
एजेन्सी । पेट्रोलियम पदार्थको भाउ बढिरहेका बेला योग गुरु रामदेवले हाल चलनचल्तिमा रहेको भन्दा आधा मूल्य पेट्रोलियम पदार्थ बिक्री गर्न सक्ने बताएका छन् ।
भारतमा पेट्रोलियम पदार्थको भाउ आकासिएका बेला रामदेवले प्रतिलिटर ३५ देखि ४० भारुमा पेट्रोलियम पदार्थ बिक्री गर्न सकिने जानकारी दिएका छन् । यदी सरकारले अनुमति दिएमा सस्तोमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उनले दावी समेत गरेका छन् । भारतमा पेट्रोलको भाउ आकासिएर प्रतिलिटर ८७ भारुसम्म पुगेको छ ।
एक जमनामा भारतीय जनता पार्टीको समर्थक रहेका रामदेवले पेट्रोलियममा लगाउदै आएको करमा छुट दिनुपर्ने बताएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । उनले पेट्रोलियम आयात वस्तु तथा सेवा कर (जीएसटी) अन्र्तगत गर्नुपर्ने सुझाएका छन् ।
एनडी टिभीको युथ कन्क्लेभलाई सम्बोधन गर्दै पतन्जलीका संस्थापक रामदेवले भने “यदी सरकारले अनुमति र करमा सहुलियत दिन्छ भने म भारतमा पेट्रोल र डिजेल प्रतिलिटर ३५ देखि ४० भारुमा दिन सक्छुु ।” यदी केन्द्र र प्रदेश सरकारले पुरै कर हटाए पनि रामदेवको दावी अवास्तविक देखिएको फाइनान्सियल एक्सप्रेसको टिप्पणी छ ।
रामदेवको यो प्रस्तावले नेपाली उपभोत्ताले पनि सस्तोमा पेट्रोलियम पदार्थ पाउने देखिन्छ । नेपाल आयल निगम लिमिटेले इण्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) बाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।