काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव र बढ्दो ब्याजदरले गर्दा पुँजीबजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । आइतबार १४ अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । दिनभर उतारचढाव आएको सोमबारको बजारमा नेप्से परिसूचक १०.५६ अंकले ओरालो लागेर १२१६.९३ अंकमा झरेको छ ।
समग्रमा दशैं पछिको सेयर बजार निरन्तर रुपमा घटेको छ । यसको मतलब बजारमा चाडपर्वको प्रभाव परेको भन्ने बुझ्न सकिन्छ । साथै, लगानीकर्ताहरु प्रथम त्रैमासिकको पर्खाइमा रहेकाले पुँजी बजारमा गिरावट आएको एक ब्रोकरले बताएका छन् । बजार घट्नुको मुख्य कारण क्रेडिट क्रन्च रहेको उनी बताउँछन् ।
बजारमा परिसूचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबारको बजारमा कुल १६० कम्पनीको २४ करोढ ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी गोर्खा फाइनान्सको २ करोड ५७ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् ।
त्यस्तै, कारोबारमा आएको १० वटै समूहका सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा ७५ अंकले घटेको छ । होटल ४८, हाइड्रोपावर १४, विकास बैंक १२, जीवन बीमा र उत्पादनमूलक समूह ११ अंकले ओरालो लागेका छन् ।