चर्चित होटल लिलामीमा, लगानी फिर्ता माग्दै दीपेन्द्र

सेयर खरिद बिक्रीमा विवाद

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ मा रहेको भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा यतिबेला चर्चामा छ । प्रहरीले छापा हानेपछि र सीसीटिभी फुटेजसहित सामान जफत गरेपछि होटल पुनः चर्चामा आएको हो ।

चिन बहादुर रानाभाट, समीर कुमार नेपाल, छिरिङ शेर्पा र सुवास प्रधान लगायतको संयुक्त लगानीमा भोटेकोशी हेली रिसोर्ट विसं २०७९ मा सञ्चालनमा आएको हो । चीनको सीमाबाट करिब १४ किलोमिटर दूरीमा रहेको यो रिसोर्ट नेपाली तथा चिनियाँ पर्यटकलाई लक्षित गर्दै सञ्चालन गरिएको थियो ।

काठमाडौंबाट करिब २० मिनेटको हेलिकोप्टर उडान वा तीन घण्टाको सडक यात्रामार्फत पुग्न सकिने तथा चीनको खासाबाट करिब ४५ मिनेटको दूरीमा रहेको स्थानमा रहेको कारण यसलाई रणनीतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य थियो । तर, कोदारी राजमार्ग बाढी-पहिरोले प्रभावित भएपछि होटलको व्यवसायमा गम्भीर असर परेको पर्याे ।

कम्पनीले नेपाल बैंकबाट ३२ करोड रुपैयाँ ऋण लिएको थियो । प्राकृतिक विपद् र व्यवसाय सुस्तताको कारण समयमै ऋण भुक्तानी गर्न नसकेपछि कम्पनी आर्थिक संकटमा फस्यो । होटलले समयमै बैंकको ऋण तिर्न सकेन । समयमा ऋण तिर्न नसकेपछि बैंकले २०८२ जेठमा पहिलाे पटक लिलाम बिक्रीमा राख्यो ।

होटल लिलामीमा राखेपछि सञ्चालकहरूले ऋण चुक्ता गर्न सेयर बिक्रीमा राखे । होटलमा रहेको आफ्नो सेयर बिक्री गरेर चिन वहादुर रानाभाट, समीर कुमार नेपाल, छिरिङ शेर्पा बाहिरिए । होटलको सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल र सुवास प्रधानले खरिद गरे । नयाँ सेयर संरचना अनुसार अग्रवालको ५५ प्रतिशतकाे सेयर स्वामित्व र सुवास प्रधानको ४५ प्रतिशत कायम भयो ।

तर, फेरि होटलले ऋण नियमित नगरेपछि बैंकले एक वर्षपछि अर्थात् गत जेठ १ गते पुनः लिलामीमा राखेको छ । बैंकको काठमाडौं बैंकिङ अफिसबाट कर्जा लिएको भोटेकोशी हेली रिसोर्टले साँवा, ब्याज नियमित नगरेपछि कर्जा लिँदा धितोमा राखेको जग्गा तथा जग्गाले चर्चेको सम्पत्ति लिलामीमा बिक्री प्रक्रिया अघि बढाएको जनाएको छ । 

बैंकको कर्जा असुली विभागले भोटेकोशी हेलीले लिएको व्यापारिक तथा चालु पुँजी कर्जाको साँवा-ब्याज लामो समयदेखि भुक्तानी नगरेपछि धितो लिलामी प्रक्रिया अघि बढाएको जनाएको छ । बैंकले ऋणी भोटेकोशी हेलीलाई असार ४ गतेसम्म कर्जा चुक्ता गर्न ताकेता गरेको छ ।

भोटेकोशी हेलीका पूर्वसञ्चालक छिरिङ शेर्पाले आफू उक्त व्यवसायबाट धेरैअघि नै बाहिरिसकेका स्पष्ट पारे । उनले आफू करिब डेढ वर्षअघि नै होटल छोडिसकेको र हाल कम्पनीको सञ्चालन, निर्णय वा वित्तीय दायित्वसँग कुनै सम्बन्ध नरहेको बताए । उनका अनुसार बैंकमा व्यक्तिगत जमानीकर्ता भएकै कारण नाम पुनः सूचनामा देखिएको हुनसक्छ ।

उनले भने, ‘म अहिले होटलमा छैन, मैले छोडेको डेढ वर्ष भइसक्यो । सेयर बेचिसकेपछि हामी बाहिरियौं ।’

उनका अनुसार होटलको सेयर अहिले दीपेन्द्र अग्रवाल र सुवास प्रधानको समूहमा गएको छ, जसमा ५५ प्रतिशत स्वामित्व अग्रवाल र ४५ प्रतिशत सुवास प्रधानको रहेको छ ।

शेर्पाले होटलले करिब ३२ करोड रुपैयाँ बैंक ऋण लिएको र नयाँ लगानीकर्ता आएपछि एक चरणमा करिब ७ करोड रुपैयाँ ऋण तिरेको बताए । उनले भने, ‘सेयर पास भएपछि ७ करोड रुपैयाँ तिरेका थिए, त्यसपछि के भयो भन्ने मलाई जानकारी छैन ।’

उनले व्यवसाय सञ्चालन कठिन भएपछि घाटा खाएर सेयर बिक्री गर्नुपरेको बताए । ‘हामीले चलाउन नसकेपछि घाटा खाएरै सेयर बेचेका हौं,’ उनले भने ।

लगानीकर्ता दीपेन्द्र अग्रवालले अहिले होटलको विषयमा आफू सक्रिय रूपमा संलग्न नरहेको र स्पष्ट जानकारी पनि नभएको बताए । अग्रवालका अनुसार आफूहरूले उक्त होटलको सेयर खरिद गरेको भए पनि हाल लगानी फिर्ता माग्ने अवस्थामा पुगेका छन् । 

उनले भने, ‘मसँग आइडिया भएन, म हेर्दिनँ, केही आइडिया छैन । हामीले सेयर किनेको हो, तर अब रकम फिर्ता मागिरहेका छौं ।’

उनले सेयर नामसारी प्रक्रिया पूरा नभएको कारण लगानी फिर्ता माग्न बाध्य भएको पनि बताए । ‘अब होटल नकिन्ने भयौं, हामीले पैसा फिर्ता मागेका छौं,’ उनले भने । 

Share News