
काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । सामान्य घटबढ भइरहेको बजारमा बिहीबार नेप्से परिसूचक ९ दशमलब ३९ अंकले बढेर ११८१ दशमलब ६९ अंकमा पुगेको छ । लगातार घटेको बजारमा आज केही मात्रामा सुधार भएको देखिन्छ ।
कारोबार खुलेदेखि निरन्तर उकालो लागेको बिहीबारको बजारमा २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६७ कम्पनीका ७६ लाख ९९ हजार कित्ता सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी एनआइसी एशिया बैंकको २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड रुपैयाँ बढीका प्रमोटर सेयर कारोबार भएका छन् ।

बिहीबार कमाउने १० उत्कृष्ट कम्पनीहरू
झण्डै दोहोरो अंकले बढेको बजारमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस संस्थाका लगानीकर्ताले एकैदिन ८.८८ प्रतिशत कमाएका छन् । त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्था, पूर्णिमा विकास बैंक र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले क्रमशः ५.७७, ५.३३ र ५ प्रतिशत कमाएका छन् ।
दिनभर १६७ कम्पनीको कारोबार भएको बजारमा १३९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको भएको छ । बाँकी २८ कम्पनीका लगानीकर्ताले भने सामान्य अंकले गुमाएका छन् । बिहीबार सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४२ प्रतिशत गुमाएका छन् ।
बिहीबार होटल बाहेक कारोबारमा आएका सबैसमूह हरिया भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ६२ अंकले बढेको छ । त्यस्तै, जिवन बीमा र माइक्रोफाइनान्स समूह क्रमशः २६ र १४ अंकले उकालो लागेका छन् । होटल समूह २.३१ अंकले ओरालो लागेको छ भने बाँकी समूहको सूचक सामान्य एकल अंकले बढेका छन् ।