
काठमाडौं । आईएमई ग्रुप अन्तर्गतको आईएमई इन्टरनेशनल ट्राभल्स प्राइभेट लिमिटेडले ओमानको सलाम एयरलायन्सलाई नेपाल भित्राएको छ । एयरलायन्सले काठमाडौंदेखि ओमानको मस्कटमा उडान भर्नेछ ।
मंगलबारदेखि सलाम एयरले काठमाडौंदेखि मस्कटसम्म उडान सुरू गरेकाे छ । सन् २०१७ देखि वजेट एयरलायन्सको रुपमा उडान थालेको सलामको काठमाडौं १५ औं गन्तव्य हो । ए ३२० सिरिजको सलाम एयरको १७४ यात्रु बोक्ने क्षमता छ । ओमानबाट काठमाडौं बिहान ८ बजेर ३० मिनेटमा अवतरण गर्ने र ८ बजार ४० बजे मस्कटका लागि उडान भर्नेछ । आईएमई सलाम एयरको जनरल सेल्स एजेन्ट (जीएसए) हो ।
मध्यपुर्व जाने नेपालीलाई लक्षित गरी सलाम एयरले उडान गरेकाे आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले १० पटक यात्रा गर्दा १ टिकट निःशुल्क प्रदान गर्ने जानकारी दिए । पहिलो उडानका यात्रुलाई चन्द्रागिरी हिल्सले केवलकार टिकटमा ५० प्रतिशत र अन्यलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
सलामले भारतको गोवा, पाकिस्तानको कराँची, जेद्धा, वाकु, टिब्लिक, दोहा, दुवई, खार्तुमलगायत १४ क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं १५ औं गन्तव्य भएको छ । ओमान एयरले पनि काठमाडैंदेखि मस्कटसम्म उडान गर्दै आएको छ ।