बझाङ । जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् ।विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको हो । शुरुवाती सडक निर्माण कार्य गर्दा सात तोला सुन बैंकमा धरौटी राखी रजवार नारायण सिंहको नेतृत्वमा निर्माण कार्य शुरु गरिएको स्थानीयको भनाइ छ ।
कुनै दिनमा चैनपुरबाट भारी बोकेर दैनिकी चलाइ राख्न एकदमै गाह्रो हुन्थ्यो । अहिले सडक आउँदा गाउँका सर्वसाधारण गरीब जनताले घरमै सस्तो मूल्यमा चामल पाएर केही राहत भएको बताए ।
“सडक निर्माण गर्दा धेरै दुःख पायौं, जस्मा सात तोला सुन बैंकमा राखी डोजरको सम्झौता गरेका थियौं । अहिले विभिन्न निकायबाट करीब २९ लाख रुपैयाँ समितिमा आएको छ । यसमध्ये डोजर मालिकलाई दिनुपर्नेलगायत साहुबाट तीनका दरले ब्याजमा ऋण निकालेर अहिले ३४ लाख रुपैयाँको भर्पाइ बनाइएको छ,” रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण समितिका सचिब रघुवीर सिंहले बताए।
सरकारले गर्न नसक्ने काम एक व्यक्तिले घरघडेरी धरौटी राखी सबै जनतालाई यातायातको सुविधा दिनुभएकोमा उनले धन्यवाद दिए।
“शुरुवातमा विभिन्न व्यक्तिबाट २० लाख रुपैयाँ जम्मा भयो । स्थानीय तहबाट सबै गरी १८ लाख रुर्पैयाँ सहयोग प्राप्त भयो । अहिलेसम्म उधारो ४३ लाख रुपैयाँ तिर्न बाँकी छ । बल्लबल्ल अहिले धेरैपछि सफलताको एक बिन्दुमा पुगेका छौँ । अहिले यस क्षेत्रका जनताले यसै बाटोबाट सेवा सुविधा लिएका छन्,” तलकोटी राजा (रजवार) नारायण सिंहले बताए ।
जिल्लामा सडक निर्माण कार्य धमाधम सरकारी लगानीमा भइरहेका छन् तर यस क्षेत्रका स्थानीयले केही वर्ष अगाडि सुन धरौटी राखी र एक व्यक्ति बराबर १ लाखदेखि ४ लाख रुपैयाँसम्म व्यक्तिगत लगानी गरेर छ किलोमिटर सडक निर्माण गरेका छन् ।
अहिलेसम्म ६४ लाखमा रुपातोलादेखि तलकोट खौला सडकखण्डमा खर्च गरेर निर्माण गरेका छन् । यस क्षेत्रमा पनि सरकारले गर्ने काम स्थानीय जनताले गरेका छन् । जनताका समस्यालाई ध्यान दिने सरकारको अनुभूति पाइयोस्, सिंहले भने । रासस