काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । सोमबार केही अंकले घटेर थामिएको बजार मंगलबार भने २.४१ अंकले बढेर १२५८.८१ अंकमा पुगेको छ ।
बजार समान्य अंकले बढेपनि दुई कम्पनीको सेयर मूल्य भने ९ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी अरुण काबेली पावरका लगानीकर्ताले ९.८४ प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य प्रतिकित्ता २६६ रुपैयाँ रहेको छ । त्यस्तै, अघिल्लो दिनको तुलनामा भार्गव विकास बैंकको सेयर मूल्य ९.२७ प्रतिशतले बढेर प्रतिकित्ता १६५ रुपैयाँ पुगेको छ ।
दिनभरको बजारमा कुल १६९ कम्पनीको सेयर कारोबार भएको छ । सो दिन १५ लाख ४४ हजार कित्ता सेयर ४५ करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको ३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७३ रुपैयाँ रहेको छ ।
त्यस्तै, बजारमा होटल, बैंकिङ र फाइनान्स समूह ओरालो लागेका छन् भने अन्य बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ७३ अंकले बढेको छ ।