संचय कोषले ५ वर्षे योजना बनाउँदैै, कोषको आकार ३ गुणा बढाएर ७ खर्ब पुर्याउने

<p>काठमाडौं । कर्मचारी संचय कोषको पुँजी ३०० प्रतिशत बढेर ७ खर्ब रुपैयाँ पुग्ने भएको छ । थप पुँजी बढाउन कोषले ५ वर्षे रणनीति तयार पारी संचय कोष कट्टीको दायरा बढाउने नीति लिएको छ । हाल कोषको आकार २ खर्ब ४५ अर्ब रुपैयाँ छ । सरकारी कोषबाट मात्र तलव लिने निजामति कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायत निजीकाे कोष [&hellip;]</p>

काठमाडौं । कर्मचारी संचय कोषको पुँजी ३०० प्रतिशत बढेर ७ खर्ब रुपैयाँ पुग्ने भएको छ । थप पुँजी बढाउन कोषले ५ वर्षे रणनीति तयार पारी संचय कोष कट्टीको दायरा बढाउने नीति लिएको छ । हाल कोषको आकार २ खर्ब ४५ अर्ब रुपैयाँ छ ।

सरकारी कोषबाट मात्र तलव लिने निजामति कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायत निजीकाे कोष कट्टी भइरहेकोमा अब गैरआवासिय नेपाली, स्वरोजगार र वैदेशिक रोजगारमा गएकालाई पनि समावेश गरेर बढाउने कोषका प्रशासक तुलसी गौतमले बताए । नयाँ क्षेत्रलाई दायरामा ल्याएपछि ५ वर्षमा कोषको आकार ७ खर्ब रुपैयाँ पुग्ने उनको भनाई छ ।

संचय कोष ऐनले गैरसरकारी क्षेत्रको पनि कोष कट्टा गर्न बाटो खुला गरेपछि दायरा बढाउन लागिएको गौतमले जानकारी दिए । श्रम ऐनले पनि निजी क्षेत्रमा कार्यरत कर्मचारीको संचय कोष कट्टा गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरेको छ ।

यस्तै संघीयता कार्यान्वयनसंग सरकारको ३ तहमा कर्मचारीको संख्या बढेर जाने भएपछि कोषको पुँजीको आकार बढ्ने देखिएको छ । हाल ८५ हजार रहेको निजामति कर्मचारीको संख्या केही वर्षभित्र बढेर १ लाख ४५ हजार पुग्दै छ । यी सबैको संचय कोष कट्टा हुने छ । यस्तै कर्मचारीको तलव वृद्धि औसत १६ प्रतिशत छ । तलव बढेपछि स्वभाविक रुपमा यो दोब्बर हुन्छ ।

रेमिट्यान्स कोषमार्फत ल्याउने तयारी

कोषले वैदेशिक रोजगारीमा गएका नेपालीको रेमिट्यान्स ल्याउने तयारी थालेको छ । रेमिट्यान्सलाई कोषमार्फत ल्याउन श्रम सचिवको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलले कार्यविधि र खाका तयार पारेर सरकारलाई बुझाउने छ । सरकारबाट स्वीकृत भएपछि विदेशमा रहेका नेपालीबाट पुँजी संकलन गर्ने र तिनका परिवारलाई सामाजिक सुरक्षा पनि दिने गौतमले जानकारी दिए ।

कोषले वैदेशिक रोजगारीमा जानेबेला रेमिट कार्ड दिने र सो मार्फत रकम सिधै बैंक खातामा रकम जम्मा गर्न मिल्ने सहितको व्यवस्था मिलाउन लागेको हो । “वैदेशिक रोजगारीमा गएकालाई समेट्न सकियो भने कोष बढेर १० खर्ब रुपैयाँ पनि पुग्ने देखिएको छ ।” उनले भने- “६ वटा मुलुकमा मात्र फोकस गर्दा ६० अर्ब रुपैयाँ पुँजी ल्याउने सकिने देखिएको छ ।”

कोषले गैरआवासिय नेपालीले विदेशमा संकलन गरिरहेको प्रतिव्यक्ति १ हजार रुपैयाँ पनि कोष मार्फत परिचालन गरिने तयारी भएको छ । कोषले गैरआवासिय नेपालीलाई संचयकर्ता बनाएर रकम नेपालमा भित्र्याउने भएको हों ।

Share News