
काठमाडौं । सरकारले राजधानीको चक्रपथमा मोनोरेल सञ्चालन गर्ने भएको छ । मनोरेल सञ्चालन तथा आवश्यक पुर्वाधार तयारीको संभाव्यता अध्ययनको काम सुरु गर्न लागेको हो । चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन र काठमाडौं महानगरपालिकाकाबीच संभाव्यता अध्ययनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । चाइना रेल्वेले काम सुरु गरेको ७ महिनाभित्र सम्भाब्यता अध्ययन गरिसक्ने छ ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चाइना रेल्वेका कार्यकारी प्रमुख लि होङ्गकीले मनोरेलको सम्भाब्यता अध्ययन सम्बन्धी एमओयुमा शुक्रबार हस्ताक्षर गरेका छन् ।
काठमाडौं महानगरपालिकाले चक्रपथमा मोनोरेल सञ्चालनका लागि आशयपत्र (एलओआई) का लागि आब्हान गरेको थियो । चक्रपथमा मोनोरेल सञ्चालन, आवश्यक पुर्वाधार विकास, आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्ने भएको छ ।