विभिन्न २१ कम्पनीले ३ अर्ब १२ करोडको आर्इपीओ बिक्री गर्दै

<p>काठमाडौं । विभिन्न २१ कम्पनीको तीन अर्ब १२ करोड ४१ लाख रुपैयाँ मूल्य बराबरको साधारण सेयर (आर्इपीओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, [&hellip;]</p>

काठमाडौं । विभिन्न २१ कम्पनीको तीन अर्ब १२ करोड ४१ लाख रुपैयाँ मूल्य बराबरको साधारण सेयर (आर्इपीओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले सेयर बिक्रीका लागि आवेदन दिएका हुन् ।

आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक लगानी कम्पनीसँग सम्बन्धित छन् । ती मध्ये जोशी हाइड्रोपावरले साधारण सेयर बिक्रीको अनुमति पाइसकेको छ ।

बोर्डमा आवेदन दिएका जलविद्युतसँग आवद्ध कम्पनीमा सिइडिबी हाइड्रो फण्डले २२ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । सयपत्री हाइड्रोपावरले ३ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । शुभम् पावरले पाँच करोड ८० लाख रुपैयाँ, रुरु जलविद्युत् परियोजनाले ४ करोड ७ लाख रुपैयाँ र माउन्टेन हाइड्रोले १८ करोड १६ लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्नेछ ।

त्यस्तै बोर्डमा आवेदन दिएको पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख रुपैयाँ तथा ग्रीनलाइफ हाइइड्रोपावरले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । मैलुङखोला जलविद्युत् कम्पनी आवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ । सो कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ, युनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ, शिवश्री हाइड्रोपावरले १४ करोड ७६ लाख ४० लाख रुपैयाँ र घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ ।

बोर्डमा आवेदन दिएको गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले दुई करोड, लघिङ बुद्ध पावरले नौ करोड ७८ लाख रुपैयाँ र युनियन हाइडेल कम्पनीले पाँच करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । साधारण सेयर बिक्रीका लागि आवेदन दिनेमा आशा लघुवित्त वित्तीय संस्थासमेत छ । सो संस्थाले रु ६ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । यस्तै जनसेवी लघुवित्त वित्तीय संस्थाको रु चार करोड २० लाख र स्पर्श लघुवित्त वित्तीय संस्थाको दुई करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री स्वीकृतिको चरणमा छ ।

अनुमतिको प्रक्रियामा रहेको मर्चेन्ट बैंकमा सिबिआइएल क्यापिटल लिमिटेड पनि छ । सो कम्पनीले ३ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । त्यस्तै स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्रीका लागि स्वीकृतिको चरणमा छ । बोर्डले चालु आवको हालसम्म एक अर्ब ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार विभिन्न चार कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति लिएका छन् । अनुमति लिएकामध्ये कालिका पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री गरिसकेको छ ।

यस्तै चौतारी लघुवित्त वित्तीय संस्थाले पाँच करोड ४० लाख रुपैयाँ र हिमालयन ऊर्जा विकास कम्पनीले स्थानीयवासीलाई ९ लाख ९० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कात्तिक २८ गतेदेखि एक अर्ब ४४ करोड बराबरको साधारण शेयर बिक्री गर्दैछ । रासस

Share News