काठमाडौं। विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४÷०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् ।
करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले जानकारी दिए।
शिक्षकलाई साउनदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन अन्तिम समयसीमा तोकिएको थियो । उनक अनुसार स्थायी शिक्षकले किताबखाना र अस्थायी शिक्षकले जिल्लास्थित जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयमा बुझाउने छन् ।
भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा प्रत्येक वर्ष सार्वजनिक पद धारण गरेको व्यक्तिले आव शुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
उहाँले सङ्कलन गरिएको सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाइएको बताउनुभयो । ऐनअनुसार सम्पत्ति विवरण नबुझाउनेलाई केन्द्रको सिफारिशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ ।
उपनिर्देशक बुढाप्रिथीले करीब चार हजार शिक्षकले आफ्नो सङ्केत नम्बर गलत भरेर बुझाएको जानकारी गराउनुभयो । उनका अनुसार आव २०७३÷०७४ मा ११ हजार ४५५ शिक्षकले सम्पत्ति विवरण बुझाएनन् ।
मुलुकभरि करीब एक लाख सात हजार ८५३ स्थायी र अस्थायी शिक्षक रहेको किताबखानामा विवरण रहेको छ । गत वर्ष चार हजार ४३० शिक्षकले गलत सङ्केत नम्बर भरेका थिए । रासस