काठमाडौं । साताको दोश्रो दिन पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सोमबारको नेप्से परिसूचक १५.९८ अंकले उकालो लागेर १२०६.२६ अंकमा पुगेको छ । कारोबार खुलेदेखि बढ्ने क्रममा रहेको बजार साढे १ बजेपछि केही बेर ओरालो लागेको थियो । त्यसपछि कारोबार बन्द हुँदा नेप्से अघिल्लो दिनको तुलनामा झण्डै १६ अंकले बढेको हो ।
दोहारो अंकको वृद्धि आएको बजारमा कारोबार रकममा पनि केही सुधार भएको देखिन्छ । सोमबारको बजारमा कुल १६९ कम्पनीको ५४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
बजारमा दुई कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतको वृद्धि भएको छ । ती मध्ये लक्ष्मी बैंकका लगानीकर्ताले ९.९६ प्रतिशत र काबेली विकास बैंकका सेयरधनीले ९.६४ प्रतिशत कमाएका छन् । काबेली विकास बैंकले ३५ प्रतिशत बोनस दिने घोषणा गरेपछि लगानीकर्ताहरु यस कम्पनीको सेयरप्रति आकर्षित भएका हुन् । बैंकले सोमबार बिहान मात्रै नेप्सेमा सो मात्राको बोनस दिने घोषणा सार्वजनिक गरेको थियो ।