काठमाडौं । तिहार पछि खुलेको आइतबारको सेयर बजार पनि दोहोरो अंकले ओरालो लागेको छ । सो दिन कारोबार शुरु भएदेखि घटिरहेको बजार बन्द हुँदा १७.३१ अंकले घटेर १२०५ अंकमा झरेको छ ।
सो दिन कुल १२५ कम्पनीको ९ करोड ९४ लाख कित्ता सेयर कारोबार भएको छ । सो मध्ये प्रभु बैंकको ८४ लाख ८८ हजार कित्ता सेयर बिक्री भएका छन् ।
दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी अपी पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले घटेर प्रतिकित्ता १६३ रुपैयाँ पुगेको छ । सो दिन सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.५२ प्रतिशतले बढेको छ ।
बजारमा फाइनान्स र अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ४३ अंकले ओरालो लागेको छ ।