एजेन्सी । भारतको निजी क्षेत्रको विमान सेवा प्रदायक जेट एयरवेज आर्थिक संकटमा परेको छ । कम्पनीले समयमा तलव दिन छाडेपछि १०० पाइलटले राजीनामा गरेको छन् । वायुसेवा कम्पनीको भविष्य राम्रो नदेखेपछि पाइलटले धमाधम राजीनमा गरेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

जेटले पाइलट, इन्जिनियरिङ र अन्य विभागका कर्मचारीलाई गत अगस्टको तलव दिएको छैन् । कम्पनीमा समस्या आएपछि जेटका अध्यक्ष नरेश गोयलले पाइलट र इन्जिनियरसंग छलफल गरेका थिए । पाइलटहरुले तलव नदिए असयोग गर्ने चेतावनी व्यवस्थापनलाई दिएका छन् । गलत वित्तीय व्यवस्थापनका कारण जेटमा समस्या आएको पाइलटहरुले आरोप लगाएका छन् ।
जेटका अधिकारी राहुल तनेजाले महाप्रवन्धक र पाइलटलगायत धेरै तलव लिनेलाई २ किस्तामा तलव दिने बताएका छन् । ५० प्रतिशत तलव सेप्टम्बर ११ र बाँकी सेप्टेम्बर २६ मा दिने प्रस्ताव गरेको छ । भारतको ठुलो विमान कम्पनी जेटमा १६ हजार कार्यरत छन् । यसमध्ये २ हजार पाइलट छन् । ५ प्रतिशत ककपिट क्रिउले राजीनामा गरेका छन् ।
गत अप्रिल र जुनमा गरी जेट १३ अर्ब २३ करोड भारु घाटामा गएको छ । कर्मचारी खर्च १२.६ प्रतिशत बढेर ८ अर्ब १६ करोड २९ लाख भारु पुगेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
अघिल्लो वर्षको तुलनमा सन् २०१८ मा जेटको खर्च १७ प्रतिशत बढेर ३१ अर्ब ७४ करोड पुग्ने अनुमान गरिएको छ । जेटको संचित नोक्सान बढेर १ खर्ब भारु नाघेको छ । कम्पनीको कुल कर्जा ८४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।