मानव विकास प्रतिवेदन भन्छ : भारतीय भन्दा नेपाली बढी समय बाँच्छन

<p>काठमाडौं । प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन। नेपालको त्यस्तो आय २ हजार ४ सय ७१ अमेरिकी डलर छ भने भारतको ६ हजार ३५३।तर, नागरिकहरूको औसत आयु हेर्ने हो भने नेपाल भारतभन्दा अगाडि देखिएको छ। अनि, श्रम बजारमा सक्रिय महिलाको संख्यामा त भारत नेपालभन्दा निक्कै पछाडि देखिन्छ । गत [&hellip;]</p>

काठमाडौं । प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन। नेपालको त्यस्तो आय २ हजार ४ सय ७१ अमेरिकी डलर छ भने भारतको ६ हजार ३५३।तर, नागरिकहरूको औसत आयु हेर्ने हो भने नेपाल भारतभन्दा अगाडि देखिएको छ। अनि, श्रम बजारमा सक्रिय महिलाको संख्यामा त भारत नेपालभन्दा निक्कै पछाडि देखिन्छ । गत शुक्रबार अबेर राती सार्वजनिक एउटा महत्त्वपूर्ण मानिने मानव विकास प्रतिवेदन हेर्दा यस्तै विवरण भेटिन्छन्।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल मध्यमखाले मानव विकास भएको मुलुकमा परेको छ। तर, त्यस सूचकको एउटा आधार मानिएको औसत आयुमा नेपाल दक्षिण एसियाका कतिपय छिमेकी मुलुकहरूको तुलनामा अगाडि देखिएको छ।

नेपालभन्दा झण्डै तीन गुणा बढी प्रतिव्यक्ति औसत राष्ट्रिय आय भएको दक्षिणी छिमेकी भारतका नागरिकको औसत आयु नेपालीको तुलनामा कम छ। प्रतिवेदनअनुसार नेपालीको औसत आयु ७०.६ वर्ष छ भने भारतीयको ६८.८ वर्ष मात्र।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्याक्ष डा. स्वर्णिम वाग्ले नेपालीको ‍औसत आयु तुलनात्मक रूपमा भारतको भन्दा राम्रो हुनुमा करिब अढाई दशकदेखि नेपालले शिक्षा र स्वास्थ्यमा बढाउँदै गएको लगानी मुख्य कारण भएको बताउँछन्। उनी आय बढी हुँदैमा कुनै पनि मुलुकका जनताको आयु बढ्न नसक्ने दाबी गर्छन्।

“आय वृद्धि हुँदैमा मानव विकासमा स्वचालित लगानी नहुने रहेछ। त्यसका लागि राज्यले नै लाग्नुपर्‍यो,”उनले भने, “वृद्धि भएको ठूलो अंशचाहिँ मानव विकासका क्षेत्रहरूमा पनि लगानी गर्नुपर्दछ” ।कम आय भएका मुलुकले पनि सचेतपूर्ण तरिकाले मानव विकासका क्षेत्रमा लगानी गरे भने आयका तुलनामा मानव विकासको सूचकमा उनीहरूले राम्रो गर्न सक्ने उनको दाबी छ।उनले नेपालीको औसत आयु बढ्नुमा रेमिट्यान्सको समेत ठूलो भूमिका रहेको बताए।

त्यस्तै सामान्य खालकै भए पनि उपचारका लागि शहर आवतजावत गर्न सहज बनाउने खालका सडक गाँउगाँउसम्म पुग्नु औसत आयु बढाउन सहयोगी बनेको विज्ञहरूको बुझाइ छ।

उनीहरू त्यसमा गैरसरकारी संस्था र सहकारीले जगाएको जनचेतना, सरकारले स्वास्थ्य सेवामा गरेको संरचनागत सुधार र महिला स्वास्थ्य स्वयंसेविकाको सकारात्मक भूमिकालाई पनि सँगै जोड्छन्।

प्रतिवेदनमा समेटिएको महिला र पुरूषको मानव विकासलाई तुलनात्मक अध्ययन गरिने अर्को एउटा सूचक अनुसार श्रम बजारमा सक्रिय हुने महिलाको संख्याका आधारमा पनि नेपाल दक्षिण एसियामै सबैभन्दा अगाडि देखिएको छ। उक्त प्रतिवेदन अनुसार नेपालका ८२ प्रतिशतभन्दा बढी महिला श्रम बजारमा सक्रिय छन्।

त्यसको कारणबारे एकजना अर्थशास्त्री केशव आचार्य भन्छन्, “४० देखि ५० लाख मान्छे विदेशमा गए। महिलाहरू नै घरमूली भए। त्यसले गर्दा महिलाहरू अलि सशक्त भएकाले श्रममा सहभागिता र छोरीको शिक्षामा राम्रो भएको हो।”

दक्षिण एसियाका कतिपय मुलुकका तुलनामा नेपाली समाज खुला भएकाले महिलालाई घर बाहिर निस्केर काम गर्न सहज भएकाले समेत त्यसमा टेवा पुर्‍याएको कतिपय विज्ञको दाबी छ।

विज्ञहरूले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढेको प्रतिफलका रूपमा नेपालीको आयु वृद्धिलाई अर्थ्याइरहेका बेला कतिपयले भने यी क्षेत्रमा लगानी कम भएको बताउँदै आएका छन्।

चालू आर्थिक वर्षकै बजेटलाई आधार मान्दा पनि स्वस्थ्य क्षेत्रमा कुल बजेटको ५ र शिक्षामा १० प्रतिशत मात्र बजेट छुट्ट्याइएको छ। श्रम बजारमा नेपाली महिलाको पहुँचबारे भने आलोचकहरूले जुन आँकडालाई आधार मानेर युएनडीपीले प्रतिवेदन तयार पारेको हो त्यसैमाथि प्रश्न गर्ने गरेका छन्।

सीमित क्षेत्रमा सीमित महिलालाई लिएर गरिने सर्वेक्षणका आधारमा अन्तर्राष्ट्रिय श्रम संगठनले तयार पारेको तथ्याङ्कका आधारमा युएनडीपीले उक्त सूचक निकालेकाले त्यसलाई पूर्ण मान्न नसकिने उनीहरूको तर्क पाइन्छ। स्राेतः बीबीसी

Share News