काठमाडौं, २७ असार । सर्वसाधारणले तिरको करवाट रजाइ गरेर सरकारी सम्पत्तिमा रजाइ गर्ने सार्वजनिक संस्थानहरुले सरकारकै लगानी पनि गोलमाल गर्ने गरेका छन् । अर्थमन्त्रालयले आइतवार सार्वजनिक गरेको संस्थानहरुको समीक्षा पुस्तकमा सरकारको लगानी, ऋण र लाभांस समेत हराएको उल्लेख गरिएको छ ।
संस्थानहरुले देखाएको विवरण अनुसार संचालनमा रहेका ३७ वटै सार्वजनिक संस्थानमा गरी सरकारको सेयर लगानी १ खर्ब ७ अर्ब २ करोड ८१ लाख रुपैयाँ रहेको छ । तर महालेखा परीक्षकको कार्यालयले भने १ खर्ब १५ अर्ब ८१ करोड ४४ लाख रुपैयाँ रहेको छ । संस्थानले देखाएको सरकारको सेयर महालेखाले देखाएको भन्दा झण्डै ८ अर्ब रुपैयाँले कम हो ।
यस्तै सरकारको ऋण पनि संस्थाहरुले हिनामिना गरेका छन् । महालेखा परीक्षकको कार्यालयले देखाएको विवरण अनुसार संस्थानहरुका सरकारको १ खर्ब ११ अर्ब ६८ करोड १६ लाख रुपैयाँ ऋण लगानी रहेको उल्लेख गरेको छ । तर संस्थानहरुले १ खर्ब ७ अर्ब ६० करोड ४२ लाख रुपैयाँ मात्रै ऋण दिएको देखाएका छन् । संस्थानहरुले सरकारको झण्डै ४ अर्ब रुपैयाँ ऋण पनि हिनामिना गरेको पाइएको छ । यो तथ्यांक गत आर्थिक बर्षसम्मको हो ।