काठमाडौ । सेयर बजार निरन्तर ओरालो लाग्दा विकास बैंकको सेयर मूल्य पनि घटेर प्रतिकित्ता १०० रुपैयाँ नजिक पुगेका छन् । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सुचिकृत ३३ वटा विकास बैंक मध्ये एकाध बाहेक धेरैको सेयर आधारभूत मूल्य अर्थात् १०० रुपैयाँको हाराहारीमा झरेको छ ।

आधारभूत मूल्यभन्दा माथि नजाँदा अधिकांश लगानीकर्तालाई निराश बनाएको छ । लामो समयदेखि सेयर कारोबारमा संलग्नलाई पछिल्लो बजार मूल्यले निराश बनाएको छ भने नयाँ लगानीकर्तालाई यसले लगानी गर्नका लागि अवसर प्रदान गरेको छ । बजार तल्लो बिन्दुमा झर्दा नयाँ लगानीकर्तालाई सेयर कारोबारमा प्रवेश गर्न सहज हुन्छ ।
स्टकमा सूचीकृत एक्सेल विकास बैंकको सेयर प्रतिकित्ता ३१३ मा कारोवार भएको छ । गत वर्षको भदौ अन्तिम साता सो विकास बैंकको सेयर ४७१ रुपैयाँमा कारोबार भएको थियो । यस्तै काबेली विकास बैंकको प्रतिकित्ता २९८, कैलाश विकास बैंकको २२९, मितेरी डेभलपमेन्ट बैंकको २७५ र मुक्तिनाथ विकास बैंकको प्रतिकित्ता ३९२ रुपैयाँमा कारोबार भएको छ ।
गत वर्ष मुक्तिनाथको सेयर ५८६ मा कारोबार भएको थियो । यस्तै सहयोगी विकास बैंकको सेयर प्रतिकित्ता २१५ मा कारोबार भइरहेको छ । गत वर्ष प्रतिकित्ता ३४६ मा कारोबार भएको सो बैंकको सेयरमा समेत घटबढ भएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता २८५ रुपैयाँमा कारोबार भएको छ । सो बैंकको गत वर्ष ३८७ रुपैयाँमा कारोबार भएको थियो ।
नेप्सेमा सूचीकृत सबै विकास बैंकको तथ्याङ्क हेर्ने हो भने सेयरको अवस्था एकदमै खराब देखिन्छ । अघिल्ला वर्षमा लगानीकर्तालाई राम्रो प्रतिफल दिएका विकास बैंकको सेयर बजारको चक्रका आधारमा ओरालो लागेर न्यून बिन्दुमा कायम भएका छन् ।
भार्गव विकास बैंकको सेयर १२६ मा कारोबार भएको छ । गत वर्ष पनि सो बैंकको अवस्था राम्रो थिएन । गत वर्षको भदौ अन्तिम साता सो बैंकको सेयर २६५ मा खरिद बिक्री भएको थियो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १०१ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष १४७ रुपैयाँ थियो ।
राम्रो मानिएकोमा देव विकास बैैंकको सेयर समेत १२९ मा झरेको छ । गत वर्ष सो बैंकको सेयर २४९ रुपैयाँमा कारोबार भएको थियो । गण्डकी विकास बैंकको १९५, गरिमा विकास बैंक १९२, ग्रीन डेभलपमेन्ट बैंक १२६, हाम्रो विकास बैंक १३३, ज्योति विकास बैंक १४४, कामना सेवा विकास बैंक १४५, कञ्चन डेभलपमेन्ट बैंक १९७, कन्काई विकास बैंक १२६, लुम्बिनी विकास बैंक १५३ तथा कर्णाली डेभलपमेन्ट बैंक १०२ रुपैयाँमा कारोबार भइरहेको छ ।
महालक्ष्मी विकास बैंक १९१ पूर्णिमा विकास बैंक १६८, सहयोगी विकास बैंक २१५, सप्तकोशी डेभलपमेन्ट बैंक ११२, साँग्रिला डेभलपमेन्ट बैंक १४८, सिन्धु विकास बैंक ११९ र वेस्टर्न डेभलपमेन्ट बैंकको २३१ मा कारोबार भएको छ ।
विकास बैंक एसोसिएसनका अध्यक्ष भरत ढकाल विकास बैंकको कारोवार तथा वासलात एकाधको बाहेक धेरैको राम्रो रहेको बताउछन् । सेयर बजारमा उतारचढाव आउँदा त्यसबाट अरु क्षेत्र जस्तै विकास बैंक समूहसमेत प्रभावित भएको छ । बजार बढाउने वा घटाउने विषय आफूहरुको नभएको जानकारी दिँदै अध्यक्ष ढकालले भन्ने, “ग्रामीण क्षेत्रमा हामीले वित्तिय सेवा दिएका छौँ ।
सेयर बजार कहिले बढ्छ कहिले घट्छ यो सामान्य प्रक्रिया हो । हामी आत्तिएका छैनौँ ।” बजारका जानकारका अनुसार नयाँ लगानीकर्तालाई भने लगानीको सुवर्ण अवसर प्राप्त भएको छ । सेयर विश्लेषक प्रकाश तिवारी दीर्घकालीन फाइदाका लागि भने बजार घटेको बेला सेयर खरिद गर्दा राम्रो बताउछन् । रासस