काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अघि सारेको १०० दिनको अवधिको काम प्रगति सार्वजनिक गरेका छन् ।

दुई महिनाको अवधिमा मुख्य काममा ९५ प्रतिशतको हाराहारीमा प्रगति भएको पर्यटनमन्त्री अधिकारीले शुक्रबार मन्त्रालयमा आयोजित समीक्षा कार्यक्रममा बताए ।
अधिकारीले गत चैत १६ गते पत्रकार सम्मेलन गरी १०० दिनमा गरिने ११० वटा कामको प्रतिबद्धतासहित सार्वजनिक गरिएका थिए ।
“सरकारको १०० दिनको कार्ययोजना अन्तर्गतकै एउटा पाटो पर्यटन मन्त्रालय मातहतको कामको प्रगति विवरण हो, ९५ प्रतिशत काम सम्पन्न भएको छ । एक÷दुई दिनमा ९७ प्रतिशत नै काम हुनेछ”, उउले भने ।
सरकार आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको भन्दै मन्त्री अधिकारीले देश र जनताका लागि सामाजिक न्यायमा आधारित विकासको अनुभूत हुने गरी जिम्मेवार भएर काम गर्न जरुरी भएको बताए ।
क्षेत्रीय तथा अन्तरप्रादेशिक उडान सेवाका लागि पहल गरिने र नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाइने तथा निजी विमान सेवा प्रदायक कम्पनीलाई प्रभावकारी सेवाका लागि समन्वय गरिने मन्त्री अधिकारीको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय गौरवका पाँच आयोजना, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाको पुनर्निमाण, हवाई सुरक्षा, पर्यटन पूर्वाधार विकास तथा प्रवद्र्धन एवं मन्त्रालयको नीतिगत तथा कानूनी सुधारका सम्बन्धमा १०० दिनभित्र सम्पादन गरिनेको प्रमुख कार्ययोजनामा समेटिएको थियो ।
कार्यप्रगतिअनुरुप मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो एयर ट्राफिक चाप न्यूनीकरण गर्न विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउन शुरु गरिएकोछ । यसबाट ‘एयर स्पेस’ बढेको छ ।
अन्तर्राष्ट्रिय उडानमा असर पुगेकाले आन्तरिकतर्फका ३० प्रतिशत उडानलाई स्थानान्तरण गर्न काभ्रेपलाञ्चोकको नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण प्रक्रिया अघि बढेको छ ।
उक्त विमानस्थल निर्माणका लागि उपयुक्त नागिडाँडा हुने भनी सिफारिशसहितको प्रतिवेदन रायसहितको प्रतिवेदन हालै प्राविधिक समितिले मन्त्रालयलाई बुझाएको र सो स्थान छनोट भई प्रारम्भिक कार्य शुरु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै अन्तर्राष्ट्रिय विमानस्थल सुधारतर्फ यात्रुलाई थप सहज बनाउन अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा चारवटै ब्यागेज वेल्ट नियमित सञ्चालन गरिएको र एसी जडान भएको तथा आन्तरिक टर्मिनलतर्फ यात्रु प्रतिक्षालयमा थप यात्रु बस्ने सुविधा तथा एसी जडान गरिएको कार्यप्रगतिमा उल्लेख छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई गति दिन विमानस्थल निर्माण मोडालिटी तयारीको निम्ति गहन छलफल भइरहेको र विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति गराइएको छ । कोरियन कम्पनी एलएमडब्लुले बुझाएको विस्तृत सम्भाव्य अध्ययन ९डिएफएस० प्रतिवेदन सरकारले ग्रहण गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग, टर्मिनल भवनलगायत सिभिल निर्माण कार्यको भौतिक प्रगति ३८ प्रतिशत सम्पन्न भएको र विमानस्थल निर्माण एवं मुआब्जा वितरणको कार्य प्रभावकारी बनाइएको छ ।