
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका छन् । निर्धारित समयमा काम सक्ने व्यवसायीलाई सरकारले विकास निर्माणको ठेक्का दिने बताएका हुन् ।
नेपाल निर्माण व्यवसायी सङ्गठनले शनिबार राजधानीमा आयोजना गरेको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।
व्यवसायीले ठेक्का लिएर निर्धारित समयमा काम सम्पन्न नगरी आयोजना अलपत्र पर्ने क्रम बढेपछि राम्रो काम गर्नेलाई मात्र ठेक्का दिने बताएका हुन् । तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत मार्गप्रशस्त गर्न नसक्ने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीको काँधमा आएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध भएर लाग्नसमेत निर्माण व्यवसायीलाई सचेत गराए।
निर्माण व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले मुलुकको आर्थिक समृद्धिका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने उल्लेख गरे । उनले सरकारले शुरु गरेका विभिन्न रचनात्मक कार्यहरुले गति लिने बेला आएको पनि स्पष्ट पारे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायमा रहेको कमजोरी हटाएर समयमै गुणस्तरीय काम गर्ने वातावरण बनाउन आग्रह गरे ।