
काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन् ।शिष्टाचार भेटवार्ताका लागि बिहीबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि जापानी राजदूत मासामिची साइगोलाई भौतिक पूर्वाधारका क्षेत्रमा लगानीका लागि अनुरोध गरेका हुन्।
आर्थिक तथा सामाजिक विकासका लागि नेपालमा लामो समयदेखि सहयोग गर्दै आएको जापान सरकारबाट थप सहयोगको अपेक्षा गरेको भन्दै अर्थमन्त्री डा खतिवडाले आफूहरु आर्थिक विकास तथा समृद्धिको मार्गमा केन्द्रित रहेको बताए।
अर्थमन्त्रीले डा खतिवडाले पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि जापानी आयात निर्यात बैंकबाट सहुलियत ऋण उपलब्ध गराइदिनसमेत राजदूतलाई आग्रह गरेका थिए ।
सो अवसरमा राजदूत साइगोले जापान सरकारको सहयोगमा निर्माण भएको सिन्धुली– बर्दिबास सडकको शीघ्र मर्मतका विषयमा अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।
जापानी राजदूतले पछिल्लो समयमा नेपालमा लगानीका लागि जापानी व्यवसायी इच्छुक रहेको र आकर्षितसमेत भएको बताएका थिए । रासस