काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । करिब एक साता अघिदेखि सामान्य घटबढ भएको बजारमा आइतबार भने १६.६९ अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको सो दिनको परिसूचक अन्तत १.४१ प्रतिशतले घटेर ११६३ अंकमा झरेको छ ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले मौद्रिक नीति पुँजीबजार मैत्री नहुँदा सेयर बजार निरन्तर घटिरहेको बताएका छन् । उनले अझै घट्ने सम्भावना रहेको बताए।
आइतबार कुल १६२ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । अन्य बाँकी १४५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८७ प्रतिशत कमाएका छन् । उता मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले एकैदिन १० प्रतिशत गुमाएका छन् ।
बजारमा ७ लाख ८१ हजार कित्ता सेयर कुल २५ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन ३ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९१० रुपैयाँ रहेको छ ।
त्यस्तै, बजारमा दुई समूहबाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी लाईफ इन्स्योरेन्स समूहको सूचक १९३ अंकले घटेको छ । त्यस्तै, नन् लाइफ इन्स्योरेन्सको सूचक १०५ अंकले घटेको छ । उत्पादनमूलक ६३, माइक्रोफाइनान्स ३१, हाइड्रोपावर २१, विकास बैंक १३ र बैंकिङ समूह ११ अंकले ओरालो लागेका छन् । उता होटल र ट्रेडिङ समूह क्रमशः ६.७३ र २.११ अंकले उकालो लागेका छन् ।