काठमाडौं । मुलुकमा हालसम्म ८८ हजार ३७ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । सोमध्ये २९ हजार ६ सय ३९ किलोमिटर सडक केन्द्रिय निकायले निर्माण गरेको हो भने बाँकी ५८ हजार ३ सय ९८ किलोमिटर स्थानीय स्तरबाट निर्माण गरिएको हो । हालसम्म निर्माण भएको कुल सडकमध्ये जम्मा १७.९६ प्रतिशत अर्थात १५ हजार ८ सय १५ किलोमिटर मात्रै कालोपत्रे गरिएको छ ।
केन्द्रिय निकायले निर्माण गरेको २९ हजार ६ सय ३९ किलोमिटर सडकमध्ये १३ हजार १ सय ४९ किलोमिटर सडक कालोपत्रे भएको छ । जुन केन्द्रिय निकायले बनाएकोमध्ये ४४.३ प्रतिशत हुन्छ । स्थानीयस्तरमा निर्माण भएको सडकमध्ये जम्मा २ हजार ६ सय ६६ किलोमिटर मात्रै कालो पत्रे गरिएको छ, जुन कुल स्थानीय सडकको ४.६ प्रतिशत मात्रै हुन्छ ।
प्रदेश नम्बर १ मा ११ हजार ८ सय ९९ किलोमिटर सडक स्थानीय स्तरबाट निर्माण भएको छ । जहाँ ५०६ किलोमिटर कालोपत्रे गरिएको छ भने २४१६ किलोमिटर ग्राभेल र ८९७७ किलोमिटर कच्ची सडक छ । प्रदेश नम्बर २ मा स्थानीय स्तरबाट निर्माण गरिएको ५६९५ किलोमिटर सडकमध्ये १२७ किलोमिटर मात्रै कालोपत्रे गरिएको छ । बाँकी २७९७ किलोमिटर कच्चि छ भने २७७१ किलोमिटर सडक ग्राबेल गरिएको छ ।
३ नम्बर प्रदेशमा १४ जार ९०० किलोमिटर सडक स्थानीय स्तरबाट तयार पारिएको छ । त्यहाँ ८७१ किलोमिटर कालोपत्रे छ भने ११३७१ किलोमिर कच्ची र २६५८ किलोमिटर ग्राबेल गरिएको छ । ४ नम्बर प्रदेशमा स्थानीयस्तरबाट निर्माण गरिएको १०९७० किलोमिटर सडकमध्ये ३८३ किलोमिटर कालोपत्रे गरिएको छ । ९३०८ किलोटिर कच्ची सडक निर्माण हुँदा १ हजार २ सय ७९ किलोमिटर सडक ग्राबेल गरिएको छ ।
प्रदेश नम्बर ५ मा ८६०३ किलोमिटर सडक स्थानीयस्तरबाट निर्माण भएको छ । त्यहाँ ६०५ किलोमिटर कालोपत्रे छ भने ६५३३१ किलोमिटर कच्ची र २६६८ किलोमिटर ग्राबेल गरिएको छ । कर्णाली प्रदेशमा भने जम्मा २६०७ किलोमिटर सडक स्थानीयस्तरबाट निर्माण भएको छ र जम्मा ४९ किलोमिटर मात्रै कालोपत्रे गरिएको छ । बाँकी २४०४ किलोमिटर कच्ची र १५४ किलोमिटर ग्राबेल गरिएको छ ।
सात नम्बर प्रदेशमा भने ३७२४ किलोमिटर सडक छ । त्यहाँ १२६ किलोमिटर कालोपत्रे गरिएको छ भने २७०४ किलोमिटर कच्ची र १०१ किलोमिटर ग्राबेल गरिएको छ ।