काठमाडौं । तिनाउ विकास बैंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ६ लाख ८ हजार ३२१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
बैंकको अगामी साधारणसभा पुस ७ गते बुटवलको कालिकानगरमा बस्दै छ । सो प्रयोजनको लागि कम्पनीले मंसिर २४ गते बुक क्लोज गर्ने भएको छ ।
हाल बैंकको चुक्ता पुँजी ५० करोड ६९ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ५६ करोड ७७ लाख रुपैयाँ नाघ्ने छ ।
बोनस सेयर घोषणा गरेसँगै संस्थाको सेयर मूल्य बढेको छ । बिहीबार प्रतिकित्ता १६६ रुपैयाँ रहेको बैंकको सेयर मूल्य आइतबार बढेर १७१ रुपैयाँसम्म पुगेको छ । बजार बन्द हुँदा संस्थाको सेयर मूल्य २.३७ प्रतिशतले बढेर प्रतिकित्ता १७० रुपैयाँ पुगेको छ ।