काठमाडौं । आगामी आर्थिक वर्ष ०७५/०७६ मा सरकारले झण्डै २६ लाख जनसंख्यालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । यो संख्या चालु आर्थिक वर्षको भन्दा ४५ हजार ५१९ ले बढी हो ।
आगामी आवमा जेष्ठ नागरिक, एकल तथा विधुवा महिला, पुर्ण तथा आंशिक अपाङ, लोपन्नमुख जाती र वाल संरक्षण अनुदान गरी २५ लाख ९८ हजार ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो ।आगामी आर्थिक वर्षमा मात्रै सरकारले ४१ अर्ब १५ करोड रुपैयाँ भत्ता वितरण गर्ने भएको छ ।
चालु आवमा यस्तो भत्ता लिनको संख्या २५ लाख ५२ हजार ४९२ जना थियो । एकै वर्ष भत्ता लिनको संख्या साढे ४५ हजार जना थप भएका छन् । सामाजिक सुरक्षा भत्ता लिनको संख्या वर्षेनी बढ्दै गएको सरकारी तथ्याँकले देखाएको छ । जेष्ठ नागरिकले मासिक २ हजार रुपैयाँ भत्ता पाउदै आएका छन् । यो भत्ता पाउनेको संख्या आगामी वर्ष १२ लाख ८० हजार २८४ जना पुग्ने छ । यो वर्ष १२ लाख ३७ हजार ६०६ जना रहेका छन् ।
यस्तै एकल तथा विद्युवा महिलाको संख्या बढेर ६ लाख ७३ हजार २४३ जना पुगेका छन् । अपाङको संख्या १ लाख ४ हजार ५०३, लोपन्नमुख जाती २४ हजार ८९७ र वालवालिका ५ लाख १५ हजार ८४ जना रहेका छन् ।
जेष्ठ नागरिकलाई मासिक २ हजार, एकल र विधुवालाई १ हजार, लोपन्नमुख जातीलाई १ हजार र वालवालिकालाई मासिक ८०० रुपैयाँ भत्ता वितरण गर्ने भएको छ । आगामी वर्षदेखि सरकारले जेष्ठ नागरिकको १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने भएको छ । जेष्ठ नागरिकलाई राज्यले संरक्षण गर्नुका साथै सन्तानले अनिवार्य रुपमा हेरचाह गर्नुपर्ने कानूनी व्यवस्था गर्न लागेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
यही अवस्थामा संख्या बढ्दै गए आउदो १ दशकमा यस्तो भत्ताका लागि मात्रै सरकारले ३ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ । गत आर्थिक वर्षमा ३८ अर्ब रुपैयाँ सामाजिक सुरक्षा भत्तामा खर्च भएकोमा यो आर्थिक वर्षमा बढेर ४० अर्ब र आगामी वर्ष अझ बढ्ने सरकारी तथ्याँकले देखाएको छ ।