काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ हजार जरिवाना गर्नुपर्ने माग गरेका छन् । संबिधान विपरिद प्रदेश सभामा प्रवेश गरेकाले ओलीलाई ५ हजार जरिवाना गर्नुपर्ने माग उनले राखेका हुन् ।
नेता लालले प्रदेश सभा सदस्यबाहेक अरु व्यक्ति प्रदेश सभामा अनधिकृत रुपमा छिरे ५ हजारसम्म जरिवाना गर्ने व्यवस्था संविधानमै भएकोले ओलीलाई संविधानको धारा १८४ बमोजिम उक्त जरिवाना गर्नुपर्ने माग गरेका हुन । यद्धपी उनले प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुहुँदैन भन्ने आफूहरुको कुनै मान्यता नरहेको पनि स्पष्ट पारे ।
उनले थपे,‘देशको प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुपर्छ । तर, यसको लागि संविधानमै व्यवस्था गर्नुपर्छ । नियमावालीमा आवश्यक व्यवस्था गर्नुपर्छ । अनधिकृत रुपमा प्रदेश सभामा यसका सदस्यबाहेक अरुले छिर्न र बोल्न पाउँदैन् ।’
उनले अघि थपे-‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेश सभामा अनधिकृत रुपमा प्रवेश गरेर सम्बोधन गर्नुभयो । जुन कुरा संविधान, कानून र नियामावलीमा व्यवस्था गरिएको छैन । प्रधानमन्त्रीले बोल्न पाउनुपर्छ । प्रदेश सभामा बोल्नै पाउनुहुन्न भन्ने मेरो कुरा होईन । उहाँले हिजो प्रदेश नम्बर २ मा राजा÷महाराजाको अनुभुति दिनेगरि सम्बोधन गर्नुभयो । यो संविधान विपरित छ ।’