काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे, इसेवा फोन पेमेन्ट प्रालिले नेपाली क्रिकेट राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्राण्ड एम्बेष्डरमा नियुक्त गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच इसेवाकोतर्फबाट एफ वान सफ्टका प्रेसिडेन्ट विश्वास ढकाल र उपकप्तान ज्ञानेन्द्र मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा एफ वान सफ्टका प्रेसिडेन्ट ढकालले क्रिकेट लगायत अन्य खेलकुदमा इसेवाको शुरुदेखिनै लगाव रहेको बताए । साथै कम्पनीले विभिन्न स्तरमा सहकार्य गर्दै आइरहेको जानकारी दिए । ‘नेपाली खेलकुद र खेलाडीहरुसँगको सहकार्यलाई निरन्तरता दिने क्रममा मल्ललाई ब्राण्ड एम्बेष्डरमा नियुक्त गरेका हौं,’ उनले भने ‘उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्राण्ड एम्बेष्डरका रुपमा नियुक्त गरी सहकार्य गर्न पाउँदा खुसी लागेको छ ।’
कार्यक्रममा उपकप्तान मल्लले इसेवासँग जोडिन पाउदा खुसी व्यक्त गरे । विगतदेखि नै इसेवा कम्पनीले नेपालको क्रिकेट क्षेत्रमा विभिन्न योगदान पुर्याउदै आएको उनको भनाइ छ । कम्पनीले यसअघि पनि नेपाली क्रिकेट राष्ट्रिय टिमका युवा क्रिकेटर प्रदिप ऐरी, अभिनास कर्ण तथा मेहवुब अलामसँग समेत सहकार्य गरेको थियो ।
इसेवा कम्पनी क्रिकेट क्षेत्रको लागि राष्ट्रिय तथा अन्तराष्टिय क्रिकेट म्याच तथा टुर्नामेन्टहरुमा पनि आवद्ध हुदै आएको छ । जसमा प्रधानमन्त्री कप २०७४ र ०७५, आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनशीप लगायत खेलको व्यवस्थापन गरेको थियो ।

यसअघि इसेवाले अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा भएका खेल र डिपिएल टु खेलको टिकट बिक्री तथा व्यवस्थापन लागयतमा पनि सहयोग पुर्याएको कम्पनीको भनाइ छ ।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानी महशुल भुक्तानी, इन्टरनेटको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका २०० भन्दा बढी सेवाहरुमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।
इसेवामा हाल ४५ वटा बैंक सदस्य रेहका छन् । उक्त बैंकबाट इसेवामा रकम जम्मा गर्न, बैंक खातामा रकम पठाउन सकिन्छ । कम्पनीको अनुसार हालसम्म इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढीले सेवा लिइरहेका छन् ।
इसेवाका देशभर ३० हजारभन्दा बढी एजेन्ट छन् । इसेवाको मोबाइल एप्स प्रयोग गर्नेको संख्या मात्रै ७ लाखभन्दा बढी र खाता खोलेर कारोबार गर्नेको संख्या पनि उतिनै संख्यामा रहेको कम्पनीको भनाइ छ ।