पुराना ५०० र १००० दरका भारु साटन सरकारी तहबाट पहल हुनुपर्ने राष्ट्र बैंकको भनाई, ८ करोड भारु नेपाली बैंकमा

<p>काठमाडौं । नेपाल र भारतबीच सरकारी स्तरमा सहमति भए मात्र बैंकमा रहेको प्रतिवन्धित पुराना ५०० र १००० दरका भारतीय नोट (भारु) साटिन सक्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । भारतीय रिजर्व बैंक र नेपाल राष्ट्र बैंकबीच भएका अहिलेसम्मका वार्तामा कुनै निष्कर्ष ननिस्केकाले अब दुई देशका सरकारबीच नै उक्त विषयमा छलफल हुनुपर्ने राष्ट्र बैंकका अधिकारीको भनाई [&hellip;]</p>

काठमाडौं । नेपाल र भारतबीच सरकारी स्तरमा सहमति भए मात्र बैंकमा रहेको प्रतिवन्धित पुराना ५०० र १००० दरका भारतीय नोट (भारु) साटिन सक्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । भारतीय रिजर्व बैंक र नेपाल राष्ट्र बैंकबीच भएका अहिलेसम्मका वार्तामा कुनै निष्कर्ष ननिस्केकाले अब दुई देशका सरकारबीच नै उक्त विषयमा छलफल हुनुपर्ने राष्ट्र बैंकका अधिकारीको भनाई छ।

झण्डै दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन र जाली नोटको कारोबारलाई निस्तेज पार्न भन्दै अकस्मात नोटबन्दीको घोषणा गरेपछि हालसम्म पनि करोडौँ मूल्यका त्यस्ता भारु नेपाली बैंकमा थन्किएका छन्।

गत साता आफ्नो वार्षिक प्रतिवेदन पेश गर्दै भारतीय केन्द्रीय बैंकले नोटबन्दीपछि ९९ प्रतिशत प्रतिबन्धित नोट भारतीय बैंकिङ प्रणालीमा फर्किएको जानकारी गराएको छ । नेपालमा रहेका बाँकी त्यस्ता नोटबारे अब के हुने भन्ने उल्लेख छैन। भारतले नेपालमा थन्किएका पुराना प्रतिबन्धित भारु नलिने आशय देखिएको छ। नोटवन्दीको घोषणा लगत्तैदेखि राष्ट्र बैंक तथा रिजर्व बैंकका अधिकारीबीच पटकपटक छलफल भएका थिए।

राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना यसको समाधान केन्द्रीय बैंकको हातमा रहेको बताउछन् । नेपाल र भारतका सरकारबीच उच्चस्तर मै ठोस पहल भए मात्र नेपालमा रहेका ती नोट साटिने अवस्था आउने उनले बताए।

उनले भने, नोटबन्दी गरेको भारत सरकारले हो। नेपाल सरकार र भारत सरकारबीच सहमति भयो भने नोट साट्न सम्भव छ। तर अहिलेसम्मको अवस्था हेर्दा सरकारले नै ठोस पहल गर्नुपर्ने देखिन्छ।
नेपालमा प्रतिबन्धित ५०० र १००० दरका करिब ८ करोड रुपैयाँ रहेको छ।
सर्वसाधारणसँग पनि धेरै परिमाणमा त्यस्ता भारतीय रुपैयाँ रहेकाले उनीहरूलाई ठूलै मर्का परेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए। उनले भने, बैंकलाई त करिब ८ करोड भारु घाटा भयो। तर सर्वसाधारणले भारतमा रोजगारी गरेर कमाएर ल्याएका पैसा पनि साटिएनन्। धेरै सर्वसाधारणको भारु घरमा थन्केका छन्।

भारतले नोटबन्दीको प्रक्रिया लगभग समाप्त भएको जनाएका समाचार प्रकाशमा आएका छन्। उस्तै समस्या परेको भुटानको भारु साटिदिएको तर नेपालको भने नसाटिदिएकोमा राष्ट्र बैंकका अधिकारीहरू समेत आक्रोशित भएका छन्।

कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले भने, त्यस्तै पैसा भुटानको साट्ने। अनि नेपालको चाहिँ किन नसाट्ने ? त्यस्तो त नहुनु पर्ने हो। साढे तीन महिना जति पहिला जनकपुर र मुक्तिनाथ दर्शन गर्न आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका भारतीय ५०० र १००० दरका नोट साट्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए। स्रोतः बीबीसी

Share News