नर्भिक हस्पिटलको आईपीओ मूल्य ११ सय रुपैयाँ

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको सेयर मूल्य १ हजार १ सय रुपैयाँ प्रस्ताव गरिएको छ । बुक बिल्डिङ विधिमार्फत आईपीओ बिक्रीका लागि प्रक्रिया अघि बढाएको कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि अनुमानित प्रतिकित्ता १ हजार १ सय रुपैयाँ मूल्य ताेकेकाे हाे ।

शुक्रबार योग्य संस्थागत लगानीकर्तासँग छलफल (रोड शो) कार्यक्रम आयोजना गर्दै उक्त मूल्य प्रस्तावित गरिएको कम्पनीले जनाएको छ । बोलकबोल विधिमार्फत जारी हुने सेयर मूल्य पछि घटबढ हुन सक्नेछ । 

कम्पनीले जारी पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँमध्ये २० प्रतिशत अर्थात् २० करोड ४१ लाख २० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ४१ हजार २०० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई र ६० प्रतिशत अर्थात् १२ लाख २४ हजार ७२० कित्ता सेयर (कर्मचारीलाई समेत) बुक बिल्डिङ विधिमार्फ बिक्री गर्नेछ ।  

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरिएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेको छ । 

Share News