काठमाडौं। बुटवल उपमहानगरपालिकले ‘मेयर युवा ईलम’ कार्यक्रम अन्तर्गत करीब चार सय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने छ ।
तीन महीने सीप सकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारी दिने गरी यस्तो तालीम शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
युवालाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणको मर्मत गर्नेबारे तालीम दिइने छ । यो कामका लागि पहिलो चरणमा २५ युवा छनोट भएका छन् । उनीहरूले यो चरणमा उजिरसिंह नगरको अटो भिलेजमा तीन महिना सिक्नेछन् ।
अटो मेकानिक्सको आधारभूत तालीमका लागि २० युवा छनोट भएका छन् । आधारभूतसहित हेभी साधान बनाउने तालीमले उनीहरूलाई पनि दक्षता र रुचिका आधारमा उपल्लो तहको तालीम दिने गरी तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।
जनरल मेकानिक्समा २२, विल्डिङ सोलार इलेक्ट्रिकल तालीमका लागि ३५, होटल म्यानेजमेन्टअन्तर्गतको कुक तालीमका लागि ८३, एसी, रेफ्रिजरेटर मर्मतका लागि ५४ तथा पलम्बिङका लागि २० र फेशन डिजाइनरका लागि १०७ जना यो चरणमा छनोट भएका छन् ।
शुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमूना कार्यक्रम मानिएको छ । तालिमको बिहीबार शुभारम्भ गर्दै नगर प्रमुख सुवेदीले युवालाई सक्षम बनाए मात्रै समृद्ध बुटवलको अभियान पूरा हुने बताए।
सोही अभियान स्वरूप पहिलो चरणको प्राविधिक तालीम शुरु गरिएको उनले बताए। बुटवलको समृद्धिका लागि बुटवलवासीकै योगदान र सहकार्य भन्ने मान्यताका साथ आफूहरूलाई तालीम प्रदायक र रोजगारदाताले समेत सहकार्य गर्न आएको सुवेदीको भनाइ छ।
अभियानमा सहकार्य गर्ने दक्ष जनशक्ति उत्पादनलाई ध्यानमा राखेर यस्तो अभियान शुरु गरिएको उनले बताए। यो अभियानमा यस क्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्द्रले उपमहानगरसँग सहकार्य गरेका छन् । तालीम लिन इच्छुकको विषय छानेर तिनै तालीम प्रदायककोमा पठाइनेछ। यस्तो तालीम कम्तीमा तीन महिनाको हुनेछ।
सो अवसरमा उपप्रमुख गुमादेवी आचार्यले महिला र पुरुष दुवैको हाराहारी सङ्ख्यामा सहभागीहरू छनौट हुनु अर्को महत्वपूर्ण पाटो रहेको भन्दै समृद्ध, सभ्य र समावेशी बुटवल निर्माणको एउटा चरण नै यहीँ रहेको बताए।
विभिन्न विषयमा समूह छुट्याएर तालीम दिन लागिएको बुटवलका सामाजिक शाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताउनुभयो । हेवी मेसिन मर्मतदेखि फेसन डिजाइनसम्मका कामबारे विशेष तालीम दिइने अधिकृत दामोदर ज्ञवालीले बताए। रासस