काठमाडौं । प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाशप्रसाद ढुङगेलले पेट्रोलियम सवारी विस्थापनको काम सुरु गरिहाल्नु पर्ने बताएका छन् । आइतबार नेपाल उद्योग परिसंघले राजधानीमा गरेको प्रदेश ३ को आर्थिक मार्गचित्र नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुङगेलले इलेक्ट्रिक सवारी विकासमा जोड दिएका हुन् ।
अर्थमन्त्री ढुङगेलले निजी क्षेत्रले योजना तयार पारेर ल्याए सरकारले भोलिदेखि नै काम सुरु गर्ने बताए । उनले भने-‘हामीले २०८५ सम्ममा तेलबाट चल्ने सवारी विस्थापन गर्न लागेका छौं, यसको लागि निजी क्षेत्रको सहयाेग आवश्यक रहेको हुन्छ ।’
कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्र पेट्रोलियम सवारी साधान हटाउने पक्षमा रहेको बताए । उनले भने-‘मन्त्रीले काममा साथ दिने भए हामी पेट्रोलियम सवारी हटाउन तयार रहेका छौं, यसका लागि निजी क्षेत्रले मात्र प्रयास गरेर हुदैंन, सरकारले पनि साथ दिनुपर्छ ।’
शर्माले सरकारले रेलको हल्ला गर्नुभन्दा पनि चित्तवन हेटौंडा बुलेट ट्रेन सञ्चालन गर्न सुझाव दिए । उनले अबको ५ वर्षभित्र प्रतिव्यक्ति आय ४ हजार डलर पुर्याउन निजी क्षेत्र तयार रहेको बताए ।
कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले इलेक्ट्रिक सवारीको विकासमा निजी क्षेत्रको ठूलो भुमिका हुने बताए । उनले भने-‘निजी क्षेत्र र सरकार एउटै डुङगामा हिड्ने भएकाले यसमा दुबै सफल हुनु जरुरी छ, हामी जागिर खान मात्र मन्त्री बनाएका होइनौं ।’
कार्यक्रममा उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले सरकारले चारैतिर हात हाल्नु भन्दा कुनै एक क्षेत्रलाई मात्र अघि बढाउनु पर्नेमा जोड दिए । उनले इथोपियाको उदाहरण दिदैं नेपालले पनि कुनै सीमित विषयलाई मात्र प्रमुख एजेन्डा बनाउनु पर्ने सुझाए ।
कार्यक्रमा ३ नम्बर प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मालगायतले प्रदेशको आर्थिक सम्भावनाबारे विचार राखेका थिए ।