काठमाडौं । फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्रान्ड आउटलेट काठमाडौंको दरबारमार्गमा खुलेको छ। जयश्री पशुपति ट्रेड इन्टरनेशनल अन्तर्गत दर्ता रियल इन्क दरबारमार्गमा रहेको त्रिसरा रेष्टुरेन्टको भवनमा शोरुम खुलेको छ।

नविल बैंकका प्रमुख कार्यकारी (सीईओ) अनिलकेशरी शाहले आउटलेटको उद्घाटन गरेका छन् । काठमाडौंको फेसन हव दरबारमार्गमा शोरुम स्थापना गरेको रिगलले फेसनको क्षेत्रमा नवप्रवर्तन गर्ने लक्ष्य लिएको छ। शोरुमको उद्घाटन गर्दै बैंकर शाहले फेसनको दुनियाँमा नेपाली ब्रान्डको उदयले गुणस्तरीय छनौटको अवसर बढेको बताए। युवा व्यवसायीहरुको प्रयासबाट भएको यस्तो काम अझै बढ्नुपर्ने उनको धारणा थियो।
रिगल इन्कका सीईओ अशुतोश अग्रवालले आफ्नै ब्रान्ड र विदेशी गुणस्तरीय ब्रान्ड उपलब्ध गराउने उद्देश्यबा साथ शोरुम खोलिएको बताए।“यसबाट लुक्समात्र फेरिने छैन सँगै हामी गुणस्तर, विश्वासनीयता, सस्तो र धान्नसक्ने गरी उत्पादनहरु उपलब्ध गराउने छौं’अग्रवालले भने।
अग्रवालले आफ्नै ब्रान्डमा विभिन्न फेसन उत्पादनहरु पनि उपलब्ध गराउँदै जाने बताए। जिबी ब्रुमेल नामबाट सर्ट पाइन्टदेखि पर्ससम्मका उत्पादन राखिने उनले जानकारी दिए।

उनका अनुसार शोरुममा आठवटा ब्रान्ड उपलब्ध हुने छन्। जसमा नेपाली फेसन ब्रान्ड जिबी ब्रुमेल हुने छ। पुरुषहरुका लागि फेसन डिजाइनहरु हुने यो ब्रान्ड नेपाली हो। त्यस्तै द म्यान कम्पनी भन्ने भारतीय ब्रान्ड पनि यो शोरुममा हुने छ।
त्यस्तै लोरो पियना, भाइटल बारबेरिस, डि डेल्फीनो र डोरमिइएल ब्रान्डका उत्पादनहरु उपलब्ध हुने छन्। शोरुममा लानफिको र इटालियन सुट ब्रानड जेग्ना पनि हुने छ।
रियल इन्कलाई नेपालको आधिकारी फेसन हाउसको रुपमा विकसित गर्दै जाने र आवस्यकताअनुसार देशभर विस्तार गर्दै जाने अग्रवालले जानकारी दिए।
विश्वव्यापी र क्षेत्रीय रुपमा ट्रेन्डमा रहेका फेसन उत्पादन किन्नमात्र होइन, गुणस्तरीय र विश्वासनीय सपिङको केन्द्रविन्दु बनाउने उद्देश्यसहित अगाडि बढेको उनको भनाइ छ।