काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय रहँदै आएको बागदरबार भत्काउन ५ कम्पनीको निवेदन परेको छ । करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको बागदरबार तीन तलाको छ । भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकाल बताए । भत्काउने काम शुरु भएको तीन महीनामा सकिने छ ।
१ अर्ब ५० करोड रुपैयाँको लागतमा पुनःनिर्माणको काम थाल्ने कामपाको योजना छ । निर्माण शुरु भएको तीन वर्षमा सम्पन्न भई प्रयोगमा ल्याइने जानकारी दिँदै उनले भूकम्पका कारण क्षतिग्रस्त बागदरबारमा अब परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने बताए ।
काठमाडौँ महानगरपालिकाले पुनःनिर्माणको कामलाई तीव्रता दिन थालेको छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि कामपाले केही काम नगरेको जनगुनासो आइरहेकै समयमा कामपाले निर्माणको कामलाई चासोका साथ लिएको छ । रानीपोखरीको पुनःनिर्माणका लागि कामपामा २ वटा आशयपत्र पेश भएका छन् । त्यसैगरी स्मार्ट पार्किङ निर्माणका लागि ६ कम्पनीले निर्माण गर्न आशयपत्र पेश गरेका छन् ।
ऐतिहासिक सम्पदा रानीपोखरी २०७२ सालको भूकम्पको कारण क्षतिग्रस्त भएको थियो । विभिन्न विवादका कारण क्षति भएको ३ वर्ष बितिसक्दासम्म निर्माण शुरु हुन नसक्दा एक महीनाअघि कामपाले आशयपत्र माग गरेको थियो । सोही मागअनुरुप दुई निर्माण कम्पनीले निर्माणका लागि आशयपत्र पेश गरेको कामपा खरिद एकाइ प्रमुख प्रमोद पोखरेलले जानकारी दिए ।
भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनःनिर्माण हुन नसक्दा यस वर्ष पनि सर्वसाधारणले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने निश्चित भएको छ । यसअघि कामपाले मन्दिरसहित रानीपोखरीको पुनःनिर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको जनाउँदै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाएको थियो । रासस