
काठमाडौं । अर्थ मन्त्रालयले बोनस सेयर र हकप्रद सेयरमा लाभकर असुल्ने निर्णयमाथि अध्ययन गर्न एक समिति गठन गरेको छ ।
मन्त्रालयले मंगलबार वित्तिय व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा अध्ययन समिति बनाएको हो ।
समितिमा मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव रामशरण पुडासैनी, आन्तरिक राजश्व विभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधी सदस्य रहनेछन् ।
समितिले आगामी १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने समय पाएको मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए ।
समितिले आवश्यकता अनुसार सेयर बजारका लगानीकर्तालाई समेत बोलाएर छलफल गर्नेछ । लाभकरको विरोध गर्दै लगानीकर्ताले मंगलबार सेयर कारोबार ठप्प पारेपछि सरकारले समिति गठन गरेर सम्बोधनको प्रयास गरेको छ ।