काठमाडौ । सरकारले १५ औँ निजामती दिवसको अवसरमा शुक्रबार आर्थिक वर्ष २०७४/०७५ मा उत्कृष्ट काम गर्ने ४० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।सिंहदरबारमा आज आयोजित कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

तीमध्ये १० जनालाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ र ३० जनालाई ‘निजामती सेवा पुरस्कार’ दिने घोषणा गरिएको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा राधिका अर्याल सहसचिव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, धनराज ज्ञवाली सहसचिव कानून,न्याय तथा संसदीय मामिला मन्त्रालय, लोकराज पराजुली सहसचिव उच्च सरकारी वकिल कार्यालय ललितपुर, सुनिल कुमार दास खानेपानी तथा ढल निकास विभाग, पद्मकुमार मैनाली सहसचिव सहरी विकास तथा भवन निर्माण विभाग रहेका छ ।
यसैगरी दीपक अधिकारी सहसचिव परराष्ट्र मन्त्रालय, हरिशरण पुडासैनी सहसचिव गृहमन्त्रालय, टिकाराम राई उपसचिव धनकुटा नगरपालिका, गोविन्द घिमिरे शाखा अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँ र गोपालप्रसाद दाहाल शाखा अधिकृत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय काठमाडौँ रहेका छन् । पुरस्कार १ लाख रुपैयाँका दरले प्रदान गर्ने निर्णय भएको छ ।
मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरिएको थियो । यसैगरी ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार ३० जना निजामती कर्मचारीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
यस वर्ष पनि २ लाख रुपैयाँ राशि रहेको ‘सर्वोकृष्ट कर्मचारी पुरस्कार’ कुनै कर्मचारीले पाउन सकेनन् ।
२०६२ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आइरहेको छ, यसवर्ष ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएको छ । रासस