काठमाडौं । केही समयदेखि उतारचढाव आएको सेयर बजार करिब एक साता अघिदेखि निरन्तर ओरालो लागेको छ । अनलाइन कारोबार प्रणाली शुरु भएको आज तेश्रो दिन पनि नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ । अघिल्लो दिन जस्तै सोमबारको बजार पनि निरन्तर रुपमा ओरालो लागेको हो । अन्तत बजार बन्द हुँदा नेप्से परिसूच १३.०३ अंकले घटेर ११९२ अंकमा झरेकोे छ ।
कुल १३१ कम्पनीको १३ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको हो । आइतबारको बजारमा ९ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सोमबारको बजारमा फाइनान्स समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १०१ अंकले ओरालो लागेको छ । फाइनान्स समूह भने सामान्य ०.४२ अंकले बढेको छ ।
बजारमा सबैभन्दा बढी प्रभु बैंकको एक करोड २५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन नबिल इक्विटी फण्डको सेयर मूल्य २ प्रतिशतले बढेको छ । उता सबैभन्दा बढी अपी पावरका लगानीकर्ताले ९.८२ प्रतिशत गुमाएका छन् ।