काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । कारोबार शुरु भएको केही समय ओरालो लागेको बजार अन्तत ६.६१ अंकले बढेर ११८०.९८ अंकमा पुगेको छ । अछिल्लो दिनको तुलनामा मंगलबारको बजार ०.५६ प्रतिशतले बढेको छ ।
दिनभरको कारोबारमा १६० कम्पनीको १८ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कुल ७ लाख ३२ हजार ७२५ कित्ता सेयर किनबेच भएको छ ।
सामान्य अंकले बढेको बजारमा पनि आरम्भ माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०२ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ५.३६ प्रतिशत गुमाएका छन् ।
बजारमा होटल र अन्य समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ५० अंकले उकालो लागेको छ ।