काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो ५ वर्षभित्र काठमाडौंदेखि वीरगञ्जसम्म रेल सेवा सञ्चालनमा आउने बताएका छन् । भारत सरकारसंग रेल सञ्चालनका लागि सहमति भइसकेको बताउदै उनले भने “आउदो ५ वर्षभित्र वीरगञ्जबाट काठमाडौंमा रेल आउने छ ।” “सरकारले गर्न सक्ने भएर बोलेको बताउदै आउदो ५ वर्षभित्र काठमाडौंमा रेल आउने छ, यो ख्यालख्याल हैन ।”
उनले केरुङ–काठमाडौं–पोखरा रेल सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए । केरुङबाट काठमाडौं हुदै सिधै पोखरासम्म रेल पुग्ने प्रधानमन्त्रीले बताए । उनले पुर्वपश्चिम र उत्तरदक्षिण धेरै स्थानबाट रेल सञ्चालन हुने जानकारी दिए । व्यवस्थापिका संसदको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने “अब केही वर्षपछि हामी सामान ढुवानी रेलबाट गर्ने छौं ।”
हिन्द महासागरबाट नेपालमा पानी जाहाज आउने उनले ठोकुवा गरे । उनले भारतसंग सम्झौता भइसकेकाले छिट्टै हिन्द महासागरबाट नेपालमा पानीजाहाजबाट सामान ढुवानी गर्ने बताए । आफुले जाहाज आउने कुरा गर्दा बाल्टीनको पानीमा कागजको जाहाज बनाएर आफुमाथि मजाक गरेको गुनासो गर्दै उनले हिन्द महासागरबाट पानीजाहाज आउने दावी गरे ।
प्रधानमन्त्रीले भने “यो राती सुतेको बेला हैन, दिउसै देखेको सपना हो ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाल अब ल्याण्डलक हैन्, सगरमाथा समुन्द्रमा जोडियो भनेको कुरा स्मरण गर्न प्रधानमन्त्रीले आग्रह गरे ।
भुपरिवृेष्ठित स्वीट्जरल्याण्ड र मंगोलियाले पानी जाहाज चलाएको जानकारी दिदै उनले प्रश्न गरे “नेपालले किन चलाउन नसक्ने ?”