काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार शुरु भएदेखिनै घट्ने क्रममा रहेको सो दिनको नेप्से परिसूचक १०.७९ अंकले घटेर १२१८ अंकमा झरेको छ ।
बजारमा परिसूचसँगै सेयर कारोबारमा पनि गिरावट भएको छ । आइतबार कुल १६६ कम्पनीको ३२ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको २ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३८२ रुपैयाँ रहेको छ । त्यस्तै, एनएमबी बैंकको पनि २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी जानकी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले एकैदिन ९.६० प्रतिशत बढी कमाएका छन् । बोनस सेयर दिने घोषणा गरेसँगै कम्पनीको सेयर मूल्यमा एकाएक वृद्धि आएको छ । कम्पनीले आइतबार बिहानमात्रै एक सूचना जारी गरी २२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
आइतबार कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ८५ अंकले ओरालो लागेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ ।