
काठमाडौं । जथाभावी होर्डिङ बोर्डको विज्ञापनले शहरी वातावरणलाई बिगारेपछि काठमाडौं महानगरपालिकाले हटाउने भएको छ । शहरी सुन्दरतालाई बढाउन महानगरले डिजिटल होडिङ बोर्डलाई मात्र प्राथमिकतामा राखेको हो ।
महानगरले डिजिटल बाहेक सबै विज्ञापन हटाउन सुरु गरिसकेको छ । अब विज्ञापन गर्न सीमित क्षेत्र तोकिने र सो क्षेत्रमा मात्र डिजिटल होडिङ बोर्ड राख्न पाइने महानगरले जनाएको छ । डिजिटल विज्ञापन बोर्ड बारेमा अध्ययन समेत सुरु गरिसकेको महानगर पुर्वाधार विकास प्रमुख महेश काफ्लेले बताए ।
काफ्लेका अनुसार अब विज्ञापन गर्ने क्षेत्र पनि तोकिनेछ । बाहिरी चक्रपथ, लैनचौर, बालाजु, त्रिपुरेश्वर लगायतको क्षेत्रमा विज्ञापन बोर्ड राख्न दिने तयारी महानगरले गरेको छ । साना साँगुरा गल्लीमा भने विज्ञापन गर्न नपाउने महानगरले जनाएको छ ।
डिजिटल होर्डिङ बोर्डमा कति सम्मको लाइट राख्न दिने कति कलरको बनाउने एउटा विज्ञापनको समय कति राख्ने भन्ने विषयमा महानगरले छलफल गरिरहेको प्रमुख काफ्लेले बताए ।
ुहामीले अहिले सम्बन्धित विज्ञहरुसँग छलफल गरिरेका छौं, उनीहरुले हामीलाई प्राविधिक सल्लाह पनि दिइरहेका छन्, काफ्लेले भने यदि कनै व्यक्ति वा संस्थाले पनि यस काम सम्बन्धि अनुभव भए हामीलाई सल्लाह दिन सक्नेछन् ।ु
यसअघि २०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होडिङ बोर्ड राख्न नदिने र राखेका भए हटाउन आदेश दिएको थियो ।
आदेशमा महानगर क्षेत्रमा रहेका व्यवसायिक होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामाग्री हटाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख रहेको थियो ।
उपत्यकामा जथाभावी विज्ञापन बोर्ड राख्दा दृश्य तथा वातावरणीय प्रदुषण भएकाले आम मानिसको स्वच्छ र स्वस्थ्य वातावरणमा हिँडडुल गर्ने अधिकार हनन भएको र सो कार्य गर्न वा नगराउन महानगरलाई सर्वोच्चले आदेश दिएको थियो ।