काठमाडौं । आर्थिक वर्ष २०७४/२०७५ को अन्त्य सँगै सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार खुलेदेखिनै बढ्दो ट्रेण्डमा रहेको सो दिनको बजार अन्तत १२.२७ अंकले बढेर १२१२ अंकमा पुगेको छ ।
बजारमा नेप्से परिसूचकसँगै सेयर कारोबारमा पनि वृद्धि भएको छ । सो दिनको बजारमा कूल ३१ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १२ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(आइतबार)को बजारमा १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार १५९ कम्पनीको ११ लाख ७६ हजार ५९२ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार दुई कम्पनीको सबैभन्दा बढी प्रमोटर सेयर बिक्री भएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड र नबिल बैंक लिमिटेडको २ करोड रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएका छन् । त्यस्तै, अन्य ५ कम्पनीको १ करोड रुपैयाँ बढीको सेयर कारोबार भएका छन् ।
त्यस्तै, सबैभन्दा बढी बीमा समूह १४७ अंकले उकालो लागेको छ । अन्य समूह २.६७ अंकले ओरालो लागेको छ भने कारोबारमा आएका बाँकी समूह उकालो लागेका छन् । फाइनान्स र ट्रेडिङ सामान्य अंकले बढेको छ भने बाँकी दोहोरो अंकले बढेका छन् ।