साल्ट ट्रेडिङलाई पत्याएनन् चिनी उद्योगीले, कारण यस्ताे छ

<p>काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई उद्योगीहरुले चिनी बिक्री गर्न मानेका छैनन् । गएको चार महिनादेखि स्वदेशी चिनी उद्योगहरुबाट कर्पोरेशनले पटक–पटक चिनी खरिद गर्न खोजेकोमा हालसम्म उद्योगहरु बिक्री गर्न तयार भएका छैनन् । कर्पोरेशनले चिनी खरिद गर्न सकेको छैन । कर्पोरेशनले चिनीको मूल्यमा हुन सक्ने उत्तरचढावलाई नियन्त्रण गर्न तथा भविष्यमा हुन सक्ने अभावमा राहत दिनको [&hellip;]</p>

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई उद्योगीहरुले चिनी बिक्री गर्न मानेका छैनन् । गएको चार महिनादेखि स्वदेशी चिनी उद्योगहरुबाट कर्पोरेशनले पटक–पटक चिनी खरिद गर्न खोजेकोमा हालसम्म उद्योगहरु बिक्री गर्न तयार भएका छैनन् । कर्पोरेशनले चिनी खरिद गर्न सकेको छैन ।

कर्पोरेशनले चिनीको मूल्यमा हुन सक्ने उत्तरचढावलाई नियन्त्रण गर्न तथा भविष्यमा हुन सक्ने अभावमा राहत दिनको लागि विगतदेखि नै वर्षैपिच्छे चिनी स्टकमा राख्ने गरेको छ । गएको वर्ष ५० हजार टन चिनी स्टकमा राखेको थियो । यो वर्ष पनि आन्तरिक र बाह्रयगरी सोही परिमाण चिनी स्टक राख्ने तयारी गरिरहेको कर्पोरेशनका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले बताए ।

यद्यपि उनको अनुसार पटक–पटक अन्तरिक उत्पादन चिनी खरिद गर्न टेण्डर आह्वान गरे पनि चिनी उद्योगी व्यवसायीहरु चिनी बिक्री गर्न आएका छैनन् । ‘हामीले माघयता २ पटक डेण्डर खोलिसकेका छौं,’ उनले भने ‘तर अहिलेसम्म कुनै चिनी उद्योगीहरु टेण्डर प्रक्रियामा आएका छैनन् ।’

सरकारले चिनीमा भन्सारदर बढाउने निर्णय गर्न अघिदेखिनै कम्पनीले टेण्डर आह्वान गरेको उनको भनाइ छ । कम्पनीले आइतबार मात्रै पनि तेस्रो पटक स्वदेशी उद्योगहरुबाट १० हजार टन चिनी खरिदको लागि टेण्डर आह्वान गरेको छ । त्यसको लागि असार ११ गतेसम्ममा उद्योगीहरुले टेण्डर भर्न आउन सक्ने छन् ।

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले सरकारले चिनीको समर्थन मूल्य नतोकेको कारणले साल्ट ट्रेडिङलाई चिनी बिक्री नगरेको बताए । ट्रेडिङलाई चिनी बिक्री गर्न अघि सरकारले चिनीको समर्थन मूल्य तोक्नु पर्ने उनको माग छ । ‘उखुको मूल्य भने प्रतिक्वीटल ५३६ रुपैयाँ तोकिसकेको छ,’ उनले भने ‘तर अहिलेसम्म चिनीको मूल्य तोकिएको छैन ।’

स्वदेशमै उत्पादन भएको चिनीमा उखुमा लागेको लागत, बैंकको लोन, श्रम खर्च लगायत जोड्ने हो भने प्रतिकिलो करिब ७२ रुपैयाँको हाराहारी पर्छ । तर छिमेकी मुलुक भारत लगायतबाट भित्रीने चिनीको त्योभन्दा धेरै सस्तो प्रतिकिलो ५५ रुपैयाँ छ ।

ती देशहरुमा सकारले अनुदान बढी दिएको कारण उत्पादन लागत सस्तो हुने र मूल्य घटेको उनको तर्क छ । तर नेपालमा त्यस्ता अनुदान कम भएकोले लागत धेरै पर्न गइ मूल्य बढेको उनको भनाइ छ । ‘जबसम्म सरकारले लागत अनुसार समर्थन मूल्य तोक्दैन हामी साल्ट ट्रेडिङलाई चिनी बिक्री गर्न सक्दैनौं,’ उनले थपे ‘समर्थन मूल्य तोके जतिपनि चिनी ट्रेडिङलाई दिनेछौं ।’

चिनी उद्योगीहरुको अनुसार यो वर्ष मुलुकमा १ लाख ७५ हजार टन चिनीको उत्पादन भएको छ । समर्थन मूल्य नतोकिएको र लागत अनुसार भाउ पाउन नसक्दा अझै ७० प्रतिशतभन्दा बढी स्टकमा छ । ‘१ लाख ३० हजार टनभन्दा बढी चिनी स्टकमा छ,’ उनले भने ।

अहिले चिनी उद्योगी तथा मिलहरुले किसानलाई करिब ७० प्रतिशत रकम भुक्तानी गर्न सकेका छैनन् । करिब ८ अर्ब रुपैयाँ बराबरको रकम उखु किसानीहरुले पाउनु पर्ने देखिन्छ ।

हाल मुलुकमा १३ ओटा चिनी उद्योगहरु सञ्चालनमा छन् । ठुलो धनरासी खर्च गरी लगानी भएको उक्त चिनी उद्योगबाट प्रत्यक्ष करिब १ लाख उखु कृषक परिवार लाभान्वित भएका छन् भने अप्रत्यक्ष रुपमा करिब २ लाखको संख्यामा रोजगारी उपलब्ध भएको छ ।

Share News