश्वासन, डर, धम्की र भ्रमले अपेक्षाकृत काम गरेन, बरु यसले महावीरलाई जित्न झन सहज बनाएको देखियो ।’ महावीरको जितले म्याग्दीमा राजनीतिक दल तथा नेताहरूलाई समाजमा कार्यकर्ता बाहेक पनि मानिस छन् र चुनाव जित्नको लागि सङ्गठन, शक्ति र पैसा नै चाहिने रहेछ भन्ने धारणाबाट मुक्त हुन सन्देश दिएको आचार्यले बताए । अब गठन हुने प्रतिनिधिसभा सदस्यमा दलविहीन सांसद पुनमात्र बनेका छन् । पुनले विद्यालय, विश्व विद्यालय, प्राविधिक शिक्षामा राजनीतिकरण र स्वार्थ समूहको प्रभावलाई अन्त्य गरेर शैक्षिक सुधारका लागि नीति निर्माण गर्न अगुवाइ गर्ने प्रतिक्रिया दिए ।  सामान्य शैलीमा मतदातासँग अनौपचारिक हिसाबले कुराकानी गर्नुका साथै साथै सामाजिक सञ्जालमार्फत चुनाव प्रचार गर्नुभएका महावीरले विजय उत्सव मनाउने र खुसियाली साट्ने नाममा तडकभडक प्रदर्शन र अनावश्यक खर्च नगर्न अनुरोध गरे । महावीरले अपनाएको फरक शैलीको चुनाव प्रचार र मतदाताबाट आर्थिक सहयोग पाएको विषयले चर्चा पाएको छ । 

एमाले र कांग्रेसको किल्लामा रास्वपाको झण्डा, ‘बैतडीका बालेन’ले रचे इतिहास

काठमाडौं । भनिन्छ, ‘राजनीतिमा धैर्यता र समयको पहिचान सबैभन्दा ठूलो शक्ति हो ।’ बैतडीको पाटनमा जन्मिएका हरिमोहन भण्डारीको राजनीतिक जीवनलाई हेर्ने हो भने यो भनाइ ठ्याक्कै मेल खान्छ ।  ४ दशक लामो राजनीतिक आरोह-अवरोह, विभिन्न दलको अनुभव र स्थानीय जनतासँगको निरन्तर सामिप्यताले उनलाई अन्ततः देशको सर्वोच्च नीति निर्माण तह ‘संसद्’ सम्म पु¥याएको छ । फागुन २१ गते बैतडीको राजनीतिक इतिहासमा एउटा नयाँ मोड आयो । वि.स. २०७० सालदेखि लगातार नेकपा एमालेले जित्दै आएको यो क्षेत्रमा यसपटक नयाँ शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो झण्डा गाड्यो । र, त्यो झण्डा बोक्ने सारथी बने ५७ वर्षीय हरिमोहन भण्डारी । उनले आफूलाई प्रचारप्रसारमा बैतडीको बालेन भन्दै आएका थिए ।  वि.स. २०२३ साल कात्तिक १५ गते जन्मिएका उनलाई राजनीतिमा लाग्न कतै टाढा जानु परेन । आफ्नै बुवा लक्ष्मणसिंह भण्डारीसँग उनले राजनीति सिके । जो तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा सक्रिय थिए । बुबाकै प्रेरणाले हरिमोहन २०३५ सालमै राप्रपाबाट राजनीतिमा होमिए । स्नातक तहसम्मको अध्ययन सकेका भण्डारीमा युवावस्थादेखि नै समाज रूपान्तरणको हुटहुटी थियो । पञ्चायतकाल र त्यसपछिको बदलिँदो राजनीतिक परिवेशसँगै भण्डारी २०५८ सालमा नेपाली प्रजातान्त्रिक कांग्रेसको सदस्य बने । उनी नेपाली कांग्रेसको राजनीतिमा करिब २३ वर्ष सक्रिय रहे । यो अवधिमा उनी तीन पटकसम्म महासमिति सदस्य बनेर संगठन निर्माणमा खटिए । तर, उनको राजनीतिक यात्रा सधैं सहज रहेन ।  २०७४ को प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट टिकट पाए पनि उनी पराजित भए । २०७९ को निर्वाचनमा त उनलाई पार्टीले टिकट नै दिएन । तर, जनतामाझ लोकप्रिय रहेका भण्डारी रोकिने पक्षमा थिएनन् । उनले स्वतन्त्र उम्मेदवारी दिए ।  परिणाम रोचक आयो, उनले कांग्रेसका आधिकारिक उम्मेदवार वीरबहादुर विष्टले भन्दा बढी ११ हजार १८ मत प्राप्त गरे । यद्यपि, एमालेका सुरेन्द्रबहादुर पालसँग उनी झिनो अन्तरले पराजित भए । तर, त्यो चुनावले एउटा सन्देश दियो, बैतडीमा हरिमोहनको व्यक्तिगत प्रभाव दलभन्दा माथि छ । रास्वपामा प्रवेशसँगै ‘ब्रेक-थ्रु’ कांग्रेसभित्र आफ्नो मूल्यांकन नभएको महसुस गरेका भण्डारीले अन्ततः ‘पुरानो घर’ त्याग्ने निर्णय गरे । उनी देशव्यापी लहर सिर्जना गरिरहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भए । लामो राजनीतिक अनुभव, सामाजिक–सांस्कृतिक कार्यमा सक्रियता र पुराना दलप्रतिको वितृष्णालाई भण्डारीले आफ्नो शक्तिको रूपमा प्रयोग गरे । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा उनले एमाले र कांग्रेस जस्ता स्थापित शक्तिहरूलाई चुनौती मात्र दिएनन्, एमालेको बलियो मानिएको ‘किल्ला’ समेत ध्वस्त पारिदिए । यो जित केवल भण्डारीको मात्र थिएन, यो बैतडीमा परिवर्तन चाहने आम नागरिकको जित थियो । संसदीय यात्राको ढोका खुलेसँगै भण्डारीका काँधमा जिम्मेवारीको भारी थपिएको छ । चुनावी प्रचारका क्रममा उनले बैतडीका पीडा र अभावलाई केन्द्रसम्म पु¥याउने वाचा गरेका थिए । ‘म केवल संसदमा कुर्सी ओगट्न मात्र आएको होइन,’ भण्डारीले भने, ‘बेरोजगारीको समस्याले थलिएको बैतडीका युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न र यहाँको सामाजिक–सांस्कृतिक उत्थानका लागि म भरमग्दुर प्रयास गर्नेछु ।’ एउटा अनुभवी राजनीतिज्ञ, जो राप्रपा र कांग्रेसको धारबाट खारिएर अहिले नयाँ विचार बोकेको रास्वपामा आइपुगेका छन्, उनको यो यात्रा कति फलदायी होला ? त्यो त भविष्यले बताउला । तर, बैतडीका जनताले एउटा आशलाग्दो ‘प्रतिनिधि’ पाएका छन्, जसले दशकौंदेखिको राजनीतिक एकाधिकारलाई तोड्दै नयाँ आशाको घण्टी बजाएको छ ।

सञ्चारकर्मबाट संसदमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन् । ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१  मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६  प्राप्त गरेका छन् । कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर-२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए । यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेका थिए । अन्तरिम सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा चार महिना काम गरेका खरेल पूर्वसञ्चारकर्मी हुन् । जेन–जी आन्दोलनपछिको सरकारमा उनको भूमिका प्रशंसनीय थियो । पूराना दललाई चुनावमा सहभागी गराउन पनि उनले सक्रिय भूमिका खेलेका थिए ।  उनले करिब साढे दुई दशक नेपाली सञ्चार क्षेत्रमा काम गरेको अनुभव छ । विशेष गरेर उनले टेलिभिजन प्रस्तोत्ता भएर काम गरे । २०५६ सालमा केएटिएच एफएम र इमेज च्यानल टेलिभिजनबाट सुरु भएको खरेलको पत्रकारिता यात्रा २५ वर्षभन्दा लामो छ ।  २०५९ असार २९ गतेदेखि निरन्तर एउटै संस्थामा आबद्ध रहे । एउटा संस्थामा लामो समय काम गरेर राम्रो प्रभाव पारेको उनको यो एउटा राम्रो विशेषता हो । उनले टेलिभिजन कार्यक्रम हटसिट सञ्चालन गरेर चर्चामा आएका थिए । मन्त्री बनेपछि पनि पत्रकार सुरेश रजकलाई सहिद घोषणा, पत्रकारिता क्षेत्रसँग सम्बन्धित नीतिगत पहल गरे ।  उनले अन्तरिम सरकारको मन्त्रीबाट राजीनामा दिएर रास्वपामा प्रवेश गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।  दोलखाको कालिञ्चोक गाउँपालिका-सुनखानी भदौरेमा २०३९ साल साउन २२ गते जन्मिएका जगदीश खरेलले कालिनाग माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आए । खरेलले आरआर क्याम्पसबाट पत्रकारितामा आईएदेखि एमएसम्म अध्ययन पूरा गरे ।  औपचारिक अध्ययनमै सीमित नरही हाल उनी अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि अध्ययनरत छन् । 

संसदीय यात्रामा पाँच पूर्वप्रहरी, सबै रास्वपाबाट निर्वाचित

काठमाडौं । पूर्वप्रहरीहरूले संसदीय यात्राको सुनिश्चिता गरेका छन् । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा केही पूर्वप्रहरीहहरू निर्वाचित भएका हुन् ।  पूर्व प्रहरीहरू विभिन्न जिल्लाका फरक–फरक क्षेत्रमा निर्वाचनमा होम्मिएका थिए । अधिकांश प्रहरीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर विजय हासिल गरेका छन् । कानुन कार्यान्वय गरेकाहरू पुनः नीति बनाउने ठाउँमा पुगेका छन् । जागिरे जीवनमा रहँदा प्रहरीहरूले कानुनको पालना गरेर सेवा प्रवाह गरेका थिए । अब भने कानुन बनाउने ठाउँमा पूर्वप्रहरी अधिकारीहरू पुगेका छन् । ओखलढुंगाबाट रास्वपाबा उम्मेदवार पूर्व एआईजी विश्वराज पोख्रेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर विजयी भएका हुन् । उनी ५ मतले निर्वाचित भएका हुन् । झापा–४ बाट विजयी बन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुप्रसाद ढकालले संसद भवनतर्फ पाइला अगाडि बढाएका छन् । ढकालले ४३ हजार ६ सय ३१ मत पाएर निर्वाचित भएका हुन् । ढकाल २२ वर्ष नेपाल प्रहरीमा कार्यरत रहे । उनी सईको जिम्मेवारीबाट अवकाश भएका हुन् ।  नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापाले कपिलवस्तु–२ बाट उनी २७ हजार ६३५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरे।  त्यस्तै, गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । उनी डिएसपीबाट अवकाश भएका थिए । अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यस्तै, काठमाडौं महानगरका प्रमुख रहेर काम गरिसकेका राजुनाथ पाण्डे पनि सांसद बनेका छन् । उनी काठमाडौं प्रहरीको प्रमुखबाट राजीनामा दिएर काठमाडौं–३ मा चुनावी मैदानमा उत्रएका थिए । उनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई पराजित गरेका हुन् । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याएका हुन् । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन् ।   

सरकारसँग चित्त नबुझेर एआईजीबाट राजीनामा दिए, रास्वपामा लागेको तीन महिनामै सांसद बने

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ओलखढुङ्गाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई पराजित गर्दै ५ मतले निर्वाचित भएका हुन् । अन्तिम नतिजा घोषणा भने हुन बाँकी नै रहेको छ । लुइँटेलले १३ हजार ९४८ मतामात्र पाएका छन् ।  नेपाली कम्युनिस्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएर तेस्रो भएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेर चौथो स्थानमा सीमित बनेकी छन् ।  नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले २०७९ मा पदबाट राजीनामा दिएका थिए । आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेपछि पोखरेल असन्तुष्ट बन्दै पदबाट राजीनामा दिएका थिए ।  महानिरीक्षकको दौडमा रहेका उनलाई पाखा लगाउँदै तत्कालीन सरकारले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले पनि धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले राजीनामा दिएका थिए ।    मंसिरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे लगत्तैबाट उनी चुनावी अभियानमा जुटेका थिए । उनले पार्टीबाट टिकट पाएपछि ओखलढुङ्गामा सिर्जनात्मक ढङ्गबाट प्रचारप्रसार गरेका थिए ।  २०२३ सालमा ओखलढुंगामा जन्मिएका पोखरेल २०४९ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । इन्स्पेक्टर हुँदा उनले काठमाडौं उपत्यकाका तीन जिल्लाको अनुसन्धान गर्ने मुख्य जिम्मेवारी पाएको अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेका थिए ।  एसपी हुँदै उनी प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी परिसर काठमाडौंको ट्वाइसी भएर काम गरे। एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हाले । उनले ट्राफिक प्रहरी, विमानस्थल सुरक्षा, लागूऔषध नियन्त्रण ब्यूरो जस्ता युनिटको नेतृत्व गरे ।  उनले लाइबेरिया र हाइटीमा दुई वर्ष मिसनमा काम गरेको अनुभव पनि उनीसँग छ । प्रहरी बाहेक उनीसँग थप दुई क्षेत्रको अनुभव छ । २०३९ सालमा रुम्जाटार माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि उनी काठमाडौं छिरे ।  नेपाल ल क्याम्पसबाट २०४६ सालमा बीएल उत्तीर्ण गरे । अनि लोकसेवा पास गरेर न्याय सेवा अन्तर्गत डिट्ठाको जागिरे भए । डिट्ठा हुनुअघि पोखरेलले विकास सेवातर्फको खरिदारमा स्थायी नाम निकालेका थिए । विकास सेवामा पनि काम गरेका उनले प्रहरी सेवा बाहेक न्याय र विकासतर्फ गरी ७ वर्ष काम गरेको अनुभव छ । समग्रमा प्रहरीमा २९ वर्ष सहित उनले ३६ वर्ष सरकारी सेवाका तीन क्षेत्रमा काम गरेका छन् ।   

दोस्रो पटक संसदमा सोविता, हालसम्मकै उच्च मतले विजयी

चितवन । चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम अत्यधिक मतसहित विजयी भएकी छन् । गौतम ५९ हजार २ सय ७७ मत ल्याएर विजयी भएकी हुन् । उनी ३८ हजार ६६२ मतान्तरले विजयी भएकी हुन् ।  उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई पराजित गरेकी हुन् । रेनुले २० हजार ६ सय १५ मत ल्याएर दोस्रो भइन् ।  यसअघि काठमाडौं-२ बाट जितेकी गौतम अहिले चितवन-३ बाट विजयी भएका हुन् । २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी गौतमले कानुनमा स्नातक गरेकी छन् । अधिवक्ता गौतमसँग टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता भएर काम गरेको अनुभव छ ।

ललितपुर-१ मा रास्वपाका महर्जनले २०७९ को बदला लिए, को हुन् उनी ?

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबरालाई २३ हजार ३७३ मत पाउँदै पराजित गरेका हुन् । कांग्रेसका जबराले १३ हजार ५२० मत मात्रै पाए भने नेकपा एमालेका चेतनाग सञ्जलले ६ हजार ५४६ मत पाए ।  ४७ वर्षीय महर्जन ललितपुर महालक्ष्मी नगरपालिका, सिद्धिरोडका स्थायी बासिन्दा हुन् । उनी मंगलमान महर्जनका छोरा हुन् । बुद्धरत्नले रत्नराज्य क्याम्पसबाट बीएसम्मको औपचारिक शिक्षा लिएका छन् । राजनीतिमा आउनुअघि विभिन्न सामाजिक संस्थामा रहेर काम गरेको अनुभव उनीसँग छ । रास्वपाबाट स्थानीयस्तरमा सक्रिय रहेका बुद्धरत्न २०७९ को चुनावमा ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनले ८ हजार ६६६ मत ल्याएका थिए ।  

२८ वर्षको उमेरमा पूर्वअर्थमन्त्रीलाई हराएर संसदमा सुलभ

काठमाडौं । रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल विजयी भएका छन् । प्रतिनिधसभा निर्वाचनमा उनी ५६ हजार ५५० मत पाएर विजयी भएकाहुन् । उनले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन् । पौडेलले १२ हजार ८६१ मत मात्रै पाए भने नेपाली कांग्रेसका चुन्नप्रसाद शर्माले ९ हजार ३९२ मत पाए ।  २८ वर्षीय खरेल अधिवक्ता हुन् । कानूनको विद्यार्थी रहेका उनले सर्वोच्च अदालतमा विभिन्न मुद्दाहरुमा बहस र पैरवी गर्दै आएका थिए ।  उनले केपी शर्मा ओलीद्वारा गरिएको असंवैधानिक संसद विघटनको विरुद्ध कानुनको विद्यार्थी र सबैभन्दा कान्छा रिट निवेदकको रूपमा सर्वोच्च अदालतमा रिट दायर गरी बहस गर्दै राष्ट्रिय तहमा व्यापक चर्चा कमाएका थिए । राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभूषित खरेलले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको विरुद्धमा दर्ता भएको रिटमा मस्यौदा तयारी तथा न्यायिक सुशासनका पक्षमा सक्रिय भूमिका खेलेका थिए ।  राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसदहरू विरुद्ध निर्वाचन आयोगद्वारा गरिएको अधिकार मिचाइ र जरिवाना कारबाही विरुद्ध बहस गर्दै उनले कानुनी हस्तक्षेपमार्फत न्यायको संरक्षण गरेका थिए ।  उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको चक्रवर्ती हाबी कलेज दुवैमा एलएलएम प्रवेश परीक्षामा शीर्ष स्थान हासिल गरेका थिए । शैक्षिक उत्कृष्टताको मानक स्थापित गर्दै उनी विश्वविख्यात हार्वर्ड, मिचिगन र यूसी बर्केली विश्वविद्यालयहरूमा एलएलएमका लागि छनोटमा परे । उनले मिचिगन ल स्कूलबाट पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर हासिल गरेका छन् ।  

काठमाडौंको सुरक्षा कमाण्डपछि संसदीय यात्रामा, कुलमानलाई हराएर राखे रेकर्ड

काठमाडौं । काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएर दोस्रो बने ।  यो क्षेत्रमा कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३ हजार ८१६ मत ल्याए । नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए । उनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख भएर काम गरिसकेका छन् । उनले करिब डेढ दशकभन्दा बढी समय सार्वजनिक सुरक्षा र कानून कार्यान्वयनसँग सम्बन्धित क्षेत्रमा सेवा दिएका छन् । उनको कार्यशैली कडा अनुशासन, निर्णय क्षमता र प्रशासनिक नेतृत्वका कारण चर्चित छ ।  पाण्डे काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख बनेपछि उनी सार्वजनिक रूपमा धेरै चर्चामा आए । विशेष गरेर उनी बालेनसँग नजिक भएपछि चर्चामा आएका थिए ।  उनले सार्वजनिक स्थानमा अतिक्रमण नियन्त्रण, सडक व्यवस्थापन, फुटपाथ व्यापार नियन्त्रण, महानगरका नियम कार्यान्वयन जस्ता कामहरूको नेतृत्व गरेका थिए । सामाखुसी घर भएका उनले शैक्षिक योग्यता स्नातकोत्तर पास रहेको छ । 

पाँचौं पटक संसदमा प्रचण्ड, पूर्वप्रधानमन्त्रीबाट बन्न सक्छन् एक्ला विजेता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । उनी पूर्वी रुकुमबाट विजयी भएका हुन् । उनले ११ हजार २८२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।  उनले नेकपा एमालेका उम्मेदवार लिलामणी गौतमलाई ७ हजार ३४९ बढी मतान्तरले पराजित गरे । गौतमले ३ हजार ९३३ मत पाएका हुन् ।  विद्यार्थी जीवनमै राजनीतिक चेतना बोकेका प्रचण्डले कक्षा १० पढ्दादेखि नै राजनीतिक गतिविधिमा रुचि देखाएका थिए। वि.सं. २०२८ सालमा कम्युनिस्ट आन्दोलनसँग औपचारिक रूपमा आबद्धता जनाएका हुन् । त्यसपछि उनको राजनीतिक यात्रा निरन्तर अगाडि बढ्दै गयो ।  २०४६ सालको जनआन्दोलन हुनुअघि उनी मशालका महासचिव भइसकेका थिए । त्यसपछि नेपालको राजनीतिक इतिहासलाई नै मोड दिने घटनामध्ये एक वि.सं. २०५२ साल फागुन १ गते सुरु भएको सशस्त्र आन्दोलनको नेतृत्व उनले गरे । त्यस्तै, २०५८ सालमा प्रचण्ड नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बने भने सोही वर्ष उनले जनमुक्ति सेनाको सर्वोच्च कमान्डरको जिम्मेवारी पनि सम्हाले ।  उनी पहिलो पटक २०६५ सालमा प्रधानमन्त्री बनेका थिए भने त्यसपछि २०७३ र तेस्रो पटक २०७९ मा प्रधानमन्त्री बनेका थिए ।  वि.सं. २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं–१० बाट निर्वाचित भएका उनी वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–५ बाट निर्वाचित भएका थिए ।  २०७४ मा चितवन–३ बाट निर्वाचित भएका उनी २०७९ मा गोरखाबाट निर्वाचित भएका थिए । यस पटक उनी रुकुम पूर्वबाट विजयी भएका हुन् । यो उनको संसदमा पाँचौं पटक हो । यस पटक उनी वियजी हुने सायद एक्ला पूर्व प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढेको छ । 

वैकल्पिक राजनीति हुँदै प्रदेश र दोस्रो पटक संघीय सदनमा विराजभक्त

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन काठमाडौं-८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका हुन् । उनले २४ हजार ५९२ मत पाएर विजयी भएका हुन् । २०७९ को चुनावमा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए ।  त्यसअघि उनी बागमती प्रदेश सभाका सदस्यका रुपमा पनि काम गरिसकेका छन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीबाट श्रेष्ठ समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । विराजले काठमाडौंमा भएको गुठी विधेयक विरुद्धको आन्दोलन, अकुपाई टुँडिखेल लगायतका आन्दोलनको नेतृत्व गरेका थिए । प्रदेश र संघीय सदनमा हुँदा पनि चर्को आवाजमा नागरिकको आवाज उठाउँदै आएका थिए ।   

दोस्रो पटक संसदमा शिशिर, शिक्षा क्षेत्रमा दख्खलता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७११ मत प्राप्त गरेर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाए ।  खनालको संसदको यात्रा यो दोस्रो पटक हो । २०७९ को चुनावमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।  खनाल शिक्षा क्षेत्रका जानकार मानिन्छन् । उनी यसअघि छोटो समयका लागि शिक्षा मन्त्री समेत बनेका थिए ।  टिच फर नेपालका संस्थापकमध्येका एक रहेका खनाल दुर्गम क्षेत्रको शिक्षा सुधारमा काम गर्दै आएका थिए ।  ‘टिच फर नेपाल’ को नेतृत्व गरेका खनालले राजनीतिमा आउनुअघि सार्वजनिक शिक्षा सुधारको अभियान चलाएका थिए । ४७ वर्षीय खनाल टोखा १० गोंगबुका बासिन्दा हुन् । उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् ।  २०७४ को चुनावपछि उनी तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकार भएका थिए । उनले महात्मा गान्धीको विचारमा आधारित सर्वोदय अभियानमार्फत श्रीलङ्का, भारत, अमेरिकालगायतका ठाउँहरुमा सामाजिक विकास र प्राकृतिक प्रकोप व्यवस्थापनका उल्लेखनीय काम गरेका छन् । 

३२ वर्षीय योगेशको संसदमा दोस्रो पटक इन्ट्री, यस्तो छ व्यावसायिक र राजनीतिक पृष्ठभूमि

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी भएका छन् । उनी मस्ताङ–१ बाट विजयी भएका हुन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । ३२ वर्षीय गौचनले ३ हजार ३०७ मत पाएर विजयी भएका हुन् । उनले प्रतिस्पर्धीको भन्दा १ हजार ५ सय १ मतले जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । उनी नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा हुन् ।   योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन् । उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् । उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन् । उनी पार्टीको साविक लेते गाउँ सभापति, जिल्ला सदस्य हाल कांग्रेस गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि भएर नेपाली कांग्रेसमा सक्रिय बन्दै आएका छन् ।  सानै उमेरदेखि राजनीतिमा सक्रिय थकालीले जिल्लामा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । नेविसंघको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थकाली जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा भएका थिए । उनले होटल कालोपानी, लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा ट्राभल्स एण्ड टुर्स प्रालि एमडी, मुस्ताङमा किवी खेतीलगायत अर्गानिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् । 

वैकल्पिक राजनीतिबाट उदाएकी रञ्जुलाई शिशु र सांसद उपहार

काठमाडौं । रञ्जु दर्शना ३० वर्षको उमेरमा सांसद बनेकी छन् । बिहीबार भएको निर्वाचनमा उनले १५ हजार ४५५ मत पाएर जित वियजी हासिल गरिन् ।  ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए ।  रञ्जु वैकल्पिक राजनीतिबाट उदाएकी हुन् । १७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा सक्रिय बनिन् । देशमा बन्द हड्ताल हुनु हुँदैन भनेर उनी सडकमा निस्किइन् । स्व. उज्जल थापाको नेतृत्वमा सक्रिय बनेर काम गरिन् । पछि सो पार्टी विवेकशील साझा बन्यो ।  रञ्जु काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा हुन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्नि । तर, विजयी हुन सकिन्न । उनी पराजित भएपनि उनको चर्चा देशभर भयो । उनी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन् । उसो त उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवार बनेकी थिइन् तर चुनाव जित्न सकिनन् । त्यसबेला उनले जम्मा ६०० मत पाएकी थिइन् । २०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन् । रास्वपाबाटै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनिन् र चुनाव जितिन् ।  विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रञ्जुले यो जितलाई देश र परिवर्तन पक्षको जितका रूपमा व्याख्या गरेकी छिन् । उनले ’घण्टी’ चुनाव चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा शुभकामना दिने शुभेच्छुक र साथीहरू प्रति हार्दिक आभार एवं नमन प्रकट गरेकी छिन् । उनले आफ्नो विजयलाई जनताको परिवर्तनप्रतिको चाहनाको परिणाम भएको बताएकी छिन् ।  चुनाव प्रचार प्रसारमा पनि उनी ९ महिनाको गर्व बोकेर हिडेकी थिइन् भने मतदानको दिनमा पनि शीशु बोकर उनी मतदान केन्द्रमा पुगेकी थिइन् । उनलाई एकै पटक शिशु र सांसद उपहार मिलेको छ ।