काठमाडौं । आइतबारको सेयर बजार घटेपनि लगानीकर्ता एनआईसी एशिया बैंकको लाभांशमा लोभिएका छन् ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो ।
बैंकले गत शुक्रबार सेयरधनीलार्इ सो मात्राको लाभांश दिने घोषणा गरेको थियो । लाभांश घोषणासँगै कम्पनीको २ करोड ९८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा बैंकको ७० हजार ६७५ कित्ता सेयर बिक्री भएका छन् ।
बैंकको सेयर कारोबार सँगसगै सेयर मूल्यमा पनि वृद्धि भएको छ । जसको सेयर मूल्य ५ रुपैयाँले बढेर प्रतिकित्ता ४२२ रुपैयाँमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२० प्रतिशत बढी हो ।
आइतबारको बजारमा कुल १४५ कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको १४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यसपछि बढी कारोबार गर्नेमा एनआईसी एशिया बैंक रहेको छ ।
समग्रमा आइतबारको नेप्से परिसूचक १०.१४ अंकले ११९४ अंकमा झरेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह २९ अंकले घटेको छ । सो दिन ट्रेडिङ समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । ट्रेडिङ समूह सामान्य ०.८४ अंकले उकालो लागेको छ ।