लगानी बोर्डले निर्णय नगर्दा माथिल्लो मर्स्याङदीको स्वामित्व हस्तान्तरणमा ढिलाइ, आयोजनाको काम अघि बढाउन बीपीसीलाई समस्या

<p>काठमाडौं । लगानी बोर्डले निर्णय नगर्दा प्रस्तावित ६०० मेगावाटको माथिल्लो मर्स्याङदी जलविद्युत आयोजनाको स्वामित्व हस्तान्तरणमा ढिलाइ भएको छ । आयोजना बनाउन नसकेपछि भारतको जीएमआर इनर्जी लिमिटेडले आयोजना बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) र चिनियाँ कम्पनीको बहुमत स्वामित्व रहेको एसीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडलाई गत चैत १५ गते बिक्री गरेको थियो । [&hellip;]</p>

काठमाडौं । लगानी बोर्डले निर्णय नगर्दा प्रस्तावित ६०० मेगावाटको माथिल्लो मर्स्याङदी जलविद्युत आयोजनाको स्वामित्व हस्तान्तरणमा ढिलाइ भएको छ । आयोजना बनाउन नसकेपछि भारतको जीएमआर इनर्जी लिमिटेडले आयोजना बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) र चिनियाँ कम्पनीको बहुमत स्वामित्व रहेको एसीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडलाई गत चैत १५ गते बिक्री गरेको थियो ।

 

आयोजना बिक्री भएको झण्डै ६ महिना बितिसक्दा पनि जीएमआरबाट बीपीसी र एससीआईजीमा स्वामित्व हस्तान्तरण हुन सकेको छैन । आयोजना लगानी बोर्डको क्षेत्राधिकारभित्र रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बोर्ड बैठकले स्वामित्व हस्तान्तरणको निर्णय गर्नुपर्ने हुन्छ ।

स्वामित्व हस्तान्तरणमा केही ढिलाइ हुँदा आयोजनाको काम अघि बढाउन समस्या भएको बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनले स्वामित्व हस्तान्तरणको एजेण्डा बोर्डमा जाने तयारीमा रहेको पनि जानकारी दिए । बोर्डको आगामी बैठकले यस विषयमा निर्णय गर्ने उनको अनुमान छ । “चिनियाँहरु उत्साहित भएर आयोजनाको काम अघि बढाउन तयार भएर आएका छन् । हामीले ढिलाइ गर्दा समस्या भएको छ” उनले भने ।

एसीआइजी इन्टरनेसनलले भारतको जीएमआर इनर्जी लिमिटेडको ६०० मेगावाटको माथिल्लो मस्र्याङदी २ र राजरत्न इनर्जी होल्डिङस प्राइभेट लिमिटेड र नेपाली मनाङ मस्र्याङदी पावर कम्पनीको स्वामित्वमा रहेको २८२ मेगावाटको मनाङ-मर्स्याङदी जलविद्युत आयोजनाको सबै स्वामित्व खरिद गरेको छ । जीएमआरले माथिल्लो मर्स्याङदी हिमताल हाइड्रोपावर र राजरत्न इनर्जीले मनाङ मर्स्याङदी पावर कम्पनीमार्फत निर्माण गर्ने लक्ष्य लिएका थिए । जीएमआर र राजरत्नले लगानी जुटाउन नसकेपछि बीपीसीअन्तर्गतको एसीआईजीलाई सम्पुर्ण स्वामित्व बिक्री गरेका हुन् ।

सम्झौतामा नेपालको बीपीसी, चीनको क्वाइसी इन्टरनेसनल कम्पनी लिमिटेड, एसीआईजी इन्टरनेसन लिमिटेड र ज्याङसी इन्टरनेसनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडबीच सम्झौता भएको हो । यस्तै चैत १२ र १५ गते राजरत्न तथा मनाङ मर्स्याङदी र एसीआईजीबीच खरिद बिक्री सम्झौता भएको बीपीसीले जनाएको छ ।

३ वटा चिनियाँ र बीपीसीको साझेदारीमा नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि एसीआइजी कम्पनी स्थापना गरिएको छ । यस्तै, सो आयोजनामा बीपीसीको १९.४ प्रतिशत स्वामित्व रहने छ ।

एसीआईजीले १०८ मेगावाटको मनाङ मर्स्याङदी आयोजना पनि निर्माण गर्ने भएको छ । यो समेत गरी कुल जडित क्षमता १ हजार मेगावाट पुग्ने छ । आउँदो ५ वर्षमा थप १ हजार मेगावाट विद्युत उत्पादन गर्नका लागि गत मंसिरमा ३ चिनियाँ र बीपीसीबीच सम्झौता भएको थियो ।

सम्झौताअनुसार ३ वटा चिनियाँ कम्पनीले संयुक्त रुपमा एसीआईजीमार्फत २ अर्ब डलर अर्थात २ खर्ब रुपैयाँ विदेशी लगानी ल्याउने सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम एसीआईजीले दुई ठुला आयोजनाको सम्पुर्ण स्वामित्व खरिद गरेको हो ।

Share News