मध्य भोटेकोसी जलविद्युतले १ अर्ब ४४ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

<p>काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, प्रवद्र्धक कम्पनीका कर्मचारी र ऋण लगानीकर्ता संस्थाका कर्मचारीलाई १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, प्रवद्र्धक कम्पनीका कर्मचारी र ऋण लगानीकर्ता संस्थाका कर्मचारीलाई १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ बराबरको २ करोड ९४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएपनि पहिलो चरणमा संचय कोषका संचयकर्ता, प्रवद्र्धक कम्पनीका कर्मचारी र ऋण लगानीकर्ता संस्थाका कर्मचारीलाई बिक्री गर्न लागेको हो ।

१० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र १५ प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्ने छ । प्रथम चरणमा संचय कोषका संचयकर्ताका लागि १९.५ प्रतिशतले हुन आउने १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता सेयर निष्कासन गर्ने छ । यस्तै संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि साढे ३ प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

यस्तै दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाका लागि १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर तथा तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीलाई १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्नको लागि सम्झौता भएको भोटेकोसीले जनाएको छ ।

भोटेकोसीले आईपीओ निष्कासन गर्न ग्लोबल आइएमई क्यापीटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, एस क्यापिटल लिमिटेड, सिबिआईएल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड. र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग संयुक्त निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ ।

छैठौ वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासनको बाटो खुला भएको हो । कुल पुँजीको ४९ प्रतिशत सर्वसाधारणको लगानी हुने छ । ५१ प्रतिशत संस्थापक स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।

कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजना आउँदो ३ वर्षमा सम्पन्न हुने छ । नेपाल विद्युत प्राधिकरण, चिलिमे हाइड्रोपावर लिमिटेड र सर्वसाधारणको लगानीमा निर्माण शुरु भएको आयोजना आँउदो सन् २०१९ को जुन ३० मा सम्पन्न हुने गरी ९ अर्ब रुपैयाँ अनुमानित लागतमा शुरु भएको आयोजनाको काम जुरेपहिरो, भूकम्प र सीमा नाकावन्दीले गर्दा ढिलाइ भएपछि लागत बढेर १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

३४ मेगावाट क्षमताका ३ वटा युनिटबाट वार्षिक ५४ करोड २२ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाको कुल हेड २३५ मिटर छ ।

Share News