काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । सोमबार दोहोरो अंकले उकालो लागेको बजार मंगलबार सामान्य ४.७७ अंकले बढेर ११९९.२७ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजार ०.४० प्रतिशतले बढेको छ ।
कारोबार खुलेदेखि उकालो लाग्ने क्रममा रहेको बजार १२१२ अंकमा पुगेर ओरालो लागेको छ । अन्तत कारोबार बन्द हुँदा परिसूचक ११९९.२७ अंकमा अडेको छ ।
दिनभरको कारोबारमा १६० कम्पनीको ११ लाख ८९ हजार कित्ता सेयर २९ करोड ४१ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । यस बैंकको एक करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको पनि एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
सामान्य अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । नयाँ नेपाल लघुवित्त विकास बैंक र भार्गव विकास बैंकका लगानीकर्ताले एकैदिन क्रमशः ९.९९ र ९.६० प्रतिशत कमाएका छन् । भार्गव विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेपछि लगानीकर्ता यस कम्पनीमा आकर्षित भएका हुन् । कम्पनीले ५.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३७ प्रतिशत रहेको छ ।
बजारमा सबैभन्दा बढी बेष्ट फाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यसैगरी, प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले एकैदिन ९.८५९ प्रतिशत गुमाएका छन् ।
मंगलबार कारोबार आएका दुई समूह बाहेक बाँकी समूह हरिया भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ४९ अंकले उकालो लागेको छ । त्यसैगरी, जिवन बीमा समूह २० र निर्जीवन बीमा समूहको परिसूचक १९ अंकले बढेको छ । उता उत्पादनमूलक र माइक्रोफाइनान्स समूह क्रमशः १९ र ०.७ अंकले राताम्मे भएका छन् ।