काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले हाल भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले कामनपा–१५ बज्र होटल नजिक बसेर सट्टेबाजी खेलाउँदै गरेका काठमाडौँ म्हैपीका २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई छ लाख ९९ हजार रुपैयाँ नगदसहित सोमबार पक्राउ गरी आज(मंगलबार) सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता मोहनकुमार थापाले उनीहरुले विश्वकप फुटबलमा रकम बाजी राख्न लगाई खेल खेलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए।
प्रहरीले उनीहरुसँग छ लाख ९९ हजार रुपैयाँ र चार थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका तीनैजनासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए । रासस